मम पसल्नी

- अधिकारी रवीन्द्र

माघ १०, २०७४

केही चीज सुन्दर छ भने त्यसलाई हेरिनुपर्छ । नहेरिए त्यो सुन्दरताको के अर्थ ? सुन्दरताको महिमा दर्शकको परख र प्रशंसाले हुने हो । हुन त हेर्ने नजर सुन्दर छ भने जे हेर्‍यो त्यो राम्रो, त्यसले झुसिल्कीरालाई पनि भोलिको फरफर उड्ने पुतली देख्छ । कलाकारले फोहोर गल्लीलाई पनि सुन्दर देखेर पोट्रेट बनाउँछ, हजारौं प्रसंशक बटुल्छ र लाखौंमा बेच्छ पनि । प्रशंसा सधैँ सबैले गुलाबकै गर्नुपर्छ भन्ने छैन, घत परे बिच्छीको समेत गर्न सकिन्छ, बिमान परिचारिकाको मात्र होइन, मन परे कहिलेकाहीँ ठेलागाडाकी मम पसल्नीको गर्दा पनि हुन्छ ।

काठमाडौंको धूलोले जमिनमा विश्राम लिन नपाउँदै डिसेम्बरको अन्तिम दिन पीपलबोट छेउबाट खुट्टा फट्फटाउँदै हनुमानढोका पुगेँ । कहीं–कतै जाने हतार छैन । बिनाकम्पनी सन्ध्याकालीन काठमाडौं जिउने जमर्को थियो त्यो : वसन्तपुर, क्षेत्रपाटी हुँदै पैदल ठमेल पुग्ने । स्ट्रिट लाइट, फुड फेस्टिभल तथा केही जमघटमा क्याजुअल सहभागिता जनाउने, कुहिरेका रामरमिता हेर्ने, स्टेज शो हेर्दै ह्याप्पी न्यू इयरको संगीतमा रम्ने अनि अन्तत: नयाँ वर्षको बेग्लै ऊर्जाका साथ उठ्न आफ्नै खाटमा आएर पल्टिने । त्यही योजनालाई साकार रूप दिने क्रममा एउटा गाडातिर मन तानियो । मम बेच्ने गाडा । मन छेउमै अल्झियो, पेट डम्म छ तैपनि मम खानैपर्ने भो । सालको पातले बुनिएको बोहोतामा आधा प्लेट मम मागेँ । छेउको सुकुलमा बसेँ । कति व्यस्त छ काठमाडौं । कति कथाहरू छन् यहाँ । साइकलमाथि जीउ अड्याएर एउटा कथा हूलमूलमा कतै हराइसक्यो, मन्दिरका पेटीहरूमा कैयाँै जोडी कथा एउटा साझा कथा बुन्ने यत्न गर्दैछन्, तर मेरो मन त्यता छैन । क्षणक्षणमा टक्क–टक्क अडिन्छ त्यही मम पसल्नीको पल्लामा ।

लाग्थ्यो, त्यहाँ त्यो समय, मांसपिण्ड खाने भन्दा बढी उनको सामीप्यताको सुवास मिसाई स्त्री यौवनको रसमा मानव सौन्दर्यको अद्भुत प्याकेजलाई चोप्दै सप्य्राक–सप्य्राक पार्ने भोका आँखाहरूको जमात थियो । हो, उनी थिइन्— ममका डल्लाहरूबीच फक्रिएकी सुनाखरी । उनको मुहारमा त्यस्तो दैवी ताज झल्किन्थ्यो मानौँ धर्तीमा कुनै सौर्यपिण्डको अंश बलिरहेछ । हिउँजस्तो गोरो अनुहार, नाक जस्तो कि सुरम्य अनादिको तपोवन, निर्झर तर रहरलाग्दो, निर्भीक उभिएको उनको नाक आफैंमा एउटा शोभाको संग्रहालय ।

