Teej banner

शिक्षा नै सबैभन्दा ठूलो हतियार हो

- जनक तिमिल्सिना, भिषा काफ्ले

माघ २, २०७४

मोरङको लेटाङ, भोगटेनीमा जन्मिएका हुन्— २६ वर्षीय डा. सुजित दर्नाल । सामान्य सिलाइ–बुनाइको काम गर्ने आर्थिक रूपमा विपन्न परिवारमा जन्मिएका दर्नाल आफैंलाई डाक्टर बन्छु भन्ने लागेको थिएन्, अरूका लागि पनि सुजित डाक्टर बन्ने कुरा एउटा मिठो सपना देख्नुजत्तिकै थियो, तर प्रबल इच्छाशक्ति भयो भने आर्थिक एवं सामाजिक कुरा गौण हुादा रहेछन् भन्ने उनको मेहनतबाट प्रमाणित भएको छ । तीक्ष्ण दिमाग भएका सुजितले छात्रवृत्तिमै एमबीबीएस पूरा गरेका छन्, त्यो पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको ०६८/७३ को ब्याचमा टप गरेर । सुजितसँग लेटाङको सामान्य स्कुले विद्यार्थीदेखि एमबीबीस टपरसम्मको अनुभवका सम्बन्धमा साप्ताहिकका जनक तिमिल्सिना र भिषा काफ्लेले गरेको कुराकानी :  

तपाईं आफूलाई कस्तो पृष्ठभूमिबाट आएको व्यक्ति भन्न रुचाउनुहुन्छ ?

म जन्मँदा मेरो घरको अवस्था ज्यादै दयानीय थियो । पेसागत रूपमा मेरो बुबा कपडा सिलाउनुहुन्थ्यो पहिलेदेखि नै । मेरो जन्म २०४८ मंसिरमा गंगाराम दर्जी र विमला माया दर्जीको कोखबाट भएको हो । मैले २०५४ मा श्री शान्ति उच्च माविबाट अध्ययन सुरु गरेको हुँ र त्यही विद्यालयबाट ६५ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरें । मैले २०६३ मा एसएलसी दिएको थिएँ ।

 

आफ्नो बाल्यकाललाई कसरी सम्झनुहुन्छ ?

मेरो बाल्यकाल संघर्ष र कन्फ्युजनमै बित्यो । एकातिर छुवाछूतको समस्या छँदै थियो । मेरो परिवार शिक्षित पनि होइन । त्यसले कति पछाडि परिन्छ भन्ने पनि थाहा छैन । सरकारी विद्यालयमा सधैं पढाइ नहुने । दु:ख गरेर खानुपर्ने । बुबा–आमालाई सहयोग पनि गर्नुपर्ने । म आफैं पनि उहाँहरूलाई सघाउँथें । अहिले पनि म कोटबाहेक सबै लुगा सिलाउन सक्छु । आफूले लगाउने पहिरन म आफैं सिलाउँछु । लगाव दिएर पढ्नुपर्छ भन्ने कुरा मलाई कक्षा १० सम्म कसैले भनेन र आफूमा पनि पढाइप्रति त्यस्तो खासै लगाव थिएन, तर कक्षामा एकपटक पढाएको वा आफैंले पढेको कुरा दिमागमा बसिहाल्थ्यो । मेरो बुबाले पनि कक्षा ४ सम्म मात्र पढ्नुभएको हो । आमा पूर्ण अशिक्षित नै हुनुहुन्छ । एसएलसीसम्म पढेका दाजुले नै मलाई थप पढ्न सहयोग गर्नुभयो । 

मेडिकल क्षेत्रमा आउने विचार कसरी आयो ?

बुबा पहिलेदेखि नै उच्च रक्तचाप तथा मधुमेहको बिरामी हुनुहुन्थ्यो । त्यसका लागि उहाँ विभिन्न औषधी पसलबाट औषधी लिनुहुन्थ्यो । औषधी किन्न जाँदा दबाई दिने व्यक्ति हेल्थ असिस्टेन्ट हो भन्ने कुरा थाहा पाउनुभएछ अनि एसएलसीको परीक्षाफल नआउँदै उहाँले मलाइ एचए पढ्नुपर्छ भन्नुभयो तर मेरो सोचचाहिँ कमर्स पढेर बैंकतिर जागिर खाने थियो । बुबाले त्यही विषय पढ्न भनेपछि म पनि कुरा बुझ्न थाले । बुझ्दा एचए राम्रै लाग्यो । त्यसपछि इन्ट्रान्स परीक्षाको तयारी गरें । सिटिइभिटीले लिने परीक्षा पनि राम्रो भयो । एचए पढाउने कलेजहरूले दलितका लागि एउटा पूर्ण र एउटा अद्र्ध गरी दुइवटा कोटा छुट्याएका हुन्छन् । मैले त्यही पूर्ण छात्रवृत्तिमा नाम निकाले । 

अनि एमबीबीएस पढ्ने सोच कसरी बनाउनुभयो ? 

