नेपालमा पुरुषहरू पनि बलात्कृत हुन्छन्

- जनक तिमिल्सिना, भिषा काफ्ले

माघ ९, २०७४

५ वर्ष लामो फरेन्सिक ल्याबको जागिरका क्रममा एउटा यस्तो केस आयो जसले डा. लता गौतमलाई बेलायत पुर्‍यायो । उक्त घटनाले डा. गौतममा लागूऔषध प्रयोग गरी हुने बलात्कारसम्बन्धी अध्ययनको भोक जगायो र बेलायत पुगेर उनले एन्जिला रस्किन विश्वविद्यालयबाट फरेन्सिक टस्किोनोलोजीमा पिएचडी गरिन् । 

डा. गौतमले मानिसले खाएको लागूऔषध कसरी केशमा पुग्छ भन्ने विषयमा पिएचडी गरेकी छिन् । विगत ९ वर्षदेखि सिनियर लेक्चररका रूपमा सोही विश्वविद्यालयमा फरेन्सिक साइन्ससम्बन्धी केमेस्ट्री एवं टक्सिनोलोजी अध्यापनरत डा. गौतमसँग लागूऔषधको प्रयोग गरी हुने बलात्कार (ड्रग फेसी लेटेड सेक्सुअल एसल्ट–डीएफएसए) का सम्बन्धमा साप्ताहिकका लागि भिषा काफ्ले र जनक तिमिल्सिनाले गरेको कुराकानी :   

लागूऔषध प्रयोग गरी हुने बलात्कारका विषयमै किन रुचि राख्नुभयो ?

मैले अध्ययन गर्ने सबै विषय ड्रग्ससम्बन्धी हुन्छन् । बलात्कारका केसमा ड्रग्स ख्वाएर वा खाएर नाइँ भन्न नसक्ने अवस्था वा फाइट गर्न नसक्ने अवस्थामा पुगेपछि बलात्कार भएको हुन्छ । म नेसनल फरेन्सिक ल्याबमा कार्यरत छँदा एउटा यस्तै केस आएको थियो । त्यतिबेला मलाई ड्रग फेसिलेटेड सेक्सुअल एसल्ट (डीएफएसए) भन्ने कन्सेप्टका सम्बन्धमा कुनै जानकारी थिएन । त्यही कारणले मलाई यो विषयमा रुचि जाग्यो । 

त्यो कस्तो केस थियो ? प्रकृति बताइदिनुस् न ? 

एउटी युवती आफ्नी आमासँग ल्याबमा आउनुभएको थियो । एउटा कलेजमा स्नातक सकिएपछि पार्टी दिइएको रहेछ । त्यसमा ड्रग्स प्रयोग गरेर ती युवतीमाथि ग्रुप रेप भएको भन्दै उहाँहरू एक हप्तापछि आउनुभएको थियो । त्यसले पनि मलाई यो क्षेत्रमा काम गर्न रुचि जगायो । 

उनीहरू किन समयमै नआएका ?  

यस्ता खालका भिक्टिमहरू तुरुन्तै आउन सक्दैनन् । म किन हिजो पार्टीमा गएँ, नगएको भए त्यसबाट बच्थें । म साथीहरूसँग थिएँ, त्यो त साथीहरूले गरेका हुन् नि भन्ने खालको भावना आउने भएकाले मानिसहरू उजुरी दिन आउँदैनन् । उक्त केसमा पनि एक हप्तापछाडि रिपोर्ट गरिएको थियो, एक हप्तापछि रगत जाँचेर ड्रग्स भेटिने अवस्था थिएन र अहिलेसम्म पनि नेपालमा केशको जाँच गरिँदैन । यदि केश जाँच गरिएको भए लागूपदार्थ प्रयोग भएको थियो कि थिएन भन्ने कुरा पत्ता लाग्थ्यो ।

विश्वमा लागूपदार्थबाट हुने बलात्कारका विषयमा रौं जाच्ने प्रविधि कहिले सुरु भएको हो ? 

