ईपीएल धमाका

- साप्ताहिक संवाददाता

पुस २४, २०७४

ट्वान्टी–२० क्रिकेट जुन कारणले लोकप्रिय छ, ती सबै दृश्य देख्न पाइयो, यसपटकको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा । अनिश्चितता, विस्फोटक ब्याटिङ, ग्ल्यामरसँगै विवाद, ईपीएलले सबै कुरा समेटेको थियो । नेपाली घरेलु क्रिकेट इतिहासमै यति भव्य र सफल प्रतियोगिता विरलै भए, जति भए, तीमध्ये सबैभन्दा अब्बल यसपटकको ईपीएल नै रह्यो । यस्तोमा नेपाली क्रिकेट इतिहासकै कोसेढुंगाका रूपमा प्रस्तुत भयो वर्ष २०१७ को ईपीएल । 

प्रतियोगिताको प्रशंसा नगर्ने कोही थिएनन । फाइनल पनि उत्तिकै गज्जब रह्यो । मैदानबाहिर यसपटकको फाइनलको सबैभन्दा ठूलो विशेषता रह्यो, टिकट काटेर क्रिकेट हेर्न त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदान पुगेका दर्शक । त्यहाँ दर्शक यति धेरै संख्यामा थिए कि तिनलाई नियन्त्रण गर्नसमेत सम्भव थिएन । मैदानभित्र भने फाइनलमा ट्वान्टी–२० क्रिकेटका सबै मसला भरिभराउ थिए । विजेता रह्यो, विराटनगर वारियर्स र उसको जितको अन्तर थियो, केवल एक रन । 

फाइनलमा विराटनगरसमक्ष भैरहवा ग्लाडियटर्सले राम्रै चुनौती दिएको थियो, खेलको अन्तिम बलसम्म पनि, तर प्रतियोगिताको वास्तविक विजेता रह्यो, विराटनगर । पूरा प्रतियोगितामा विराटनगर कुनै पनि खेलमा पराजित भएन, यस प्रकारले उपाधिसम्मको उसको यात्रा अपराजित रह्यो । प्रतियोगितामा विराटनगरले भैरहवालाई लगातार तीन खेलमा हरायो, फाइनलसँगै पहिलो क्वालिफायर र लिग चरणमा । यस्तोमा उपाधिमाथि विराटनगर नै असली हकदार थियो । 

६ टिम सम्मिलित प्रतियोगिताको लिग चरणको समाप्तिमा यिनै दुई टिम शीर्ष स्थानमा थिए । पारस खड्काको नेतृत्वमा रहेको विराटनगर मात्र होइन, शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा पनि फाइनल यात्राका लागि उत्तिकै हकदार थियो । भैरहवाका लागि खराब संयोग के रह्यो भने उसले खाली एउटै टिमविरुद्धको खेल गुमाएको थियो र त्यो अरू कोही नभएर विराटनगर थियो । 

सबैभन्दा महत्त्वपूर्ण तथ्य, यो प्रतियोगिताले नेपाली क्रिकेटलाई के दियो त ? पहिलो उपलब्धि, नेपालमै पनि यत्तिको भव्य प्रतियोगिता हुन सक्ने रहेछ अनि क्रिकेटलाई प्रायोजक खोज्न पनि गाह्रो नहुने रहेछ । न त समस्या सहभागी फ्रान्चाइजी टिमकै थियो । सहभागी प्रत्येक टिमले कम्तीमा १ करोड रुपैयाँको हाराहारीमा खर्च गरेका थिए । यद्यपि स्पष्ट तथ्यांक त छैन, तर तय छ, खेलाडीका लागि प्रत्येक टिमले खर्च गर्न लोभ गरेनन् । 

दोस्रो उपलब्धि, प्रतियोगिताका क्रममा नेपाली क्रिकेटले आफ्नो स्तर जाँच्ने अवसर पायो । यसपटकको प्रतियोगितामा सफल रहने लगभग सबै खेलाडी विदेशी थिए । विराटनगर र भैरहवाको प्रदर्शनमा विदेशी खेलाडीको ठूलो प्रभाव थियो । तिनको प्रदर्शनका अगाडि नेपाली राष्ट्रिय खेलाडी फिक्का देखिए । केही खास खास नाम चलेका नेपाली खेलाडी त नराम्रोसँग असफल भए । तीमध्ये अधिकांशले आफूलाई ट्वान्टी–२० क्रिकेटअनुरूप ढाल्न सकेनन् । 

