माघ ५ देखि ११ गतेसम्मको राशिफल

  • माघ ८ गते : श्रीपञ्चमी

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

माघ ५, २०७४

 

मेष 

तत्काल कार्य सम्पन्न गर्न ढिलाइ भए पनि मंगलबारपछि क्रमिक रूपमा प्रगतिको मार्ग फेला पर्दै जानेछ । धार्मिक कार्यमा संलग्न हुँदै मठ–मन्दिरको परिक्रमा गर्नु लाभप्रद हुनेछ । परिवारजनले दिएको वचन पूरा नहुँदा आफूलाई मर्का पर्नेछ । धैर्य गर्न सके मात्र मनोकांक्षा पूरा होला । साताको अन्त्यमा खानपानसम्बन्धी कार्यक्रममा सहभागी भइनेछ । 

वृष 

तपाईंको सामाजिक भूमिकाले धेरैको मन लोभ्याउनेछ । साथीभाइले जीवनशैलीमा परिवर्तन ल्याउन सुझाव दिनेछन् । मन मिल्ने साथीले आफ्नो नामबाट फाइदा उठाउन सक्छन्, सचेत रहनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनेछ । सोमबारदेखि शुभ चिन्तकहरूको साथ एवं विद्वान्हरूको सहयोग जुट्नेछ । 

मिथुन

भगवानको स्मरणका साथै योग–ध्यान गरे मानसिक राहत मात्र प्राप्त हुनेछैन, शारीरिक आलस्यसमेत हटेर जानेछ । साथीहरूलाई आर्थिक कारोबारसम्बन्धी वचन दिँदा संयम अपनाउनुहोला । हरियो रंगको पहिरनले ठूलो उपलब्धि हात लगाउने सम्भावना छ । रातिको यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ ।       

कर्कट 

अरूको विश्वासमा पर्दा गोप्य सूचना बाहिरिन सक्छ । मेहनतले राम्रै अवसर प्रदान गर्नेछ । अपरिचित व्यक्तिहरूको कुरामा भर पर्नुपूर्व तथ्य पत्ता लगाउने प्रयत्न गर्नुहोला । विशिष्ट व्यक्तिहरूको प्रेरणाले समस्या सुल्झाउन सहयोग मिल्नेछ । यो साता पश्चिमतर्फको यात्रामा सफल भइनेछ । 

सिंह 

माङ्गलिक कार्यको प्रस्ताव आउँदा अभिभावकको निर्णय शिरोधार्य गर्नुमै आफ्नो कल्याण होला । वादविवादमा अघि सर्नु उपयुक्त हुँदैन । अध्ययनका निम्ति विदेश जाने प्रयासमा अपेक्षाकृत नतिजा प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तिको सुझावमा सकारात्मक मार्ग पहिल्याउन सकिनेछ । साताको अन्त्यमा चिसोसम्बन्धी समस्याले सताउन सक्छ ।  

कन्या

अपेक्षाकृत उपलब्धि हात पार्न केही समय कुर्नुपर्नेछ । प्रेमी–प्रेमिकासित अनावश्यक विवाद सिर्जना हुनसक्छ, संयम अपनाउनुहोला । मंगलबारपछि आफूभित्रको निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा आफन्तजनबाट खानपानको निमन्त्रणा पाइएला । 

तुला

बिदेसिएका मित्रहरूले दिगो फाइदा हुने कार्य गर्ने अवसर जुटाउनेछन् । प्रलोभन देखाउनेहरूसँग टाढा रहँदै प्रतिष्ठा जोगाउने चेष्टा गर्नुहोला । प्रेमको बन्धन कसिने सम्भावना छ । बुधबारपछिका दिनले नयाँ अवसर सिर्जना गर्नेछन् । खानपान तथा भोज–भतेरमा समयको ख्याल गर्नुपर्नेछ । 

वृश्चिक

सरकारी सेवामा अवसर प्राप्त हुनसक्छ । भूमि तथा सवारी साधन जोरिने सम्भावना टरेको छैन । रोजगारी भएकाहरूले स्थान परिवर्तन गर्नुपर्ने हुनसक्छ । पारिवारिक सम्बन्धमा मिश्रित फल प्राप्त हुनेछ । गृह सजावटका निम्ति खर्चको जोहो गर्नुपर्नेछ । साताको अन्त्यमा पारिवारिक वातावरणमा हर्ष छाउनेछ । 

धनु 

सहजै प्रतिस्पर्धीहरूलाई उछिन्दा अपेक्षा गरेजस्तै जिम्मेवारी हात पर्न सक्छ । विदेश यात्राले आकस्मिक लाभ प्रदान गर्नेछ । तपाईंको मेहनत, कर्मठता एवं लगनशीलताले समाजमा प्रतिष्ठा जमाउनेछ । टाढिएका मित्रले विश्वास गर्ने वातावरण बन्दैछ । गरिब तथा असहायहरूलाई गरिएको सहयोगले प्रशंसा पाउला । 

मकर

प्रेमी–प्रेमिकासँगको मनोरञ्जन अविस्मरणीय क्षण बन्नेछ । आफूले मन पराएको साथीको भावनाको कदर गर्नु उचित हुन्छ । खानपान तथा मनोरञ्जनमा संयमित रहनु नै उपयुक्त होला । मौसम प्रतिकूल हुँदा स्वास्थ्यमा ध्यान पुर्‍याउनुपर्नेछ । साताको अन्त्यतिर आर्थिक भार बढेर ऋणको चपेटामा पर्न सकिन्छ ।

कुम्भ

पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मसात् गर्नाले नयाँ उचाइमा पुगिनेछ । जटिल परिस्थितिका बीच प्रारम्भ गरिएका कार्यले उचित स्थान पाउनेछ । शिक्षामा लगानी गर्दा थप मेहनत गर्नुपर्ने हुन सक्छ । सरकारी कर्मचारीले काममा विवेक पुर्‍याए थप अवसर प्राप्त हुनेछ । खरानी रंगको पहिरनले आशीर्वाद बर्साउनेछ । 

मीन 

अवरोध खडा गर्नेहरू सक्रिय रहे पनि हिम्मतका साथ काममा जुट्नुहोला । अभिभावकहरूसँग सामान्य खटपट हुनेछ भने आफ्ना कमजोरीप्रति उनीहरूको गुनासो बढ्न सक्छ । मित्रहरूको वचन परिवर्तनका कारण आर्थिक हैरानी बेहोर्नुपर्ने हुन सक्छ । साताको अन्त्यमा राम्रै आम्दानी हुने योग छ ।

प्रकाशित :माघ ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्