वसन्तबाट ब्रेक पाउने भाग्यमानीहरू

- कृष्ण भट्टराई

माघ ७, २०७४

 

गीतकार तथा संगीतकारका रूपमा स्थापित भैसकेका वसन्त सापकोटा पछिल्लो समय गायनमा समेत जम्ने तयारी गरिरहेका छन् । दर्जनौं नेपाली चलचित्रका यी स्थापित संगीतकार अहिले आफ्नै स्वर भजाउने प्रयास गरिरहेका छन् । भर्खरै सार्वजनिक भएको संगीतकार सापकोटाको स्वरको ‘जाली रुमाल...’ गीत श्रोताहरूले मन पराइरहेका छन् । यसअघि उनले गाएका केही गीत लोकप्रिय भैसकेका छन् ।

थुप्रै प्रतिभाशाली गायक–गायिकालाई पहिलो ब्रेक दिएका यी संगीतकारले आफूमा भएको गायन प्रतिभा उजागर गर्न आफैं गीत गाउन थालेका हुन् । यद्यपि उनले ब्रेक दिएर लोकप्रिय भएका गायक–गायिकाहरूको संख्या आधा दर्जनभन्दा बढी छ । यहाँ हामी तिनै गायक–गायिकाहरूका बारेमा चर्चा गर्दैछौं, जसलाई चलचित्रको पाश्र्व गायनमा संगीतकार सापकोटाले नै ब्रेक दिए र उनीहरू लोकप्रियसमेत भए ।

प्रल्हाद तिमिल्सिना–मिलन अमात्य

आ–आफ्नै सांगीतिक पृष्ठभूमि भए पनि गायक प्रल्हाद तिमिल्सिना तथा गायिका मिलन अमात्यलाई नेपाली चलचित्रको पाश्र्व गायनमा भित्र्याउने श्रेय संगीतकार सापकोटालाई नै जान्छ । पहिलो एल्बम महकको सफलताबाट उत्साहित गायक तिमिल्सिना पाश्र्व गायनमा भाग्य परीक्षण गर्न इच्छुक भैरहेका बेला संगीतकार सापकोटामार्फत चलचित्र ‘नोटबुक’ को ‘गाला रातै...’ गीत गाउने प्रस्ताव पाएका थिए । आसाममै सांगीतिक गतिविधिमा सक्रिय रहेर काठमाडौं आएकी मिलन अमात्य पनि चलचित्रका लागि गीत गाउन इच्छुक थिइन् । उक्त युगल गीतमा सापकोटाले मिलनलाई समेत समावेश गरे । प्रल्हाद र मिलनको स्वरको उक्त गीत यति लोकप्रिय भयो कि त्यसपछि निर्माण भएका थुप्रै चलचित्रमा यी गायक–गायिकाको स्वर अनिवार्य जस्तै मानिन थालियो ।

प्रेम परियार

धादिङका बालगायक प्रेम परियारलाई उनी मलेखुतिरै छँदा संगीतकार सापकोटाले गायक बनाउने निर्णय गरेका थिए । विकास आचार्यको चलचित्र ‘नाइँ नभन्नु ल–२’ का लागि संगीतकार सापकोटा एउटा बाल–स्वरको खोजीमा थिए । केही चलचित्रकर्मीका माध्यमबाट परियारसँग भेट भएपछि सापकोटाले उनलाई ‘यी आँखामा तिमी छौ...’ गाउने मौका दिए । उक्त गीत यति लोकप्रिय भयो कि गायक परियारले पछाडि फर्किएर हेर्नै परेन । उक्त गीतको सफलतासँगै गायक परियार सांगीतिक क्षेत्रमा स्थापित भए । परियारले गाएका अधिकांश गीत लोकप्रिय छन् ।

मेलिना राई

गायिका मेलिना राईको सांगीतिक जीवनमा संगीतकार वसन्त सापकोटा टर्निङ प्वाइन्ट नै हुन् । केही फुटकर गीत गाइरहेका बेला सापकोटाले नै राईलाई चलचित्रमा ब्रेक दिएका थिए । वास्तवमा संगीतकार सापकोटा चलचित्र नाइँ नभन्नु ल–३ को ‘कम्मरमाथि पटुकी...’ गीतमा पूर्वेली भाका गाउन सक्ने गायिकाको खोजीमा थिए । संगीतकार ताराप्रकाश लिम्बूमार्फत मेलिनाको स्वर सुनेपछि सापकोटाले उनलाई नै उक्त गीत गाउने जिम्मा दिने निर्णय गरे । गीत यति लोकप्रिय भयो, गायिका राईले आजको मितिसम्म फुर्सदले बस्न पाएकी छैनन् । गायिका राई आज चलचित्रको गीतमा त अब्बल छिन् नै, आधुनिक तथा लोकगीतहरू समेत गाएर दर्शकको मन जितिरहेकी छिन् ।

जोनिशा पौडेल

गायिका जोनिशा पौडेल प्राय: भजन गाउँथिन् । हेटौंडाकी यी गायिकाको नाम त्यतिबेला चर्चामा आयो, जब चलचित्र अधकट्टीको ‘तिम्रो फिगर कोकाकोला...’ लोकप्रिय भयो । संगीतकार सापकोटाले उक्त गीतका लागि गायक प्रल्हाद तिमिल्सिनाको जोडी गायिकाका रूपमा जोनिशालाई प्रस्तुत गरेका थिए । जोनिशाको स्वर यति सुरिलो थियो, पहिलो गीतबाटै उनले अनपेक्षित सफलता हात पारिन् । सांस्कृतिक कार्यक्रमदेखि विवाह भोजसम्म उक्त गीत आज पनि उत्तिकै जोशका साथ बजेको सुनिन्छ ।

प्रताप दास

नेपाल आइडलका सेकेन्ड रनर्सअप प्रताप दासलाई झन्डै साढे दुई वर्षअघि नै गायनमा ब्रेक दिने संगीतकार पनि वसन्त सापकोटा नै हुन् । विकास आचार्यको चलचित्र नाइँ नभन्नु ल–३ को ‘अलिकति हट अलिकति स्वीट’ मार्फत प्रतापले चलचित्रको पाश्र्व गायनको यात्रा प्रारम्भ गरेका थिए । उक्त गीतमा प्रतापलाई गायिका मेलिना राईले साथ दिएकी थिइन् ।

प्रविशा अधिकारी

सुन्दर मुहारकी धनी प्रविशा अधिकारीले पनि संगीतकार सापकोटाबाटै चलचित्रमा पहिलो ब्रेक पाएकी थिइन् । चलचित्र कसलाई दिउँm यो जोबनको ‘तिमी जहाँ छौ...’ गीतमार्फत पाश्र्व गायनमा आएकी गायिका अधिकारी अहिले पनि सांगीतिक क्षेत्रमै सक्रिय छिन् ।

प्रकाशित :माघ ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्