खप्तड गोल्डकपको सान

- साप्ताहिक संवाददाता

माघ ९, २०७४

लिग नहुँदा नेपालको घरेलु फुटबललाई पूर्वले मात्र धानिरहेको दाबी नयाँ होइन । यसलाई सकारात्मक चुनौती दिने क्रममा अगाडि आएको छ, धनगढीमा सम्पन्न–खप्तड गोल्डकप । त्यसो त धनगढी आफैं नेपालको खेलकुद सहर हुने बाटोमा छ र त्यसमा थपिएको एउटा सान हो— खप्तड गोल्डकप । खेलकुद सहर हुन सबैभन्दा बढी चाहिने कुरा हो–खेल संस्कार । एकाध अपवाद छाडेर धनगढीमा खेल संस्कार विकसित हुने राम्रो सम्भावना देखिन्छ । 

यसपटकको खप्तड गोल्डकपकै क्रममा प्रत्येक खेलमा दर्शकको अत्यधिक घुइँचो देखियो । कुनै पनि खेलमा दर्शकको अभाव भएन, ती सबै दर्शक टिकट काटेर आएका थिए । त्यसमाथि फाइनलमा त हदै भयो, धनगढी रंगशालाको क्षमताभन्दा पनि बढी दर्शक ओइरिए । यसपटक दर्शकले काटेको टिकटबाट मात्र २३ लाख रुपैयाँ आम्दानी भएको थियो भने फाइनलमा मात्र ७ लाख रुपैयाँ उठेको थियो । अब धनगढी रंगशालाको चारैतर्फ प्यारापिट निर्माण गर्ने आश्वासन पनि अगाडि आइसकेको छ । 

यस्तोमा एउटा तथ्य के सिद्ध भएको छ भने पश्चिम नेपालमा पनि फुटबल उत्तिकै लोकप्रिय छ र त्यहाँ पनि उत्तिकै स्तरीय फुटबल प्रतियोगिता संचालन हुनसक्छ । पश्चिमले पनि नेपाली फुटबललाई उकास्न मद्दत गर्न सक्छ, त्यसैले त खप्तड गोल्डकप मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको छ । प्रतियोगिताको यसपटकको विजेता रह्यो–आर्मी । उसले फाइनलमा एपीएफलाई टाइब्रेकरमा हरायो र जित्यो, ११ लाख ११ हजार १ सय ११ रुपैयाँ । अहिलेको प्रतियोगिताको सफलताबाट आयोजकहरू कति उत्साहित भएका छन् भने अर्को वर्षदेखि विजेताले पाउने रकम दोब्बर पार्ने दाबी गरिएको छ । 

पछिल्लो समय नेपाली घरेलु फुटबलमा आर्मीले लगातार राम्रो प्रदर्शन गरिरहेको छ र एकपछि अर्को प्रतियोगिताको फाइनलसम्म पुगिरहेको छ । लिग नभएको स्थितिमा अरू क्लब कमजोर भएकाले पनि आर्मीले राम्रो प्रदर्शन गर्न सकेको हो । 

यी सबबीच मोफसलमा आयोजना हुने यस्ता प्रतियोगिताको व्यवस्थापन र स्तरलाई लिएर जति आलोचना हुने गरेको छ, त्यसतर्फ पनि ध्यान पुर्‍याउनु आवश्यक छ । एउटा तर्क, पुरस्कार राशि बढाउनुको सट्टा प्रतियोगिताको स्तर बढाउन बढी ध्यान दिने कि ? फाइनल पुगेको एपीएफविरुद्ध एक प्रकारले अन्याय भएको थियो, किनभने उसले लगातार दुई दिन खेल्नुपरेको थियो । फुटबलमा एउटा खेलपछि कम्तीमा एक दिनको विश्राम आवश्यक मानिन्छ । 

त्यसैले एपीएफले फाइनलमा आफ्नो हारको प्रमुख कारण लगातार दुई दिन खेल्नुलाई नै मान्यो । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीले गरेको गुनासो टाइसिट नै मिलेन भन्ने थियो । प्राविधिक दृष्टिकोणले यसपटकको खप्तड गोल्डकपमा अरू पनि समस्या देखिए, जसमा सचेत हुन आवश्यक छ । आयोजकहरूले बुझ्नुपर्ने तथ्य के हो भने राष्ट्रिय लिगमा पुरस्कार राशि १ करोड रुपैयाँ पुर्‍याउँदा प्रतियोगिता आफैं धराशायी भयो । खप्तड गोल्डकपको सान कायम राख्न यो पक्षमा पनि ध्यान पुर्‍याउने कि ? 

प्रकाशित :माघ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्