गनमाण्डू

- जनक तिमिल्सिना

माघ १०, २०७४

 

 

 २० पुसमा कोटेश्वर, पेरिसडाँडास्थित न्यू सुनकोसी गेस्ट हाउसको कोठा नम्बर १०४ बाट दुईवटा पेस्तोलसहित इटहरी, सुनसरीका २६ वर्षीय सुभाष कार्की पक्राउ परे । उनको साथबाट प्रहरीले एक थान रिभल्भर त्यसका दुई राउन्ड गोली तथा एक थान कटुवा पेस्तोल र त्यसको तीन राउन्ड गोली बरामद गर्‍यो । प्रहरी अनुसन्धानबाट कार्की विभिन्न अपराधमा संलग्न रहेको र जेलसमेत परिसकेको खुलेको छ ।

 १५ कात्तिकमा कर्पोरेट अफिसहरू रहेको काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजाको एक रेस्टुराँमा गोली चलाएपछि दुई भारतीय नागरिक जसवीर सिंह र हरिवीरेन्द्र सिंह पक्राउ परे । उनीहरूबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित ५१ राउन्ड गोली बरामद गर्‍यो । दुवै जना अहिले ज्यान तथा हातहतियारसम्बन्धी मुद्दामा थुनामा छन् ।

 

 २३ असोजमा शान्तिनगरमा हाइप्रोफाइल व्यवसायी शरदकुमार गौचनको गोली हानी हत्या भयो । उक्त हत्यामा प्रयोग भएका दुई ब्राउनिङ पेस्तोल तथा १० राउन्ड गोली घटनाको झन्डै डेढ महिनापछि ३० कात्तिकमा प्रहरीले कपनमा फेला पार्‍यो । प्रहरीले कपनबाट पेस्तोलसँगै वसन्त थेवे र धनराज योङहाङलाई समेत पक्राउ गरेको थियो । 

 

यी त साना हतियारसँग सम्बन्धित काठमाडौं उपत्यकामा घटेका केही प्रतिनिधि घटना मात्र हुन् । चालू आर्थिक वर्षमा मात्र साना हतियार र त्यससँग सम्बन्धित झन्डै एक दर्जन घटना घटेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरको कमाण्ड गर्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार पछिल्ला चार आर्थिक वर्षमा उपत्यकाबाट झन्डै ६४ थान साना हतियार बरामद भएका छन् । 

राजधानीको अपराध नियन्त्रणमा काम गरिरहेको नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्ला १० वर्षमा पेस्तोल मात्र ७६ थान बरामद गरेको छ, जसमा नाइन एमएमको ब्राउनिङ पेस्तोल, रिभल्भर, सिक्सरदेखि होममेड कटुवासम्म छन् ।

सार्वजनिक भएकाबाहेक फिरौती, धम्की, असुलीजस्ता घटनामा पनि साना अवैध हतियार प्रयोग हुने प्रहरी अधिकारीहरू बताउँछन् । हत्यादेखि स–साना फिरौती, झगडा, ब्लाकमेलिङ र धम्कीका घटनासम्म पनि साना हतियारको प्रयोग हुनुले काठमाडौंमा साना हतियारको सहज उपलब्धतालाई दर्साउँछ । साना हतियारसम्मको पहुँच कति सहज छ भन्ने कुरा ५ कात्तिकमा ठमेलको एक डिस्कोमा युवतीलाई जिस्क्याएको झोकमा गोली चल्नुबाट नै प्रमाणित हुन्छ । 

 

चितवनकी २३ वर्षीया युवतीलाई ठमेलको एक बारमा जिस्क्याएको झोकमा असुन गुरुङले गोरखा लाप्राकका कल्याण गुरुङको खुट्टामा बिहान झिसमिसेमै म्हैपीमा गोली दागे । उक्त घटनामा पेस्तोल प्रयोग भएको थियो, जबकि यस्तो पेस्तोलमा प्रहरीका अधिकारीहरूको मात्र पहुँच हुन्छ । त्यसो भए असुनसँग उक्त हतियार कहाँबाट आयो ? घटनाको अनुसन्धान गरिरहेका काठमाडौं प्रहरी परिसरका डिएसपी बेलबहादुर पाण्डे भन्छन्, ‘उनले बोकेको हतियार अवैध हो । उनले अर्को एउटा मान्छेबाट हतियार लिएको बयान दिएका छन्, तर हतियार उनले नै लुकाएको अवस्थामा बरामद भएको छ ।’ 