एचए सकिएपछि मात्र मैले एमबीबीएस पढ्ने सोच बनाएको हुँ । चिकित्सा क्षेत्रमा एचए भनेको त जम्मा १०/१५ प्रतिशत मात्र रहेछन् । यसैमा मात्र आफ्नो क्षमता खुम्च्याउनु हँुदैन भन्ने लाग्यो । अब जसरी हुन्छ मैले एमबीबीएस पढ्नैपर्छ भन्ने भयो । एचए पढेकाले दस जोड दुई इक्युभ्यालेन्ट गर्न तीनमहिने ब्रिजकोर्स गर्नुपर्छ, त्यो गरें र एमबीबीएसको परीक्षाको तयारीमा लागें । त्यही बेला शिक्षा मन्त्रालयले छात्रवृत्तिबाट एमबीबीएस कोटाका लागि आवेदन माग्यो । मैले उक्त परीक्षामा नाम निकालें । पहिलो र दोस्रो वर्ष मैले टियु टप गरें भने तेस्रो वर्ष एक नम्बरले पुगेन, तर सबै जोड्दा आफ्नो ब्याचमा प्रथम भएँ । 

 

त्यस्तो धरातलबाट आएको मान्छे पढाइमा कसरी मोटिभेट हुनुभयो ? 

मैले एसएलसीसम्म आफ्नो क्षमता देखाउनै पाइनँ ।  त्यति बेलासम्म त मलाई पढाइको महत्व नै थाहा थिएन । जब एचए पढ्न थालें अनि मात्र मैले पढाइको महत्व थाहा पाएँ । पहिलो परीक्षामा फेल हुन्छु होला भनेको त पहिलो परीक्षामै प्रथम भए । त्यसपछि सरहरूले धेरै नै इन्करेज गर्नुभयो । सरकारी विद्यालयबाट आएको विद्यार्थी प्रथम भएको पनि पहिलो पटक रहेछ । त्यसबाट पनि मलाई प्रेरणा मिल्यो । एचए उत्तीर्ण हुन्जेल मैले पछाडि फर्कनुपरेन । जब मैले छात्रवृत्तिमा एमबीबीएसका लागि नाम निकाले त्यतिबेलै मैले प्रण गरेको थिएँ— म टपर भएरै निस्कन्छु ।

परिणाम पनि अपेक्षाअनुरूप नै आयो । जुन दिन मैले एमबीबीएसमा नाम निकालें, त्यो दिन म अत्यधिक खुसी थिएँ । मैले तयारी कक्षा लिने क्रममा एक जना शिक्षकले एचए पढेको मान्छेले एमबीबीएस इन्ट्रान्समा एकैपटकमा नाम निकाल्न सक्दैन, कम्तीमा पनि तीनपटक ट्राई गर्नुपर्छ भन्नुभएको थियो, तर मैले घरमा दुई वर्षको मात्र समय मागेको थिएँ । दुइ पटक मात्र ट्राइ गर्छु, भएन भने जागिर खान थाल्छु भन्ने सोच थियो, तर एकैपटकमा नाम निस्कियो । त्यो रिजल्ट आएपछि चाहिँ लाग्यो, म आफूले चाहेको कुरा गर्न सक्ने रहेछु । 

दृढ आत्मविश्वास भए त गर्न नसकिने केही रहेनछ नि होइन ?

हो, त्यसमा मेरो डेडिकेसनले पनि ठूलो भूमिका खेल्यो । 

सुरुका दिनमा काठमाडौंमा कसरी खर्च व्यवस्थापन गर्नुभयो ? 

आफ्नो विश्वास र लक्ष्यलाई छुन लागिरहे । जब म काठमाडौं आएँ, मेरो एउटै लक्ष्य थियो छात्रवृतिमा नाम निकाल्नु । घरबाट मलाई पैसा पठाउने अवस्था थिएन । मेरो दाजुले विदेशबाट महिनाको ४ हजार पठाइदिनुहुन्थ्यो । त्यही पैसाले खाने–बस्ने सबै पुर्‍याउनुपथ्र्यो । स्कुलदेखि सँगै पढेको दीपक घिमिरे मेरो साथी थियो । उसको घरबाट चामल आउँथ्यो र उसले मलाई कहिल्यै चामल किनाएन । उसले मलाई धेरै नै सहयोग गर्‍यो । म आफु खुब मेहनत गर्थें । दैनिक १७ देखि १८ घण्टा पढ्थें । 

नतिजामा वातावरण तथा आर्थिक अवस्थाले पनि असर पुर्‍याउँछ । त्यो भन्दा ठूलो कुरा त मेन्टल पावर नै हो नि, होइन ? 

