समूह ‘सी’ फ्रान्सलाई सजिलो समूह

- साप्ताहिक संवाददाता

माघ २, २०७४

यो समूहको सटीक विश्लेषण गर्ने हो भने नकआउट चरण प्रवेशका लागि फ्रान्सले निकै सजिलो समूह पाएको छ भन्दा फरक पर्दैन । त्यसै पनि रुसी भूमिमा पहिलो पटक हुन लागेको विश्वकपमा फ्रान्स उपाधिको बलियो दावेदार हो । त्यसका स्पष्ट कारण पनि छन् । फ्रान्स युरोपमा भएका पछिल्ला दुई विश्वकपमा फाइनलसम्म पुगेको छ । त्यसमध्ये सन् १९९८ मा आफ्नै भूमिमा भएको विश्वकपमा फ्रान्स नै विजयी भएको थियो ।

सन् २००६ मा भने फ्रान्स इटालीविरुद्ध फाइनलमा पेनाल्टीमा पराजित भयो । ब्राजिलमा भएको विश्वकपमा खराव खेलेको फ्रान्स अहिले फेरि लयमा छ र टिममा एकतासमेत देखिन्छ । त्यसैले हो, सन् २०१६ को युरोमा फ्रान्स फेरि एक पटक फाइनलमा पुगेको थियो । त्यसमा फ्रान्स पोर्चुगलको हातबाट पराजित भयो । फ्रान्स प्रशिक्षक डिडिएर डेसक्याम्पको नेतृत्वमा छ र उनी प्रशिक्षकका रूपमा लगातार तेस्रो पटक विश्वकपमा सहभागी हुँदैछन् । 

फ्रान्सेली टिममा अहिलेको फुटबलका तीन स्टार खेलाडी छन्, पउल पोग्बा, एन्टोनिया ग्रिजमन र केलिन एमबापे । यी तीनै खेलाडीले युरोपेली क्लब फुटबलमा तहल्का मच्चाइरहेका छन्, त्यसैले पनि फ्रान्सले अबको विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ, कम्तीमा फ्रान्सले सजिलै समूह चरण काट्नेछ । त्यसो भए, प्रारम्भिक लिग चरणमा फ्रान्सलाई चुनौती दिने को होला त ? अथवा फ्रान्सपछि नकआउट चरणमा पुग्ने दोस्रो टिम कुन हुनेछ ? 

सम्भवत: यसको उत्तर डेनमार्क हुन सक्छ । सन् १९९८ मा फ्रान्सले डेनमार्कलाई हराएको थियो, तर त्यसको चार वर्षपछि फ्रान्स डेनमार्ककै हातबाट पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । यस्तोमा डेनमार्क फ्रान्सका लागि सधैं बलियो चुनौती मानिँदै आएको छ । फ्रान्स र डेनमार्कबीचको खेलले समूहको स्थिति धेरै हदसम्म निर्धारण गर्नेछ । खासमा यी दुई टिम एक आपसमा निकै परिचित छन् । 

अष्ट्रेलिया अहिलेको एसियाली च्याम्पियन हो, तर उसका लागि पछिल्लो समय राम्रो हुन सकेको छैन । त्यसमाथि अष्ट्रेलियाको छनौट यात्रा पनि सहज रहेन । छनौटका लागि अष्ट्रेलियाले अन्तरमहादेशीय प्ले अफ खेल्नुपरेको थियो । टिममा विवादबीच नै प्रशिक्षक एन्गे पोस्टकोग्लुले आफ्नो पद छाडेका छन् । अहिले तत्काल टिम प्रशिक्षकविहीन छ । यसको सीधा प्रभाव विश्वकपमा देखिनेछ, तर टिममा राम्रा खेलाडीको कमी भने छैन । 

पेरुले पनि सन् १९८२ यता पहिलो पटक विश्वकप खेलिरहेको छ र उसका लागि आउने विश्वकप ३२ वर्षपछिको पहिलो ठूलो प्रतियोगिता हुनेछ । यसपटकको विश्वकपमा सहभागी टिममध्ये पेरुको सहभागिताको अन्तर सबैभन्दा ठूलो हो । त्यसैले पनि पेरुबाट धेरै अपेक्षा गर्न सकिँदैन, तर रमाइलो तथ्य के छ भने सन् १९८२ को विश्वकपमा पनि फ्रान्स र पेरु आपसमा भिडेका थिए र उक्त खेलमा दक्षिण अमेरिकी टिम विजयी भएको थियो । फ्रान्स र पेरु भिड्दा उक्त इतिहास सम्झेर स्तब्धपूर्ण नतिजाको अपेक्षा भने गरिनेछ । 

जुन १६ फ्रान्स–अष्ट्रेलिया

जुन १६ पेरु–डेनमार्क

जुन २१ फ्रान्स–पेरु

जुन २१ डेनमार्क–अष्ट्रेलिया

जुन २६ डेनमार्क–फ्रान्स

जुन २६ अष्ट्रेलिया–पेरु

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्