 

क्षणभरको आवेग धान्न नसकेर सनकको भरमा गोली चलाएका कारण असुन प्रहरी फन्दामा परे । यद्यपि असुनकै जस्तो अवैध गन राख्ने युवा काठमाडौं उपत्यकामा २ सयजति हुन सक्ने आँकलन एक उच्च प्रहरी अधिकारीको छ । नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकारीले साप्ताहिकसँग भने, ‘अवैध रूपमा खरिद–बिक्री गरिएका ब्रान्डेड पेस्तोलदेखि होममेड कटुवासम्म गरी २ सयभन्दा बढी अवैध हतियार काठमाडौं उपत्यकामा हुन सक्ने आँकलन छ ।’ यस्ता हतियार हत्या, अपहरण, ब्ल्याकमेलिङ, गुन्डागर्दी तथा लुटपाटमा प्रयोग हुने घटनाक्रमहरूले देखाउँछन् । कतिपयले मनोवैज्ञानिक त्रास फैलाउन त राजनीतिक संरक्षणप्राप्त कतिपय गुन्डाले समेत यस्ता हतियार राख्ने गरेका छन् । 

 

आखिर काठमाडौंसम्म यस्ता अवैध हतियार कसरी आइपुग्छन् ? कि काठमाडौंमै बन्छन् यस्ता हतियार ? नेपाल प्रहरीका पूर्वप्रवक्ता समेत रहिसकेका डिआईजी हेमन्त मल्ल यस्ता हतियार विशेषत: भारतबाट काठमाडौं आइपुग्ने घटनाक्रमहरूले पुष्टि गरिरहेको बताउँछन् । ‘इटली मेड, अमेरिका मेड भनिए पनि नक्कल गरेर भारतमा निर्माण भएका हतियार नै काठमाडौं भित्रिएको पाइन्छ, केही कटुवा पेस्तोल भने नेपालकै तराईको इलाकामा सामान्य लोहारले समेत बनाएका हुन सक्छन्,’ मल्ल भन्छन्, ‘काठमाडौंमा भने अहिलेसम्म यस्ता हतियार बनेको प्रमाण फेला परेको छैन ।’ 

साना हतियारहरू काठमाडौं भित्र्याउनुको प्रमुख कारण अपराध, व्यापारिक उद्देश्य, युवाहरूमा हतियार बोके सुपरियर भइन्छ भन्ने सोच, गुन्डागर्दी र फिरौती प्रमुख कारण हुन् । कतिपयले सौख र बलशाली देखिन पनि यस्ता हतियार गोप्य ढंगले तस्करहरूमार्फत मगाउँछन् । २०७३ को वैशाखामा महानगरीय प्रहरी सोह्रखुट्टेले नाइन एमएमको पेस्तोल र त्यसमा लाग्ने पाँचवटा गोलीसहित काभ्रेका कर्साङ लामालाई पक्राउ गरेको थियो । उनले उक्त हतियार आफूले काठमाडौंका डनलाई बेच्न ल्याएको बयान प्रहरीलाई दिएका थिए । यसअघि प्रहरीले काठमाडौंमै केही साना हतियारका कारोबारीहरूलाई समेत पक्राउ गरिसकेको थियो । यसले के देखाउँछ भने उपत्यकामा साना हतियारको कारोबार गर्नेहरू पनि सक्रिय छन् । अर्कातिर कन्ट्याक्ट किलिङका लागि आएका भाडाका अपराधीहरू पनि कतिपय अवस्थामा आफूसँगै पेस्तोल बोकेर काठमाडौं भित्रिन्छन् । 

