१८ पटक स्क्रिप्ट रि–राइट गर्ने निर्देशक मै हुँ

- कृष्ण भट्टराई

पुस २५, २०७४

झन्डै एक दशकदेखि चलचित्रमा सक्रिय निर्देशक हुन्— रामबाबु गुरुङ । ओखलढुंगाको रुम्जाटारमा बेलायती सेनाको परिवारमा जन्मिएका रामबाबुले आफ्नो पहिलो करियर उनकै भाषामा भर्तीलाई नै बनाउन चाहेका थिए । रुम्जाटारमै दुई पटक तथा पोखरामा एक पटक भर्ती परीक्षामा असफल भएलगत्तै उनले आफ्नो दोस्रो रोजाइको विधा अर्थात् कला क्षेत्रमा करियर बनाउने निर्णय गरे । कबड्डी, कबड्डी–कबड्डी तथा पुरानो डुंगाजस्ता चलचित्र निर्देशन गरेका गुरुङ आज नेपालकै महँगा चलचित्र निर्देशकका रूपमा स्थापित भएका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र मिस्टर झोलेको निर्देशन गरेबापत २० लाख रुपैयाँ पारिश्रमिक बुझेको चर्चा चलिरहेका बेला साप्ताहिकका कृष्ण भट्टराईले निर्देशक गुरुङसँग लामै कुराकानी गरेका थिए :

अहिले केमा व्यस्त हुनुहुन्छ ? 

मैले निर्देशन गरेको पाँचौं चलचित्र मिस्टर झोले प्रदर्शनको सँघारमा छ । त्यसको अन्तिम चरणको प्राविधिक कार्यमा व्यस्त छु । 

कत्तिको उत्साहित हुनुहुन्छ ? 

म आफ्नो कामप्रति सधैं उत्साहित हुने मान्छे हुँ । यो चलचित्रमा पनि मैले अघिल्ला चलचित्रहरूझैं प्रशस्त मेहनत गरेको छु । दर्शकको मन जित्ने कुरामा ढुक्क छु । 

दर्शकले यसलाई केही वर्ष अघि प्रदर्शन भएको झोलेको सिक्वेलका रूपमा बुझ्दा हुन्छ ? 

शीर्षकका दृष्टिकोणले हेर्ने हो भने यो झोलेको सिक्वेल नै हो, किनभने निर्माता उही हुनुहुन्छ । केही कलाकार पनि दोहोरिनुभएको छ । यद्यपि पहिलो र दोस्रो चलचित्रको विषयवस्तु बिल्कुलै फरक छ ।

 

मिस्टर झोलेको साटो अरू नै शीर्षक राख्न सक्नुहुन्थ्यो नि ? 

निर्माता टेकेन खड्का झोले शीर्षक दोहोर्‍याउने मनस्थिति बनाएर मकहाँ आउनुभएको थियो । मैले लगानीकर्ताको आग्रह अस्वीकार गर्ने अवस्था थिएन । त्यसैले पुरानो चलचित्रमा मिस्टर थपेर मिस्टर झोले तयार पारिएको हो । 

मिस्टर झोले कस्तो बनेको छ ? 

हामीले सक्दो मौलिक चलचित्र बनाउने प्रयास गरेका छौं । स्क्रिप्टमा धेरै नै मेहनत गरिएको छ । केही साताअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । यस हिसाबले हामीले जुन उद्देश्य लिएर चलचित्र निर्माण गरेका छौं, त्यसमा सफल हुनेछौं भन्ने कुरामा आशावादी छु । 

अभिनेता दयाहाङ राईलाई आफ्ना चलचित्रमा कहिल्यै छुटाउनुहुन्न नि ? 

संयोग त्यस्तै जुटिरहेको छ । मेरो पहिलो चलचित्र अनागरिकदेखि पाँचौं चलचित्र मिस्टर झोलेसम्म आइपुग्दा दयाहाङ छुट्नुभएको छैन । छैटौं चलचित्र साइँलीमा पनि उहाँको अभिनय रहने करिब–करिब निश्चितजस्तै भएको छ । वास्तवमा हामी संघर्ष गर्ने बेलादेखिकै साथी भएकाले पनि हुन सक्छ, स्क्रिप्ट लेख्दा उनको चरित्र दिमागमा आउँछ । अर्को कुरा, उनको बजारमा राम्रो माग भएको कुरालाई पनि हामीले बेवास्ता गर्नु हुँदैन । मैले निर्देशन गरेका अधिकांश चलचित्रमा जनजाति चरित्रको प्रसंग आउनेबित्तिकै दयाहाङ पहिलो विकल्प भैरहेका छन् । 

तपाईंजस्तो स्थापित निर्देशकले अब अर्को दयाहाङ राई जन्माउने बेला भएन र ? 