यो प्रविधि बेलायत, अमेरिका आदि पश्चिमी देशहरूमा आएको पनि १९५४ मा मात्र हो, तर अहिले नै मानिसहरूले डीएफएसए भनेको सुनिँदैन । बलात्कारका केसहरू सुनिएका छन् तर ड्रग्स ख्वाएर बलात्कार गर्नु बेग्लै खालको क्राइम हो भन्ने अहिले पनि छैन । युकेमा सन् २००३ मा मात्र सेक्सुअल एसल्टको कानुनमा लागूऔषध प्रयोग गरी गरिने बलात्कारलाई समावेश गरिएको हो । सेक्सुअल एसल्टका भिक्टिमहरूलाई राख्ने रिफरल सेन्टर सन् २००८ देखि बनाउन थालियो । भारतमा यस्तो काम सन् २०१३ देखि सुरु भएको छ । त्यसैले हामी यो प्रविधिमा धेरै पछाडि छैनौं, तर अब सुरु गर्नुपर्ने बेला भैसकेको छ । 

ड्रग्स, रेप र हेयरको कनेक्सन के हो ?

खाएको कुनै पनि कुरामा भएको तत्व रगतमा जान्छ, रगतमा लागूऔषध २४ देखि ४८ घण्टासम्म रहन्छ । त्यसपछि त्यहाँ त्यसको मात्रा घट्दै जान्छ । रगत सर्कुलेसन हुने केशको जरामा समेत रक्तसञ्चार हुन्छ र त्यो तत्व त्यहाँ पनि पुग्छ । केशको विशेषता के हुन्छ भने त्यहाँ एकपटक पुगेको कुरा हट्दैन, किनभने त्यहाँ निष्कासन प्रणाली छैन । हट्ने भनेको ब्लिचिङ, रंग लगाउने जस्ता कारणले हो, यसले त्यसको मात्रामा केही फरक पार्छ । होइन भने जति लामो केश भए पनि जति वर्षअगाडिको ड्रग्सको पनि परीक्षण गर्न सकिन्छ । जबकि पिसाबबाट यस्ता तत्व एक हप्तामा र रगतबाट ४८ घण्टासम्ममा नष्ट भैसक्छन् । रौंको सन्दर्भमा भने त्यो कुरा लागू हुँदैन र यो काम शरीरका अन्य भागको रौंबाट समेत गर्न सकिन्छ । 

के केशबाट सबै यस्ता केस पत्ता लाग्छन् त ?

केशको परीक्षण कोर्टको सपोर्टिभ प्रमाणका रूपमा हुन्छ तर नेपालमा अहिलेसम्म यसको परीक्षण नै भएको छैन । कसैले रौंको एनालाइसिस पनि गरेको छैन । रगत र युरिनको मात्र गरिन्छ । रगत, पिसाबका साथै भिसेरा (फोक्सो, कलेजो, आन्द्राका कन्टेन्टको एनालाइसिस) पत्ता नलागे जति नै लामो समयअघिको केस भए पनि रौं परीक्षण गर्न सके थप प्रमाण हुन सक्छ, तर केशबाट यही नै व्यक्तिले दिएको भनेर त कहिल्यै प्रमाणित हुँदैन । 

तपाईंको अध्ययनले सेक्सुअल एसल्टका केसहरू कसरी भएको पाइन्छ ?

८०/९० प्रतिशत सेक्सुअल एसल्टका केस चिनेजानेका व्यक्तिबाटै हुन्छन् । डीएफएसए भनेको झनै चिनेजानेका साथीभाइ, हाकिमसँग बाहिर गएका बेला, सोसल सेटिङमा भएका बेला हुने घटना भएकाले पीडित पक्षले उजुरी नै गर्न चाहँदैन । कन्भिक्सन रेट जम्मा १ प्रतिशत, रिपोर्टिङ रेट विदेशकै हेर्ने हो भने १५ प्रतिशत मात्र छ, भारतको रिपोर्टिङ रेट १० प्रतिशत छ, नेपालमा त्यो कति प्रतिशत छ अहिलेसम्म खोजबिन भएकै छैन, तर यसरी हुने एसल्टमा केटी मात्र नभएर केटाहरू पनि परेको पाइन्छ । नेपाली कानुनअनुसार महिलाहरूसँग अनुमति प्राप्त भएपछि मात्र शारीरिक सम्बन्ध राख्न पाइन्छ । कतिसम्म भने विवाह गरिसकेपछि पनि श्रीमतीले शारीरिक सम्बन्ध राख्न नमान्दा–नमान्दै सम्बन्ध बनाइएको छ भने त्यसलाई रेप मानिन्छ, तर हाम्रो कानुनमा कतै पनि केटालाई पीडित पक्ष मानिएको छैन, यसमा परिवर्तन आवश्यक छ । 

पुरुष बलात्कारको कुरा गर्नुभयो । नेपालको सन्दर्भमा के देख्नुहुन्छ ? 