 

खुल्ला बोर्डर, जताततैबाट उपत्यकामा सहज एक्सेस, मेनुअल चेकजाँचको अभाव, हतियारसम्बन्धी दह्रो कानुन नहुनु, चेकिङका लागि प्रभावशाली प्रविधिको अभाव, राजमार्गमा अपर्याप्त चेकिङजस्ता कारणले पनि हातहतियारहरू सहजै राजधानीसम्म आइपुग्छन् । ‘प्रभावकारी नीति बनाउने, म्यानुअल चेकिङमा जोड दिने र पुलिसबाहेक सर्वधारणले समेत पुलिसिङको काममा सहयोग गर्ने हो भने यसलाई नियन्त्रण गर्न सकिन्छ,’ अर्का एक प्रहरी अधिकारी भन्छन्, ‘राजमार्गमा प्रत्येक दुई घण्टामा चेकिङ गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ 

 

नेपालको तराई क्षेत्रमा आरनमा तयार पारिएको कटुवा पेस्तोल ८/१० हजारमा किन्न पाइन्छ । त्यसबाहेक इटली र अमेरिका मेड भनेर तयार पारिएका नक्कली पेस्तोलको मूल्य ५० हजारदेखि १ लाखसम्म पर्ने प्रहरी अधिकारीहरूको भनाइ छ । भारतमा यस्ता हतियार १०/२० हजारमै किन्न पाइन्छ । कतिपयले निश्चित समयका लागि भाडामा समेत यस्ता हतियार लिएको पाइन्छ । त्यति ठूलो पैसा खर्च नगरी रवाफ जमाउन पाइने र धम्काए कुस्त पैसा कमाउने आशामा पनि कतिपयले अवैध हतियार किनेर राखेको देखिन्छ । 

 

उपत्यकामा भएका अवैध साना हतियारले राजधानीको शान्ति–सुरक्षालाई समेत खतरामा पारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रमुख डिआइजी पुष्कर कार्की अवैध हतियारले शान्ति सुरक्षामा चुनौती थपिरहेको कुरा स्वीकार गर्छन् । ‘यस्ता अवैध हतियारले शान्ति सुरक्षामा चुनौती थपेको कुरा सत्य हो,’ कार्की भन्छन्, ‘यद्यपि प्रहरीले चौबीसै घण्टा आपराधिक घटना घट्न नदिन आफ्नो बिजनेस पनि गरिरहेको हुन्छ ।’

 

अघिल्लो आर्थिक वर्षमा १० थान हतियार बरामद भएकोमा यो वर्षको ६ महिनामै झण्डै एक दर्जन थान साना हतियार बरामद हुनुले उपत्यकामा साना हतियारको प्रयोग बढिरहेको प्रमाणित हुन्छ, तर लामो समय अपराध अनुसन्धानमा सक्रिय डिआईजी कार्की भन्छन्— चुनाव र संंक्रमणकालका कारण यसको मात्रा केही बढी देखिएको हुन सक्छ । ‘हतियारको संख्या बढ्नुको कारण संक्रमणकाल र निर्वाचन पनि हुन सक्छ,’ कार्की भन्छन््, ‘प्रहरीको सर्च अप्रेसन बढेका कारण पनि बढी हतियार बरामद भएका हुन सक्छन् ।’

 

गनको त्रास

काठमाडौंमा साना गनहरूले एकातिर सुरक्षा चुनौती थपिरहेका छन्, अर्कातर्फ ठूला व्यवसायीलाई धम्काएर फिरौतीको डरलाग्दो र्‍याकेट चलाइरहेका मनोज पुनले इन्टरनेटमार्फत ठूलो रकम फिरौती माग्दै व्यवसायीहरूलाई धम्क्याउने क्रम जारी राखेका छन् । 

 