निर्देशकले स्टार जन्माउने होइन । स्टार भैसकेका कलाकारलाई हामीले चलचित्रमा अभिनय गराउने हो । अहिले थुप्रै प्रतिभावान् कलाकार आइरहेका छन् । बुद्धि तामाङ, प्रवीण खतिवडा, विपिन कार्कीजस्ता कलाकार पनि माथि आइरहेका छन् । अर्को कुरा, कुनै चलचित्रका लागि २०–२२ वर्षको जनजाति चाहियो भने मैले पक्कै पनि नयाँ अनुहार नै खोज्नुपर्छ । 

प्रसंग बदलौं, चलचित्र क्षेत्रतर्फ कसरी आकर्षिक हुनुभयो ? 

यसका लागि हामीले २०५३ सालतिर फर्कनुपर्छ । रुम्जाटारमा एसएलसी दिनुअघि नै म विद्यालय तथा गाउँमा आयोजना हुने नाटकहरूमा स–साना भूमिका निर्वाह गर्थें । सँगसँगै मेरो सम्पूर्ण परिवार भर्ती (बेलायती सेना) मा भएकाले मैले त्यता पनि झुकाव राखेको थिएँ । रुम्जाटारमै भएका भर्तीका दुई वटा परीक्षामा असफल भएपछि म पोखरा गएँ । त्यहाँ पनि अन्तिम चरणमा असफल भएपछि भर्तीमा जान सकिनँ । बाध्य भएर पहिलो रोजाइको कामबाट पछि फर्किएँ अनि लागें मनले चाहेको क्षेत्रतर्फ । काठमाडौं आएर रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना भएदेखि नै कला क्षेत्रका व्यक्तिहरूसँग संगत हुन थाल्यो । चलचित्र, नाटक, कन्सर्ट आदि हेर्ने समूह बन्न थाल्यो । यसरी नै म कला क्षेत्रतर्फ आकर्षित हुन पुगेँ । 

कलाक्षेत्रको पहिलो काम के थियो ? 

सन्तोष गुरुङ भन्ने साथीले खोला वारि खोला पारि (पछि कृष्णे शीर्षकमा प्रदर्शन) चलचित्र बनाउन थालेको थियो । उसकै आग्रहमा धादिङमा भैरहेको छायांकनमा सहभागी भएँ । मेरा लागि उक्त चलचित्रमा पाँच–छवटा दृश्य निकालिएको रहेछ, अभिनय गरें । पहिलो पटक क्यामरा फेस गरेपछि म के निष्कर्षमा पुगें भने अभिनय भन्ने कुरा मेरो क्षमताभित्र पर्दैन । मैले धादिङमै एउटा कठोर निर्णय गर्दै अभिनयको साटो निर्देशनमा सक्रिय हुने प्रण गरें ।

त्यसपछि के गर्नुभयो ? 

त्यसपछिको दुई–चार वर्ष साथीभाइसँग चलचित्र हेर्ने, चलचित्रसम्बन्धी पुस्तक तथा लेखहरू पढ्ने काममा बिताएँ । त्यसक्रममा म सबै प्रकारका चलचित्र हेर्थें भने सेल्फ स्टडीलाई पनि जारी राखें । अध्ययनकै क्रममा निर्देशनको विधामा काम गर्न सकिन्छ कि जस्तो लाग्यो । स–साना वृत्तचित्र तथा म्युजिक भिडियोतिर हात हालें । सिक्ने क्रममा क्यामेराको पछिल्तिर रहेर धेरै प्रकारका काम गरें । 

आफूलाई चिनाउने पहिलो काम केलाई मान्नुहुन्छ ? 