कुनै पनि मानिसले राम्रो गर्नुमा तीनवटा कुराको महत्वपूर्ण भूमिका हुन्छ । एउटा क्यापेवल हुनुपर्‍यो । कुनै पनि मानिसमा कुनै डिजिज छैन भने सबै मानिसको दिमाग एउटै हो । त्यसलाई कसरी सदुपयोग गर्ने हो भन्ने मात्र  हो । कसरी म्यानुपुलेसन गर्ने र कुन तरिकाले मानिस अगाडि आएको छ भन्ने कुरा वातावरणमा भर पर्छ । जस्तो विद्यालयमा किताबहरू साना हुन्छन् । सरहरूले नोट लेखाइदिएको कुरा पनि सम्झन सहज हुन्छ । एमबीबीएस कसैले रटेर पास गर्न सक्दैन । जसले इम्याजिनेसन गरेर पढ्यो उसैले पास गर्छ । जस्तै दिमागको विषयमा पढ्ने हो भने कितावको लाइन पढ्ने होइन । सुरुमा दिमागका १० वटा चित्र हेर्ने र आफुले त्यसलाइ व्याख्या गर्ने अनि किताबाट रिफ्रेन्स लिने । यसरी पढेको कुरा लामो समय सम्म सम्झना रहन्छ । 

एमबीबीएस पढ्ने कतिपय विद्यार्थी डिप्रेसनमा पर्नेदेखि आत्माहत्यासम्म पुगेका प्रशस्त उदाहरण छन् । के पढाइकै प्रेसरले यस्तो हुने हो ? 

यस्ता घटना जब विद्यार्थी ‘ट्रयाप’मा पर्छन् तब घट्छन् । एक वर्ष पढेको कुरा चार घण्टाको परीक्षामा वर्णन गर्नुपर्ने हुन्छ । त्यसको प्रेसर परिरहेको हुन्छ । त्यसमाथि आर्थिक प्रेसर थपिन्छ अनि शिक्षकबाट पनि प्रेसर आउन थालेपछि मानिस आउट अफ माइन्ड हुन्छ ।  धेरैतिरबाट प्रेसर आएपछि भने मानिसले केही गर्न सक्दैन । अझ एमबीबीएसको दोस्रो वर्षको परीक्षामा चार पटक फेल भएपछि रजिस्ट्रेसन नै फेल हुन्छ । त्यो भएपछि उसले पुन: एमबीबीएस पढ्छु भन्न पाउँदैन ।

 

के तपाईंलाई लाग्दैन, हाम्रो यो शैक्षिक प्रणाली नै खराब छ ? 

हाम्रो परीक्षा प्रणालीमा अनेकन खराबी छन् । यसलाई आधुनिकीकरण गर्न आवश्यक छ । अहिले हाम्रो परीक्षा पूरै सैद्धान्तिक छ । सैद्धान्तिक र व्यवहारीक दुवै तरिकाले प्रश्नपत्र निर्माण गरिनुपर्छ । सैद्धान्तिक परीक्षा प्रणाली भनेको भाग्यको खेल हो । हाम्रा कोर्सका ठूला–ठूला ठेली छन् । सवै अध्ययन गर्न सम्भव हँुदैन । पढेको क्षेत्रबाट प्रश्न आए पास हुने सम्भावना हुन्छ नत्र गाह्रो पर्छ । 

सीमान्तकृत समुदायबाट आएको मान्छे, डाक्टर बन्नुभयो कस्तो लागिरहेको छ ? 

एमबीबीएस इन्ट्रान्स परीक्षामा उत्तीर्ण हुँदा म धेरै खुसी भएको थिए । त्यसले नै मलाई सही दिशामा अघि बढ्न उत्प्रेरित गर्‍यो । कक्षा १ देखि कक्षा १० सम्म म कहिल्यै प्रथम भएको थिइन । कक्षा ३ मा एक पटक तेस्रो भएको थिए । त्यसपछि म कहिल्यै लेभलमा आउन सकिनँ । मेरो विज्ञान र गणित राम्रो भएको हुँदा कक्षा १० मा साथीहरूलाई नै ट्युसन पढाएको हुँदा सहज भयो । त्यसपछि मैले एचएमा पनि टप गरें । एचए पढिसकेर एमबीबीएसको तयारी गर्दा ममाथि तीन महिनामै पास गर्नैपर्ने ज्यादै ठूलो दबाब थियो । जब मैले उक्त परीक्षा उत्तीर्ण गरें त्यो मेरो जिन्दगीको सबैभन्दा ठूलो खुसी थियो ।

अबको योजना के छ ?