मनोजले बुटवल मात्र होइन्, काठमाडौंमा पनि फिरौती नदिए हत्या गर्नेसम्मको धम्की व्यवसायीहरूलाई दिने तथ्य प्रहरीले हात पारेको छ । मनोजले करोडौं रुपैयाँ फिरौती मागेर धम्क्याउन थालेपछि अहिले कतिपय व्यवसायीहरू तनावमा छन् । कतिसम्म भने विदेशबाट इन्टरनेट कलमार्फत धम्क्याउने मनोज व्यवसायीका परिवारका सदस्यहरूलाई समेत उडाइदिने धम्की दिइरहेका छन् । यतिबेला मनोज पुनले काठमाडौं, बुटवललगायतका क्षेत्रमा गनको आतंक सिर्जना गरेका छन् । 

 

२१ पुसमा बुटवलमा काठ व्यवसायी तथा एमाले कार्यकर्ता वसन्त (बलु) पौडेलको गोली हानेर हत्या भएको थियो । उक्त हत्याको जिम्मेवारी लिएका मनोजले त्यसलगत्तै थप व्यवसायीलाई फोन गर्दै फिरौती मागेर हैरान बनाइरहेका छन् । यसअघि २३ असोजमा फिरौती नदिएको भन्दै अर्को गुन्डा नाइके समीरमानसिंह बस्नेतले ब्यवसायी शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा भाडाका अपराधी प्रयोग गरेर हत्या गराएका थिए । समिरमानलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

 

कमजोर कानुन 

सरकारले अवैध हातहतियार तथा खरखजानामा हुने सजाय घटाएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२’ मार्फत उक्त सजाय घटाइएको हो, जसलाई राष्ट्रपति कार्यलयले १३ फागुन २०७२ मा लालमोहर लगाएको थियो । यसअघि अवैध हातहतियार राख्ने व्यक्तिलाई ३ वर्षदेखि ५ वर्षसम्म कैद सजाय वा ६० हजारदेखि १ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था थियो, तर संशोधनमार्फत उक्त व्यवस्थामा परिवर्तन ल्याउँदै ६ महिनादेखि १ वर्षसम्म कैद वा ६० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । यसले अवैध हतियारका कारोबारी एवं अवैध हतियार प्रयोगकर्ताको मनोबल बढाएको प्रहरी अधिकारीहरू बताउँछन् ।

 

साउनयता उपत्यकामा भएका हात–हतियारसम्बन्धी घटना 

 २३ साउन : ललितपुरको कुसुन्ती  इन्काउन्टरमा प्रवीण खत्रीको मृत्यु, २ थान पेस्तोल बरामद 

 २३ असोज : जोरपाटीबाट १ पेस्तोलसहित तीन राउन्ड गोलीसहित छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप लामा पक्राउ 

 ५ कात्तिक : म्हैपीमा गोली चलाएका असुन गुरुङबाट लुकाएर राखिएको १ थान चाइनिज पेस्तोल तथा दुई राउन्ड गोली बरामद 

 १५ कात्तिक : काठमाडौंको कमलादीस्थित एक रेस्टुराँमा गोली चलाएपछि १ पेस्तोल र ५० राउन्ड गोलीसहित २ जना भारतीय नागरिक पक्राउ 

 २७ कात्तिक : गोकर्णेश्वरबाट कटुवा पेस्तोलसहित धीरेन ओप्ठे पक्राउ 

 २९ कात्तिक : कपनबाट व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको २ वटा पेस्तोल र १० राउन्ड गोलीसहित बसन्त थेवे तथा धनराज योङहाङ पक्राउ

 २१ मंसिर : रवि गोलेसहित ६ जना १ चाइनिज पेस्तोलसहित पक्राउ 

 २० पुस : कोटेश्वरबाट २ वटा पेस्तोल र ५ राउण्ड गोलीसहित सुवास कार्की पक्राउ । 

 

धेरैजसो साना हतियार भारतबाटै आउँछन् 

 

 हेमन्त मल्ल,

पूर्व डिआईजी, नेपाल प्रहरी

 

उपत्यकामा साना हतियार कहाँबाट आउँछन् ? 