चलचित्रसम्बन्धी प्रशिक्षण लिने क्रममा हामीले लघु चलचित्र अनागरिक बनाउने निर्णय गर्‍यौं । दयाहाङ राई पनि हाम्रै समूहमा थिए । उक्त चलचित्र गुरुङ समुदायमा प्रदर्शन भएर सफल पनि भयो । विदेशमा पनि दर्शकहरूले मन पराए । उक्त चलचित्रले गुरुङ समुदायभित्र मलाई राम्रो चलचित्र बनाउने सक्ने मेकरका रूपमा स्थापित गर्‍यो । 

अनागरिकपछि के गर्नुभयो ? 

अनागरिकले मलाई एउटा समुदायका दर्शकमाझ निर्देशकका रूपमा चिनाउने काम गर्‍यो । प्रदर्शनका क्रममा मैले धेरै ठाउँको भ्रमण गरें । अग्रजहरूले कमी–कमजोरी पनि औंल्याउनुभयो । म अझै पनि निर्देशकका रूपमा परिपक्व भैसकेको छैन भन्ने लाग्यो । त्यसपछि पुन: चार–पाँच वर्ष वृत्तचित्रको निर्माणमा सक्रिय भएँ । वर्षमा दुई–चारवटा वृत्तचित्र निर्माण गरेर काठमाडौंमा टिक्न सक्ने वातावरण बन्दै गयो । वृत्तचित्रको अनुभवले मलाई कथा खोज्न, विषयवस्तु उठाउन तथा अवलोकन गर्न सिकायो । समाजमा के–कस्ता विषयवस्तु छन्, कुन मुद्दालाई प्राथमिकता दिने, कथालाई कसरी व्यवसायिक रूपमा पर्दामा उतार्ने भन्ने कुरा पनि सिकायो । प्राविधिक रूपमा पनि म सक्षम भैसकेको थिएँ । झन्डै १०–१२ वर्ष एउटै क्षेत्रमा बिताइसकेपछि अब एउटा राम्रो व्यवसायिक चलचित्र निर्माण गर्नुपर्छ भन्ने आत्मविश्वास जाग्यो । त्यसपछि मसहितको समूहले चलचित्र ‘कबड्डी’ निर्माण गर्ने चाँजोपाँचो मिलाउन थाल्यौं । 

तपाईंको पहिलो सफल चलचित्र कबड्डी कसरी जन्माउनुभयो ? 

अनागरिकपछि म घुम्दै–फिर्दै मुस्ताङ पुगेँ । केही समय त्यहाँ रहँदा मैले पहिलै नै सुनेको, पढेको थकाली समुदायभित्र फुपू चेला–मामा चेलीबीच विहेबारीका बारेमा नजिकबाट जान्ने मौका पाएँ । एक प्रकारको रिसर्च नै गरेपछि चलचित्र कबड्डीका लागि विषयवस्तु फुरेको थियो । 

एउटा समुदायको कथा आमदर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण हुनेछ भन्ने लागेन ? 

चुनौती नहुने त कुरै थिएन, यद्यपि म के कुरामा आशावादी थिएँ भने एउटा निश्चित समुदायको, ठाउँको अनि गाउँको कथालाई रुचिपूर्ण शैलीमा भन्न सकियो भने त्यसले दर्शकको मन कसो नजित्ला ? हास्य शैलीमा उक्त कथा भन्न सकियो भने दर्शकले किन मन नपराउलान् ? त्यतिबेला नेपाली चलचित्रको बजार एकातिर स्टारडममा टिकेको थियो भने भर्खरै मात्र चलचित्र लुटले बजार पिटेको थियो । राम्रो चलचित्र बनायो भने चल्छ भन्ने कुरा प्रमाणित भैसकेको थियो । दयाहाङ राई पहिलेदेखि नै मेरो संगतमा थिए, निश्चत बस्नेत पनि हाम्रै समूहमा थिए । उनीहरूसँग कबड्डीको कथा सेयर गरें, सबैले मन पराए । सबैको हौसलाले चलचित्र नै निर्माण गर्ने योजना बन्यो । 

कबड्डीको ट्रेलर​ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियाबाटै निराश हुनुभएको थियो रे नि ? 

निराश थिइनँ । अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो, यद्यपि एउटा सर्कलले भने त्यसलाई वृत्तचित्रको संज्ञा दिएको थियो । चलचित्र प्रदर्शन भएर दर्शकको मन जितेपछि तिनै फिल्म मेकरहरू कबड्डीजस्तै विषयवस्तुमा चलचित्र बनाउन सक्रिय भए । 

कबड्डी सफल हुनुको कारण के मान्नुहुन्छ ? 

