रेडियो कान्तिपुर नेसनल म्युजिक एवार्डको मनोनयन

- साप्ताहिक संवाददाता

माघ ९, २०७४

रेडियो कान्तिपुरले पहिलो पटक ‘रेडियो कान्तिपुर नेसनल म्युजिक एवार्ड–२०७४’ प्रदान गर्ने घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै रेडियोले पहिलो संस्करणको एवार्डमा मनोनीत हुने संगीतकर्मीहरूको नामावलीसमेत सार्वजनिक गरेको छ । रेडियो कान्तिपुरले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर नेपाली संगीत क्षेत्रको श्रीवृद्धिमा इँटा थप्ने उद्देश्यले यो एवार्ड समारोह आयोजना गर्न लागेको जनाएको छ । 

माघ २६ गते शुक्रवार सोल्टी क्राउन प्लाजामा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा संगीतका १७ विधा तथा उत्कृष्ट तीन विज्ञापन एजेन्सीलाई पुरस्कृत गरिने रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले बताएका छन् । त्यसका साथै नेपाली संगीतमा विशिष्ट योगदान पुर्‍याउने एक जना संगीत साधकलाई १ लाख रुपैयाँको लाइफ टाइम एचिभमेन्ट एवार्डसमेत प्रदान गरिनेछ । पिपुल्स च्वाइस एवार्डको चयनमा भने स्रोताको सहभागिता रहनेछ । यो विधालाई योन्डर पिपुल्स च्वाइस एवार्ड राखिएको छ । 

पहिलो संस्करणको यो एवार्डमा २०७३ साउन १ गतेदेखि २०७४ असार मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतबाट विभिन्न विधाअन्तर्गत उत्कृष्टमध्ये पाँच जनाको मनोनयन छनौट गर्न तीन सदस्यीय निर्णायक मण्डलको गठन गरिएको थियो । शनिबार सार्वजनिक मनोनयन सूचीमा परेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट छान्न संगीतका वरिष्ठ साधक सम्मिलित तीन सदस्यीय अर्को निर्णायक समिति गठन गरिएको एफएमले जानकारी दिएको छ । 

यस्तो छ मनोनयन

एवार्डको उत्कृष्ट नवप्रतिभा विधामा मेनुका पौडेल (एक जनामापछि), बेनुप क्षेत्री (तिमीसँग), लाक्पा शेर्पा लामा (छुपुमा छुपु), स्वपनम सुमन (कसरी भनौं) तथा सज्जनराज वैद्य (हवाईजहाज) मनोनीत भएका छन् भने उत्कृष्ट रचनाकारको विधामा उत्तमजंग लिम्बू (शिरैमा शिरबन्दी), सुवास गौतम (कतै मिलन), रमेश बिजी (म हुरीमा), वीरेन्द्र पाठक (आज फेरि) तथा पुरन गिरी (यति धेरै माया) मनोनीत छन् । उत्कृष्ट संगीतकारको विधामा हरि लम्साल (आज फेरि), कालीप्रसाद बाँसकोटा (साइँली), अर्जुन पोखरेल (भन्छु आज), महेश खड्का (दर्शन नमस्ते) तथा न्ह्यू बज्राचार्य (किन हेरिनौ) मनोनीत छन् । उत्कृष्ट लोक तथा दोहोरी गायक पुरुष विधामा रामजी खाँड ठकुरी, पशुपति शर्मा, खुमन अधिकारी, बद्री पंगेनी तथा क्रिसि खड्का मनोनीत छन् । 

उत्कृष्ट लोक तथा दोहोरी गायिका महिलातर्फ देवी घर्ती, टीका पुन, मुना थापा, रमिला न्यौपाने तथा विष्णु माझी मनोनीत छन् भने उत्कृष्ट प्लेब्याक सिंगर पुरुष विधामा सुगम पोखरेल (तिमी रोएको पल), प्रताप दास (मोटरसाइकलमा), रोहित जोन क्षेत्री (कहानी यो प्रेम गीतको), राजेशपायल राई (आकाशैमा) तथा आसिफ शाह (कथा तिम्रो सुनु) मनोनयनमा परेका छन् । उत्कृष्ट प्ले ब्याक सिंगर महिला विधामा मेलिना राई (कुटुमा कुटु), अञ्जु पन्त (तिमी रोएको पल), इन्दिरा जोशी (मोटर साइकलमा), शशि रावल (झकास झापाली) तथा मिना निरौला (ठमेल बजार) मनोनीत छन् । 

राष्ट्रिय गीत विधामा हरिदत्त फुलारा, सुमित खड्का, मनोज राज शिवाकोटी, सन्दीप तथा कर्णदास मनोनीत छन् भने उत्कृष्ट पप गायक पुरुषको विधामा लाहुेर, धर्मेन्द्र सेवान, सुगम पोखरेल, कमल खत्री तथा दीपक बज्राचार्य मनोनीत छन् । यता उत्कृष्ट पप गायिका महिला विधामा बार्तिका राई, इन्दिरा जोशी, तृष्णा गुरुङ, श्रेया सोताङ तथा नट्टु शाह मनोनीत छन् । 

पब्लिक च्वाइस विधाका लागि हेमन्त राना, राजनराज शिवाकोटी र मेलिना राई, मिना निरौला र कालीप्रसाद बाँसकोटा, लाहुरे तथा स्वपनम सुमन मनोनयनमा परेका छन् । 

समूह गायन विधामा कबवेब, १९७४ एडी, नाइट, पहेंलो बत्ती तथा मंकी टेम्पल समुह मनोनीत छन् । उत्कृष्ट आधुनिक गायक पुरुष विधामा रामकृष्ण ढकाल, राजेशपायल राई, सत्यराज आचार्य, सुरजकुमार थापा तथा अजर जंगम मनोनीत छन् भने उत्कृष्ट आधुनिक गायन महिलामा मेलिना राई, बानिका प्रधान, मिलन अमात्य, संगीता राना प्रधान तथा अञ्जु पन्त मनोनीत छन् । 

उत्कृष्ट गीतको धिवामा मधुशाला, जाउँला रेलैमा, आज फेरि, म हुरीमा तथा यति धेरै माया मनोनीत छन् । उत्कृष्ट एल्बमको विधामा रामकृष्ण ढकालको आवरण, राजेशपायल राईको दर्शन नमस्ते–३, सत्यराज आचार्यको मधुशाला, अजर जंगमको आकाश मिचिएको सहर तथा राजुबाबु श्रेष्ठको अग्रज मनोनीत छन् । 

 

प्रकाशित :माघ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्