सेक्सुअल एसल्टका केसहरू धेरै आए, अभिनेत्री एलिसा मिलानोले ह्यासट्याग मी टु भनेर क्याम्पेनसमेत सुरु गरिन् । त्यसको केही समयमै ५ लाख मानिसले मी टु भनेर लेखे, जसमा ३ लाख पुरुष थिए । त्यसैले यो केटाहरूविरुद्ध नहुने समस्या होइन, नेपालमा पनि केटाहरूमाथि बलात्कार भैरहेको छ, तर हाम्रो कानुनले केटाहरूमाथि हुने बलात्कारलाई स्वीकार गरेको छैन । त्यही भएर केटाहरू बलात्कृत भएँ भनेर बाहिर आउन पाएका छैनन् । 

डीएफएसका त्यस्ता केही उदाहरण छन् ? 

फ्रान्समा एउटा केटा पार्टीमा गएछ । त्यहाँ ड्रिंक्स पियो, त्यसपछि उसलाई के भयो भन्ने केही थाहा छैन । भोलिपल्ट उसले आफूलाई कुनै केटीसँग ओछ्यानमा पायो । ऊ विवाहित थियो । न उसकी प्रेमिका हो, विवाहित मान्छे न ऊसँग सम्बन्ध बनाउन नै इच्छुक थियो । उसलाई अप्ठ्यारो भयो । एक महिनापछि फरेन्सिक ल्याबमा गएर केशको अनुसन्धान गर्दाखेरि फुनाइटाजिपाम (यसलाई डेट रेप ड्रग्स पनि भनिन्छ) भेटियो । यसमा केटा भिक्टिम भएन त ? केटाहरू पनि भिक्टिम हुन्छन् । 

नेपालका पुरुषहरूमा यस्ता केस फेला पार्नुको छ ? 

नेपालको कानुनले नै पुरुषहरू बलात्कृत हुन्छन् भनेर मानेकै छैन अनि कहिल्यै यस्तो हुन्छ भनेर सोच्न सकिन्छ ? हामी दिदी–बहिनीहरूलाई भन्छौं, यस्तो लुगा नलगाऊ, राति ढिलासम्म नबस, कसैले छोरालाई भन्छ र ? भन्दै भन्दैन, सोच्दै सोच्दैन, हाम्रो सोचाइ नै त्यहाँ पुगेको छैन । रिसर्च गर्ने हो भने नेपाली केटाहरू बढी भिक्टिम छन् जस्तो लाग्छ मलाई । 

कुन खालका केटाहरू भिक्टिम हुन्छन् ? 

यसको निश्चित उत्तर त दिन सकिँदैन । सोसोलोजी र क्रिमिनोलोजीमा पर्ने यो विषयमा अनुमानका आधारमा उत्तर दिनु राम्रो पनि होइन । विश्वमा ‘केम सेक्स’ पनि देखिन थालेको छ । वेस्टर्न देशहरूमा गे पार्टीहरूमा केटाहरूले प्लेजर र सेक्सुअल एक्टिभिटिजका लागि ड्रग्स प्रयोग गर्नुलाई केम सेक्स भनिन्छ । नेपालमा त अहिलेसम्म यो विषयमा रिसर्च नै भएको छैन । अहिलेको दुनियाँमा नेपालमा त्यसको प्रभाव परेकै छैन भन्ने छैन । ड्रग्स फेसिलेटेटेड सेक्सुअल एसल्टले केम सेक्सले जस्तो रूप पनि लिन सक्छ । 

अर्को स्किटल्स पार्टीको पनि चलन सुरु भएको छ । स्किटल्स सानो–सानो गोलो–गोलो प्याकेजमा पाइने चकलेटजस्तै हो । टिनएजरहरू म स्किटल्स पार्टीमा जान्छु भन्दा अभिभावकलाई चकलेट खाने पार्टी भन्ने हुन्छ । बालबालिकाले अभिभावकका लागि चिकित्सकले पेस्क्राइव गरेका ड्रग्सहरू चोरेर लाने र बलमा राख्ने अनि त्यसलाई निकालेर प्रयोग गर्ने चलन सुरु भैसकेको छ । यद्यपि अहिलेसम्म यसको प्रयोग लुकेर रमाइलोका लागि मात्र भएको पाइन्छ । 

स्किटल्स पार्टी नेपालमा पनि होलान् त ? 

नेपालमा पनि कफ सिरफलाई स्प्राइटमा मिसाएर खाने चलन सुरु भैसकेको विभिन्न तथ्यांकले देखाएको छ । त्यही चिज स्किटल्समा प्रयोग भएको छैन भन्न सकिन्छ र ? 

