सञ्जालमा आरोप–प्रत्यारोप

- किशोर नेपाल

पुस २९, २०७४

यो दुनियाँका लागि कति दु:ख गर्न सकेका हुन् डाक्टर गोविन्द केसीले । सधैं अनशन बस्ने भन्छन् । यति धेरै अनशन बसिसके । अझै बस्छु भन्छन् । त्यस्ता राम्रा डाक्टर रहेछन् । सरकारसँग किन कुरा नमिलेको होला ?’ बिहानको कफी गफमा एक जना लेग्रो तान्दै थिए । अर्का एक जना फेसबुकको वालबाट मानव अधिकारकर्मी सुवोध प्याकुरेलको भनाइ सुनाउँदै थिए : धन्यका छन् हाम्रा सञ्चार । 

डा. केसीलाई समात्दा प्रधानमन्त्री रिसाउनुभो रे । गृहमन्त्री खित्का छाडेर हाँस्नु भो ? ढाका थापाले लेखे– अराजकताले अधिनायकवाद जन्माउँछ । के डा. केसी अधिनायकवाद जन्माउन लागिपरेका हुन् त ? अनि, महेश भण्डारीले पनि लेखे– गोविन्द केसीको पक्षमा तर्क गर्दा सम्मानित प्रधान न्यायाधीशका सम्बन्धमा कुतर्क गर्नु शोभनीय होइन । 

मिडिया डबली भन्ने अनलाइनमा सनसनीदार खबर आयो : गगन थापाले प्रधान न्यायाधीश पराजुलीलाई दिए यस्तो चेतावनी, सर्वोच्चमा भयो खैलाबैला । लिंक खोलेर हेरेपछि थाहा भयो, त्यो त पुरानै कुरो पो रहेछ । त्यत्तिकैमा आँखा पर्‍यो : समीक्षा बासकोटा नीलो ब्याकड्रपमा । उनले लेखेकी थिइन्— ‘डा. गोविन्द केसीको र उहाँले उठाउनुभएको इमान र निष्ठा आवाजको समर्थनमा हामी १ सयभन्दा बढी कानुन–व्यवसायीले आज उहाँविरुद्ध परेको मुद्दामा स्वत:स्फूर्त रूपमा वकालतनामा दर्ता गरेका छौं । म स्वयं पनि छु । भ्रष्टाचारको जालो जसरी नि तोडनु छ ।’

‘श्रीमान् ४ गोपाल पराजुलीको मान भयो कि अपमान ?’ फेसबुकमा यशोदा अधिकारीको नाममा लेखेको भेटियो :

श्रीमती ४

नागरिकता २

एसएलसी फेल

एनसेललाई अरबौंको दायित्व छुट

मेडिकल माफियाका संरक्षक १२ मुद्दामा चलखेल

चूडामणि शर्मा लुइँटेल बिगोभन्दा धेरै कम धरौटीमा रिहा ।

यति कर्तुतका बाबजूद सर्वोच्च अदालतको प्रधान न्यायाधीश ।

यति कुरा जगजाहेर भएपछि मान भयो कि अपमान, श्रीमान ४ ? बरु तत्काल निलम्बन गरेर यिनीमाथि अनुसन्धान गर्न ढिला भो ।

यशोदाले चाहिँ भानुभक्त आचार्यले लेखेर भित्तोमा टाँसेको कपी पेस्ट गरेकी रै’छिन् । 

त्यसपछि लेखेका रहेछन् महेश श्रेष्ठले :

डा. केसीले प्रधान न्यायाधीश पराजुलीमाथि लगाएका केही आरोप :

प्रधान न्यायाधीश गोपाल पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको कुरा कसैबाट छिपेको छैन । कुनै पनि व्यक्तिले एउटाभन्दा बढी नागरिकता लिने कार्य अपराध हो । त्यसैले निजमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्छ ।

नागरिकता दुई ठाउँबाट मात्र लिएका छैनन् उनले, उमेरसमेत सच्याएका छन् । पछिल्लो पटक काठमाडौँबाट नागरिकता लिएका आधारमा उनी हालसम्म पनि प्रधान न्यायाधीश पदमा आशीन छन्, तर उनको सुरुको नागरिकताका आधारमा उनी २०७४ असारमै ६५ वर्ष पुगिसकेका छन् । यस विषयमा छानबिन होस् । ६५ वर्ष पूरा भएर पनि प्रधान न्यायाधीश पदमा बस्नु गैरकानुनी हो । ओहदाको दुरुपयोग हो । यस किसिमको कार्य भनेको न्याय बेचबिखन गर्नुसरह हो ।

गोपाल पराजुलीले लोकमानसिंह कार्कीलाई गलत कानुनी आधारमा सफाइ मात्र दिएनन्, बरु उक्त सफाइ दिएपछि उनका नातेदार (भतिज) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कानुनी सल्लाहकार बनाइएको छ । यसरी मुद्दामा सफाइ दिने र आफ्ना नातेदारलाई जागिर ख्वाउने कामले न्यायिक गरिमा र न्यायिक आस्थालाई किनबेच गरेको देखिन्छ । यो विषयमा यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर ल्याइयोस् । निज गोपाल पराजुलीमाथि पद र ओहदाको दुरुपयोग गरेकोमा कारबाही होस् ।

गोपाल पराजुलीले एसएलसी पास गरेका छन् कि छैनन् भन्ने विषयमा विवाद छ । सोसम्बन्धमा विगतमा प्रधान न्यायाधीश सुशीला कार्कीबाट भएको आदेश र मिसिललाई पनि हेरी संलग्न गरिपाऊँ । निज पराजुलीको शैक्षिक प्रमाणपत्र जाँच गरिपाऊँ । शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति प्रधान न्यायाधीश हुन सक्छ ? के यो राज्य र अदालतजस्तो संस्थालाई गुमराहमा राख्ने आपराधिक कार्य होइन ?

सार्वजनिक सञ्चारमाध्यममा उनको शैक्षिक प्रमाणपत्र एवं योग्यताका बारेमा जुन प्रश्न उठेका छन्, त्यसका सम्बन्धमा न्यायपरिषद् र संवैधानिक परिषद्ले के छानबिन गरेर के निर्णयमा पुगे भन्नेबारेमा सक्कल निर्णयको कागजात हेरियोस् । सो झिकी बुझी पाउँm ।

क्यासिनो चलाएबापत होटलले राजस्व तिर्नु नपर्ने गरी जुन फैसला निज गोपाल पराजुलीले गरेका छन्, त्यसबाट न्याय मरेको छ । राज्यले राजस्व गुमाएको छ । न्याय मार्ने व्यक्तिले कसरी न्यायिक स्वाधीनताको जगेर्ना गर्न सक्छ ?

निज गोपाल पराजुलीले प्रधान न्यायाधीश भएपछि भएका विभिन्न आदेश र फोसलामध्ये चूणामणि शर्माको मुद्दा, गोपाल खड्काको मुद्दा र एनसेलको मुद्दाले भ्रष्टाचारलाई प्रश्रय पुग्नुका साथै ६० अर्बबराबरको राजस्व एनसेलले तिर्नु नपर्ने अवस्था सिर्जना भएको छ । के यस्ता क्रियाकलापले कानुनको शासनलाई उपहास गरेका छैनन् ? उक्त सम्पूर्ण मुद्दामा भएका आदेशबाट न्याय मरेको छ/छैन, न्यायिक निरुपण एवं छानबिन गरियोस् ।

प्रकाशित :पुस २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्