पहिलो कुरा त मलगायत हाम्रो समूहले उक्त चलचित्रको स्क्रिप्टमै अत्यधिक मेहनत गरेका थियौं । तपाईं पत्याउनुहुन्न होला, कबड्डीको स्क्रिप्ट १८ पटक रि–राइट गरिएको थियो । हामी दर्शकहरूलाई हरेक प्रकारले मनोरञ्जन प्रदान गर्नुपर्छ भन्ने कुरामा सचेत थियौं । त्यसैले हामीले पेपर वर्कमा धेरै समय खर्च गरेका थियौं । 

कबड्डीबाट गाउँको मौलिक कथा दर्शकले मन पराउँछन् भन्ने कुरा प्रमाणित भएको मान्नुहुन्छ ? 

म यो कुराको सम्पूर्ण श्रेय आफैं लिन चाहन्नँ, किनभने कबड्डीअघि निर्माण भएका थुप्रै नेपाली चलचित्रमा गाउँको कथा भनिएको छ । यद्यपि कबड्डी प्रदर्शन भएपछि कुनै एउटा समुदायको कथा पनि रुचाइँदो रहेछ भन्ने कुराचाहिं प्रमाणित भयो । 

कबड्डी कबड्डी चाहिँ कसरी जन्मियो नि ? 

कबड्डीको सफलताबाट हामीले नाम मात्र होइन, दाम पनि कमायौं । हाम्रो समूह आर्थिक रूपले सक्षम भयो । बजारबाट पैसा पनि आयो । व्यवसायिक रूपमा सफल भएपछि अर्को चलचित्र बनाउने हिम्मत जुट्यो । त्यतिबेलै डिग्री माइला शीर्षकको नाटक मञ्चन हुन थाल्यो । त्यो बेला म अर्कै चलचित्रको स्क्रिप्टमा व्यस्त थिएँ, जसमा दयाहाङ राई नै मुख्य भूमिकामा थिए । लुट र कबड्डीको सफलतासँगै दयाहाङ व्यस्त भैसकेका थिए, मेरो प्रोजेक्टका लागि उनले अलि धेरै नै मेहनत गर्नुपर्ने भयो, जसका लागि उनीसँग समय थिएन । त्यही कारणले गर्दा उक्त प्रोजेक्ट सुरु गर्न सकिएन । मेरो झन्डै एक वर्षको समय खेर जाने भएपछि कबड्डीको सिक्वेल बनाउने जुक्ति फुर्‍यो, किनभने दर्शकको मनमा कबड्डीको क्लाइमेक्सले धेरै प्रकारका जिज्ञासा छाडेको थियो । तिनै जिज्ञासालाई शान्त पार्न सिक्वेल बनाइयो, त्यसले त कबड्डीको व्यवसायिक सफलतालाई समेत ओझेलमा पारिदियो । 

तेस्रो चलचित्र पुरानो डुंगामा अपेक्षा गरेजस्तो सफल हुनुभएन नि ? 

 निर्देशन तथा स्क्रिप्टअनुसार म सफल नै भएँ जस्तो लाग्छ, यद्यपि दर्शकको चाहना पूरा गर्न नसकेकोमा भने दुईमत छैन । अघिल्ला दुई चलचित्रमा हास्यरस पाएका दर्शकले पुरानो डुंगाबाट पनि त्यस्तै अपेक्षा गरेका थिए, तर त्यो चलचित्रको क्यान्भास अलि सानो थियो, एउटा छुट्टै कथा थियो । डुंगाका कारण दाजुभाइको सम्बन्धमा आएको समस्यालाई मैले चलचित्रको मुख्य विषय बनाएको थिएँ । म चलचित्रमार्फत भन्न खोजेको कुरा प्रभावकारी ढंगले व्यक्त गर्न सफल त भएको छु, तर केही कमी–कमजोरी नभएका होइनन् । 

तपाईंको विचारमा चलचित्र भनेको के हो ? 