सेक्सुअल एसल्टमा ड्रक्सको प्रभाव के हुन्छ ? 

जस्तो अल्कोहल किन खाइन्छ ? अरू बेला बोल्न अप्ठ्यारो लाग्छ, मादक पदार्थ पिएपछि अलि सहज हुन्छ, अप्ठ्यारो, लाज वा संकोच हराउँछ । ड्रग्समा पनि कुनै ड्रग्सले एकदमै हाई बनाइदिन्छ, कुनै ड्रग्सले स्याड लो फिल गराइदिन्छ । रेपका केसहरूमा निन्द्रा लगाउने खालका ड्रग्स प्रयोग हुन्छन् । 

यस्तो हिंसाबाट जोगिन के कुरामा ख्याल गर्नुपर्छ ?

यसबाट जोगिन बाहिर जानुभएको छ, ड्रिङ्क्स युज गर्दै हुनुहुन्छ भने खानुअघि वा बनाउँदाखेरि नै चेक गर्ने, ट्वाइलेट जाँदा ड्रिंक्स सकेर जाने अथवा फर्केर आएर त्यही ड्रिंक्स फेरि नखाने, ड्रिंक्स खानेबित्तिकै एक्कासि रिँगटा लाग्यो वा त्यस्तो कुनै शंका लागे साथीभाइलाई भन्ने वा प्रहरीलाई खबर गर्ने । 

नेपालजस्तो देशमा केशबाट अनुसन्धान गर्ने विधि उपयोगी होला त ? 

एकदमै, यो डीएफएसमा मात्र होइन् दाइजोको निहुँमा मारिएका कति केस आइरहेका हुन्छन् । कतिपय विष ख्वाएर मारिएका केस पनि हुन्छन् । नेपालमा त लास जलाउने चलन छ, यदि पुरिएको छ भने लासबाट रौं निकालेर पनि अनुसन्धान गर्न सकिन्छ । बाहिरको सन्दर्भमा मानिसहरू मरेको कति समयपछि लास निकालेर रौंबाट अनुसन्धान भएका प्रशस्त उदाहरण छन् । नेपालमा लाश जलाइने भएकाले सत्य लुकाउन सहज छ । कसैले टाउकाको केशबाट ड्रग्स भेटिन्छ भनेर कपाल काटिदियो भने शरीरको अन्य भागको रौं वा नङबाट पनि यस्तो जाँच गर्न सकिन्छ । 

डीएफएसएबाट जोगिन के गर्न सकिन्छ ? 

स्कुल एजुकेसनदेखि नै यस विषयमा शिक्षा दिनुपर्छ । घरका अभिभावकले पनि यी सबै कुराका सम्बन्धमा बालबालिकालाई सचेत बनाउनुपर्छ । हाम्रो स्कुल एजुकेसनमै परिवर्तन ल्याउनु आवश्यक छ । डीएफएसएतिर सोच्ने हो भने पेय पदार्थ आफूले मात्र प्रयोग गर्ने, बाहिर कोसँग गएको छु भन्ने ख्याल गर्ने, धेरै ढिलो फर्कनु छ भने आफ्नो व्यवस्था आफैं मिलाउने, समूहमा हिँड्ने, छाडेको ड्रिंक्स फेरि नखाने, फ्रेस ड्रिंक्स लिने तथा कसैले आफ्नो ड्रिंक्समा ड्रग्स मिसाउन सक्छ भनेर सावधानी अपनाउने । राज्यका तर्फबाट रेपका भिक्टिमहरूलाई ह्यान्डल गर्न सेक्सुअल अफेन्स रिफरल सेन्टर खोल्नुपर्छ, त्यसमा रिपोर्ट गर्नेबित्तिकै परिक्षण गरिदिने व्यवस्था हुनुपर्छ । केटीहरू भिक्टिम छन् भने प्रिगनेन्सी टेस्ट गर्नुपर्‍यो, सेक्सुअल डिजिजसम्बन्धी जाँच गर्नुपर्‍यो, साथै मानसिक रूपमा काउन्सिलिङको पनि व्यवस्था गर्नुपर्‍यो । नेपालमा यस्ता कुरामा पहिले काउन्सिलिङ गर्नुपर्ने स्थिति छ, त्यसपछि कोर्टमा फाइट गर्ने/नगर्ने त्यो व्यक्तिको च्वाइसको कुरा हुन्छ, गर्ने भयो भने लिगल सहयोगीहरू उपलब्ध गराउन सक्नुपर्‍यो ।

 

प्रकाशित :माघ ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्