गाला : मरुभूमितुल्य तर मुलायम अनि दन्तलहर जिजोउषामाका पङ्क्तिबद्ध श्वेतसालिक झैं । हाय ! म बबुरो, मेरो के साहस र त्यो आँखाको वर्णन गरूँ । मानवीय भवसागरमय वागका लतिका लतिका छापा मार्दा त्यस्तो नाभो सुनाखरी भेटिएला भनेर सोचेकै होइन । त्यो त आफैंमा अविरल प्रज्वलित उल्कापिण्ड, समुन्द्रतलको दुर्लभ मोती वा कुनै उजेली नागमणि थियो जो वसन्तपुरको पटाङ्गिनीमा सालको अन्तिम रात एउटा मम पसलअगाडि प्रदर्शनमा राखिएजस्तो र जो–कोहीले बिना भेटी, बिना कसरत आँखाको दृष्टिक्षेत्रले त्यसलाई गल्र्याम्म अँगालो हाल्न सक्थ्यो । 

बस्, आँखा खोलिदेऊ, त्यहीँ त थियो सौन्दर्यको विश्वविरासत, तिम्रै अगाडि । उनकै नाकमुखबाट छुटेर आएका हावाका अनगिन्ती सूक्ष्म अवयवहरू केही गजको दूरीमा बसेर शयन गर्दै अलौकिक दुनियाँमा विचरण गर्दै थिएँ, मम आइपुग्यो । तत्क्षण मत्र्यलोकको वास्तविकतामा बिनाभर्‍याङ ओर्लिनु परिहाल्यो ।

जतिबेला उनले कर्के नजर मारिन्, ठीक त्यतिबेलै मैले उनको आँखा देखेँ , जसले भर्खरै बोल्न थालेझैं भयो । उनका जोडी आँखा यस्ता थिए जस्तो कि हेस्बोनको होसियारीपुर्वक किनारा छाँटिएको मनमोहक, सौम्य र अतिशान्त झिल निष्फिक्री अनुवेष्ठित छ । त्यसको गम्भीरता, त्यसको आकर्षण थियो, त्यसमा छचल्किने निर्दोषपन त्यसको सम्मोहन थियो र नजर अदृश्य, अव्यक्त भावहरू प्रवाह गर्ने घातक छालहरूको संखघोष । कर्कलाको पातमाथि यताउता गरेर नाच्ने पानीका ढिकाजस्तै यौवन नामक तरल चिज त्यो अनाडीमा सलबलाइरहेको प्रस्टै देखिन्थ्यो । वास्तवमै रातो जवानीमा भर्खरै पाइला टेकेकी ती किशोरी झाँसीकी राजकुमारी वा मिश्रकी क्लियोपाट्राभन्दा सायदै कम थिइन् ।

लाग्थ्यो, उनको सुन्दरताका अगाडि विश्वले घुँडा टेकेर त्यसकै पाउमा दण्डवत् गरेको होस् । संसारका सबै विजय उनकै मुखबाट अट्टाहास हाँस्थे । उनको मुस्कुराहटमा सुवास फिँजिन्थ्यो, आवाजमा माधुर्य उम्रिन्थ्यो अनि कलेजी ओठमा विस्फोटक कोमलता नाच्थ्यो । यस्ता ताजा ओठ कि प्रभातमय स्वच्छ शीतका थोपाझँै, यति लालीमा कि मानाँै छुँदासमेत रगत चुहिन्छ, तप्प–तप्प । थतर्किरहने कम्पायमान पत्रदलसरह ती ओठहरू, जसको स्पर्श मात्रले जो–कोहीलाई पूरै स्वर्गको सयर गराउनेछ ।

मेरा लागि यो वर्ष केही भिन्न भयो त त्यो यही भयो र त्यो पनि सालको अन्तिम रात सात बजेको निशामा । म आफंैलाई थाहा छैन, म किन त्यसको चञ्चलतालाई हेरी किंकर्तव्यविमूढ भएँ, कसरी त्यसले नजर मारी, कुन बखत त्यो नजरवाणले मुटु चिरियो र निमेषभरमा म यस्तो शक्तिशाली साइक्लोनको सिकार भए कि आफूलाई आकारण उड्ने स्थूल प्राणीका रूपमा पाउँछु, छिनमा भरेको अनि छिनमै रिक्त । एक षोडशीको सामान्य हाँसोले मलाई पानी–पानी बनायो र केवल दुई मिनेट समय पूरै सालभन्दा बढी यादगार रह्यो । 

मम सकियो । भोक टरेन । न आँखा अघायो, न मन ।

प्रकाशित :माघ १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्