प्रस्ट छ, नेपाली क्रिकेटले आफूलाई सुधार्नुपर्ने ठाउँ अझ धेरै छ र यो नै प्रतियोगिताले नेपाली क्रिकेटलाई लगाएको ठूलो गुन हो । तय छ, अहिलेको राष्ट्रिय टिमका अधिकांस खेलाडीले आफूलाई निकै सुधार्नुपर्नेछ, होइन भने उनीहरू विस्थापित हुनेछन् । प्रतियोगिताको अर्को ठूलो उपलब्धि हो, पुराना खेलाडीको स्थान लिन निकै प्रतिभाशाली खेलाडीको जमात तयार हुनु, नेपाली क्रिकेटले अब प्रतिभाशाली खेलाडीका लागि रुनु पर्दैन ।

उत्कृष्ट ब्याट्सम्यान

बाबर हयात, विराटनगर 

ईपीएल २०१७ लाई कुनै एक खेलाडीका लागि पछिसम्म पनि सम्झना गरिनेछ भने ती हुन्— बाबर हयात । उनी हङकङ क्रिकेट टिमका कप्तान हुन् । विराटनगरले उपाधि चुम्नुका पछाडि लयमा रहेका यिनै ब्याट्सम्यानलाई आफ्नो टिममा ल्याउन सक्ने बुद्धिमतापूर्ण कदमको प्रमुख भूमिका थियो । नभन्दै उनले प्रतियोगितामा ३ सय १३ रन बनाए र यो नै कुनै ब्याट्सम्यानको ब्याटबाट निस्किएको सबैभन्दा बढी रन रह्यो । बाबरले सात खेलमा तीन अर्धशतक बनाए, जसमा उच्च स्कोर रह्यो, ८१ । प्रतियोगिताको अन्त्यमा उनको भनाइ थियो— मेरा लागि ईपीएल खुबै फाप्यो, म अर्को वर्ष पनि खेल्न आउनेछु ।

उत्कृष्ट बलर

वसन्त रेग्मी, विराटनगर 

जहाँ वसन्त रेग्मीका प्रमुख साथी खेलाडी असफल रहे, ठीक त्यहीं यी स्पिनरले आफू अझै उत्तिकै सटिक रहेका सिद्ध गरे । नेपाली क्रिकेटका लागि उनको हैसियत भेट्रान खेलाडीका रूपमा छ, तैपनि उनको आक्रमण अझै सटिक छ । त्यसैले त वसन्त प्रतियोगिताकै उत्कृष्ट बलर सावित भए र उनले त्यसका लागि १२ विकेट लिए । त्यसो त पोखरा राइनोजका पाकिस्तानी बलर इस्राल उल्लजरले पनि १२ विकेट लिए, तर उनको प्रदर्शन आफ्नो टिमका लागि निर्णायक सावित हुन सकेन, जति वसन्तको प्रदर्शन विराटनगरका लागि रह्यो ।

उत्कृष्ट फिल्डर

अनिल साह, विराटनगर

त्यसै भनिएको होइन, क्याचेस विन द म्याचेज भनेर । ब्याट्सम्यान र बलरले जति मैदानमा योगदान दिन सक्छन्, उत्तिकै योगदान कुनै पनि खेलाडीले फिल्डरका रूपमा समेत दिन सक्छन् । यस्तोमा यसपटकको ईपीएलको एउटा ठूलो विशेता रह्यो, विराटनगरका अनिल साहको उत्कृष्ट फिल्डिङ । अहिलेको प्रदर्शनका आधारमा अनिललाई नेपालको अहिलेको पुस्ताका सबैभन्दा उम्दा क्याचर भने पनि हुन्छ । विश्वास नहुन सक्छ, उनले पूरा प्रतियोगितामा १२ वटा क्याच समाते, अर्थात् सात खेलमा यो उपलब्धि । ती एक दर्जन क्याचमध्ये अनिलले बाउन्ड्री नजिक लिएका दुई क्याचको जति प्रशंसा गरे पनि कम हुन्छ ।

प्रकाशित :पुस २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्