चलचित्र कलाको एउटा विधा हो । यो एउटा माध्यम पनि हो, जसमा प्राविधिक कुरा मिश्रण गरेर निर्देशकले आफ्नो विचार अभिव्यक्त गर्छ । यद्यपि चलचित्र विविध सोच राखेर, योजना बनाएर निर्माण गरिन्छ । कसैले पैसा कमाउन चलचित्र बनाउँछन्, कसैले विचार व्यक्त गर्न बनाउँछन् अनि कसैले मनोरञ्जन प्रदान गर्न बनाउँछन् । मचाहिँ विचार तथा मनोरञ्जन दिँदै निर्माताले गरेको लगानी सुरक्षित हुने शैलीमा चलचित्र बनाउँछु । त्यसो त मैले योभन्दा बढी बुझ्न बाँकी नै छ । 

तपाईंको अबको निर्देशन यात्रा कसरी अघि बढ्ने छ ? 

अझै पाँच–सात वर्ष व्यवसायिक धारका चलचित्र निर्माण गरिरहनेछु । त्यसपछि म पनि यो विधामा परिपक्व हुनेछु । त्यसपछि मात्र बजारका लागि भन्दा पनि आफ्नो सन्तुष्टिका लागि चलचित्र बनाउनेछु । 

अरूका कस्ता चलचित्र हेर्न रुचाउनुहुन्छ ? 

म पहिलेदेखि नै असाध्यै चलचित्र हेर्नुपर्ने मान्छे हुँ । विगतमा पाँच–सात वर्ष गम्भीर प्रकृतिका चलचित्र हेरेर समय बिताएँ । म हलिउडका साइन्स फिक्सनदेखि दक्षिण भारतीय एक्सन चलचित्रसम्म हेर्छु । सलमान र शाहरूखका ग्लसी लभ स्टोरी चलचित्रबाट पनि कतिपय कुरा सिकिरहेको हुन्छु । 

अहिले वर्षकै एक–डेढ सय नेपाली चलचित्र निर्माण भैरहेका छन् । बजारअनुसार यो संख्या बढी भएन ? 

हाम्रो देश नै सानो छ । दर्शकहरू नै थोरै हुनुहुन्छ । लगानीको आकारअनुसार हामीले पाइरहेको दर्शक संख्या निकै ठूलो हो । यद्यपि नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ५ प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । योभन्दा महत्वपूर्ण कुरा के छ भने राम्रा चलचित्रले मुनाफासमेत गरेका छन् । लगानी सुरक्षित गर्ने चलचित्र पनि धेरै छन् । तपाईंको जिज्ञासामा म के भन्न चाहन्छु भने जबसम्म नेपाली दर्शकको मनोभावना नबुझी, बजार नबुझी पैसाकै बलमा चलचित्र बनाउने निर्माताहरूको संख्या घट्दैन, तबसम्म हरेक प्रकारका चलचित्र निर्माण हुने क्रम रोकिंदैन । समयक्रमसँगै राम्रा चलचित्र मात्र चल्न थालेपछि रहरले मात्र चलचित्रमा लगानी गर्नेहरूको संख्या पनि घट्दै जानेछ । 

नयाँ निर्माताहरूलाई के सुझाव दिनुहुन्छ ? 

चलचित्र क्षेत्रमा आउँदा गम्भीर तथा इमान्दार भएर आउन आग्रह गर्दछु । यो क्षेत्रलाई पेसा बनाउँदै आउन आग्रह गर्छु । रहरले होइन, गम्भीर भएर आउन आग्रह गर्छु । जसले चलचित्र निर्माणलाई गम्भीरतापूर्वक लिन्छ, उ नै लामो समयसम्म टिक्न सफल हुन्छ । 

अबको एक दशकपछि नेपाली चलचित्र कहाँ पुग्ला ? 

चलचित्रमा लभ, रोमान्स तथा कमेडी नै जारी रहन्छ । प्राविधिक अपडेटको कुरा मुख्य हो । हामी सम्पूर्ण नेपाली चलचित्रकर्मीले आफूलाई प्रविधिसँग अपडेट गर्दै लान सक्नुपर्छ । प्रविधिले हामीलाई चुनौती दिन थालिसकेको छ । त्यसैले अबको एक दशकपछि हामी सम्पूर्ण मेकरहरू प्राविधिक रूपले चुस्त–दुरुस्त हुनु अनिवार्य छ । 

प्रकाशित :पुस २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्