यस्ता हतियार इन्डियाबाटै आउँछन् । केही सामान्य होममेड हतियार तराईतिरबाट पनि आउँछन् । 

 

हातहतियार कसरी काठमाडौंसम्म आइपुग्छन् ? 

क्राइमका लागि ल्याइन्छन् । नाका ओपन भएकाले ल्याउन सजिलो छ । बोर्डर क्लोज गर्ने कुरा पनि कन्ट्रोल गर्न सकिने अवस्था छैन । कतिले बिक्री गर्न त कतिले कसैको अर्डरमा पनि हतियार काठमाडौं भित्र्याएको पाइन्छ । 

 

कति मूल्यमा किनबेच हुन्छ ? 

इटाली वा अमेरिका मेड लेखिएका, पुलिससँग भएका जस्ता देखिने हतियार भारतबाट आउँछन् । नाइन एमएम वा अमेरिका–इटली मेड भनिए पनि ती भारतमा बनेका नक्कली पेस्तोल हुन् । नर्मल कटुवा पेस्तोल ८/१० हजारमा पनि पाइन्छन्, यस्ता हतियारको बढीमा ५० हजारसम्म पर्छ । मेड इन इन्डिया, मेड इन इटली, मेड इन युएसए लेखिए पनि त्यो भारतीय पेस्तोल हो । 

 

नेपालमै पनि यस्ता हतियार बन्छन् कि ? 

नलकटुवा बनाउन त गाह्रो छैन । राइफलको गोली प्रयोग गरिने त्यस्ता हतियार तराईतिर बनाइएको फेला पनि परेको छ । सामान्य कालिगडहरूले समेत नलकटुवा बनाउन सक्छन् । त्यो सस्तो पनि हुन्छ, तर अरू पेस्तोल भारतबाटै आउँछन् । 

 

गन बोक्नेहरू किन बढिरहेका ?  यो विषयमा पुलिसको अप्रेसन पनि रिभ्यु गर्नुपर्छ कि ? अवैध गन बोक्नुको प्रमुख कारण के हो ? 

व्यापारिक उद्देश्य तथा क्राइमका लागि हतियार युज भैरहेको छ । युथहरूमा हतियार बोके सुपरियर भइन्छ भन्ने सोचले समेत काम गरेको पाइन्छ । साथीभाइको सर्कलमा योसँग हतियार छ भनेपछि इमेज फरक हुन्छ । ठमेलको केसमा त्यस्तै भएको देखिन्छ । गुन्डाहरूले अरूलाई तर्साउन पनि हतियार बोक्छन् । खाली हातको गुन्डासँग कम डरलाग्छ, धम्क्याउनकै लागि यस्ता हतियार युज गर्ने चलन पनि छ । 

 

भारतीयहरू गन बोकेर कसरी काठमाडौं आइपुग्छन् ? 

कहिलेकाहीं हुन्छ यस्तो घटना । त्यो घटना भने केही फरक छ जस्तो लाग्छ । अपराध गर्नभन्दा पनि उनीहरू घुम्न गाडीसहित काठमाडौं आउँदा हतियारसहित यहाँसम्म आइपुगेको देखिन्छ, तर आवेशमा आएर उनीहरूले हतियार नै निकालेर पड्काए । भाडाका कतिपय अपराधीले पनि काठमाडौंसम्म आफैंले हतियार लिएर आएको देखिन्छ ।

 

अवैध गनलाई नियन्त्रण गर्न के गर्नुपर्छ ? 

अवैध गनका लागि अप्रेसन र अनुसन्धान रिभ्यु गर्नुपर्छ । हतियार देखाइरहने कुरा पनि होइन् । बढी भन्दा बढी इन्टेलिजेन्स प्रयोग गरेर कोसँग हतियार छ भनेर विषय प्रहरीले रेकर्ड तयार गर्नुपर्छ । बोर्डर नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्छ, किनभने हाम्रो बोर्डर पूरै ओपन छ । साना हतियार नियन्त्रणका लागि प्रहरीको निगरानी र चुस्त इन्टिलेन्जस प्रभावकारी हुनसक्छ ।

 

प्रकाशित :माघ १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्