Teej banner

कसरी जोडिन्छ देश ?

- अविरल थापा

पुस २८, २०७४

 

राष्ट्रनिर्माताको उपाधि दिइएका राजा पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको फूलबारी भनेका छन् । यो वाक्यले नेपालको विविधता र मेलमिलापलाई दर्साउँछ । यद्यपि के उनले भने जस्तै यो देशको विविधता र मेलमिलाप उस्तै बलियो र सुन्दर छ ?

नेपालको गणतन्त्रमा भएको प्रवेश, नयाँ संविधान र हालै सम्पन्न निर्वाचनले यो देश ७ प्रदेशमा विभाजित भएको छ । सबै प्रदेशका आ–आफ्नै विशेषता, सहजता तथा कठिनाइहरू छन् । स्रोत र साधन, जातीय विविधता, शिक्षा र चेतनाको स्तर फरक–फरक छन् । एक प्रदेशले अर्को प्रदेशसँग कार्यगत एकता नगरी विकासको कल्पनासम्म गर्न सकिँदैन । 

विकासको कुरामा प्रतिस्पर्धा गर्दै एक अर्काको अस्तित्व स्वीकार गर्दै अघि बढे मात्र सबै प्रदेशले जनताको अपेक्षाअनुरूप फडको मार्न सक्नेछन् । अनावश्यक विवाद र किचलो, जातीय संकीर्णता, धर्म–संस्कृतिको अवमूल्यन आदिमा फस्ने हो भने संघीयताको किचलोले देशलाई बिग्रहको सँघारमा नपुर्‍याउला भन्न सकिँदैन । नेपालको जातीय विविधता एवं अनेक धर्म–संस्कृति नै हाम्रा विशेषता र पहिचान हुन् । यति सानो देशमा पाइने यति धेरै भौगोलिक एवं सांस्कृतिक विविधता सायदै अरू देशमा होला । 

मुलुक संघीयतामा गैसकेको परिप्रेक्ष्यमा अब हाम्रा कला धर्म एवं संस्कृति, पहिचान र सिंगो मुलुकलाई नै एक र मजबुत बनाउन के गर्न सकिएला ? धर्म र पहिचानका ठेकेदारहरूले कोरा राजनीति गरेर हिंसा र वैमनश्यता बढाउनुको साटो के चाहिँ गरिदिए सकारात्मक परिवर्तन देखिने थियो ? पुरानो पुस्ताले नयाँ पुस्तालाई आफ्नो पहिचानको नासो सुम्पन सके दीर्घकालसम्म आफ्नोपन जोगिन सक्छ । वर्षको एक दिन वा एक साता त हामीले कर्मकाण्ड गरेका छौं त्यसले संस्कृतिको जगेर्ना कम फेसन बढी देखाउँछ । एकदिन लगाए वा मनाए पुग्ने रै’छ भन्ने छाप नयाँ सन्ततिमा पर्न जान्छ । 

त्यसको साटो अबको नयाँ संरचनाको नेपालमा कम्तीमा साताको एक दिन जो–जो जुन जात धर्म र संस्कृतिका मानिस हौं सबैले आफ्ना मौलिक पहिरन लगाएर स्कुल–कलेज, मेलापात वा कार्यालय जान अनिवार्य गरौं । कम्तीमा वर्षको ५२ हप्ता हाम्रो देश झिलीमिली देखिनेछ । हाम्रो देश घुम्न आउने पर्यटकले नेपालको मौलिकता र विविधता देख्न पाउनेछन् । घरका बालबालिकाहरूमा आफ्नो पहिरनमा रुचि बढ्नेछ । सबैका घरमा हप्ताको एकदिन आफ्ना जातीय तथा स्थानीय खानेकुरा पाकोस् । नयाँ पुस्ताले जानेको छैन भने सिकाएर सीप हस्तान्तरण गरौं । कम्तीमा आफ्नो छुट्टै भाषा छ भने घरमा बोलौं । छर–छिमेकमा बहुभाषी, फरक संस्कृतिका मानिस बसेका छौं भने एक अर्कालाई हेप्ने होइन सम्मान गर्दै एक अर्काको भाषा सिकौं, खानेकुरा चाखौं, बनाउन सिकौं, एक–अर्काको चाडबाडमा निम्तो दिएर सामूहिक रूपमा उत्सव मनाऔं । 

सबै भाषा, धर्म एवं वर्गका बेग्लाबेग्लै विशेषता र सीमितता छन् । हामी कोही पनि कोहीभन्दा ठूला र साना होइनौं । हामी एउटै देशका समान हैसियत र अधिकार भएका नागरिक हौं भन्ने भावनाको विकास हुन सके हामीलाई कसैले लडाउन र छुटाउन सक्नेछैन । आफ्नो देशमा बसेर अरूका लागि दलाली गर्ने र हिंसा मच्चाउन खोज्ने राष्ट्रघातीहरूको पहिचान गरी निर्मूल पार्ने काम हाम्रै हो । एकताको नारा लगाउँदैमा, वर्षको एकदिन चर्को भाषण गर्दैमा देश जोडिदैन । एउटा भूगोलकाले अर्को भूगोलको, एउटा धर्म र जातकाले अर्काको अस्तित्वको सम्मान गर्दै हातेमालो गर्न थाले यो देशको सुन्दरता र एकता सदैव अक्षुण रहनेछ । 

 के हामी सबैमा आफ्नो पहिरन, धर्मसंस्कृति, परम्परा, परिकार एवं मौलिकता जगेर्ना गर्ने चेत छ ? के हामी हप्ताको एक दिन आफ्नो पहिचान झल्काउँदै घरबाट निस्कन सक्छौं ? के हामीमा फलानो जातको भन्दा पनि यो देशको नागरिक हौं भन्ने भावना छ ? के हाम्रो मनमा अझै नेपालीपन जिउँदै छ ? के जहाँ गए पनि हामी टाउकोमा देश बोकेर हिंडिरहेका छौं ? एकफेर सबैले ऐनामा अनुहार हेरौं त, के हामी नेपालीजस्तै देखिन्छौं ?

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :पुस २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्