मेरा लागि अब दुईवटा बाटा छन् । मेरो परिवारलाई सँगै लाने एउटा पाटो छ । अर्को अवको दुई वर्ष सरकारले दिएको जिम्मेवारी पूरा गर्नु छ । यो दुई वर्ष केही कमाएर परिवारलाइ दिएर अब केही वर्ष तपाईंहरू चुप लागेर बस्नुहोस् है भन्ने र आफूले एमडी गर्ने । दुर्गममा गएर आफै पढेर एमडी गर्ने बाटो पनि छ । 

इच्छाशक्ति भए सामाजिक र आर्थिक असमानताले फरक नपार्ने रहेछ होइन ?

म विद्यालयस्तरमा पढुन्जेल सामाजिक रूपमा तिरस्कृत भएको महसुस गर्थें । त्यो सामाजिक संरचना नै त्यस्तै हो भन्ने अहिले थाहा पाएँ । जब मानिस शैक्षिक रूपमा सबल हुन्छ तब समाजले हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ । मैले अहिले आफ्नै समाजमा प्रशस्त सम्मान पाएको छु । 

भविष्यको सपना ? 

मलाई सबैभन्दा मन पर्ने फिल्ड मेडिसिन र सर्जरी हो । त्यसैले कि त फिजिसियन बनेर राम्रो गर्छु, होइन् भने सर्जन बन्छु अनि देशको सेवामा लागिपर्छु । 

डाक्टर बनिसक्दा पनि तपाईं लुगा सिलाउनुहुन्छ होइन ? 

हो, अहिले पनि म लुगा सिलाउँछु । घर जाँदा आफ्नो ड्रेस आफैं सिलाउँछु, यो सर्ट मैले आफैं सिलाएको हुँ । सर्ट–प्वाइन्ट हो भने म आफ्ना लागि आफै सिलाउँछु । किनभने, आफूले सिलाएको राम्रो लुगा लगाउन पाइन्छ । 

डाक्टर भैसकें, अब यो काम के गरिरहनु भन्ने लाग्दैन ? 

त्यस्तो लाग्दैन । आफू कुन भूमि र धरातलबाट आएको हो भन्ने कुरा बिर्सियो भने त त्यो मान्छे सकिइहाल्यो नि † आफ्नो धरातल बिर्सने मान्छे कहिल्यै अघि बढ्न सक्दैन । म त्यो धरातलबाट यहाँ आए, यहांसम्म आउनुमा कति बाधा–अड्चन छन भन्ने थाहा पाए, मजस्ता सबै मानिसले यो अवसर पाउनुपर्छ । म माथि पुगेर मात्र ठूलो परिवर्तन आउँदैन । मजस्ता सबै मानिसलाई उकास्नुपर्छ । शिक्षा, स्वास्थ्य र आर्थिक रुपमा तल भएका मजस्तै थुप्रैलाई माथि उकास्ने भनेको शिक्षा नै हो । 

मुख्य प्रेरक कसलाई मान्नुहुन्छ ? 

आत्मविश्वास पहिलो कारण हो । अर्को मेरो परिवार हो, बुवाआमा जसले मैले खाना खाएको पैसा तिर्न बजार गएर कपडा बेच्नुहुन्थ्यो । त्यसपछि मैले पढेको कलेज र सहयोगदाता संस्थाहरूको प्रेरणाले नै म यहाँसम्म पुगेको हुँ । उपेक्षित उत्पीडित दलित उत्थान समन्वय समितिले प्रत्येक वर्ष १७ हजार रुपैयाँ दिन्थ्यो, त्यसले मेरो पढाइमा सहयोग पुग्यो । एमबीबीएस पढ्दा त्यही संस्थाले वर्षको ३० हजार दियो । पीडिआरसी भन्ने संस्थाले महिनाको ५ हजार दिन्थ्यो रिफन्ड गर्ने गरी, त्यसले पनि सहयोग पुग्यो । समता फाउन्डेसनले पनि मलाई सहयोग गरेको छ ।

प्रकाशित :माघ २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्