वर्ष २०१७ का उपलब्धि

- साप्ताहिक संवाददाता

पुस २४, २०७४

स्पेस एक्सको 

रियुजेबल फाल्कन रकेट

गत वर्ष इलोन मस्कले पहिलेदेखि चर्चामा रहेको स्पेस एक्सको रकेट बुस्टर उडाए । यसबाट आगामी दिनमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरूका लागि नयाँ सम्भावनाको ढोका खुलेको छ । यसको प्रतिस्पर्धा जेफ बेजोसको ब्लु ओरिजिनसँग हुनेछ । यसबाट भविष्यमा अन्तरिक्षमा यात्रा गर्न चाहनेहरूले पहिलेको १० हजार डलरको सट्टा २ हजार डलरमै यात्रा गर्न सक्नेछन् । उक्त रकम आगामी दिनमा अझ घट्दै जाने अनुमान गरिन्छ । 

अनुमान गरिएभन्दा 

पहिले नै मानिसको अस्तित्व

सन् २०१७ को जुनमा म्याक्स प्लाङक इन्स्टिच्युटका मानवशास्त्री जिनज्याक हब्लिन तथा उनको समूहले ३ लाखदेखि ३ लाख ५० हजार वर्ष पहिलेको मानिसको हाड फेला परे । यसबाट पहिलो मानव होमोस्यापिन्स अहिलेसम्म मान्दै आएको समयभन्दा १ लाख वर्ष पहिले नै देखिएको प्रमाणित भएको छ । त्यसैगरी मानवजाति पाइएको स्थान पनि कसैले अनुमान नगरेको स्थान मोरक्को भएको बताइएको छ । 

डाइनोसरको खोजमा 

अर्को सफलता

सन् २०१७ डाइनोसरको खोजका लागि पनि उपलब्धिमूलक वर्ष रह्यो । क्यानाडाको अल्बर्टास्थित रोयल टाइरेल संग्रहालयको एक विशेषज्ञ समूहले एउटा ‘डाइनोसर आमा’को खोजी गरे, जसमा केही भित्री क्षमता, कवच र छालाको भागसमेत थियो । त्यसपछि यही डिसेम्बरमा १० करोड वर्षीय अवशेष पत्ता लाग्यो, जसअनुसार एक स्थानमा डाइनोसर झुन्डिएको थियो भने अर्को स्थानमा डाइनोसरको रगत फेला परेको थियो । यसलाई परजीवीको सर्वाधिक पुरानो संरक्षित नमुनासमेत मानिएको छ । 

टेस्लाको विद्युतीय कार

गत वर्ष टेस्लाले पहिलो विद्युतीय कार सार्वजनिक गर्‍यो । सार्वजनिक भएको ७२ घण्टामै ३ लाख ग्राहकले बुकिङ गरेको अमेरिकी कम्पनी टेस्लाको विद्युतीयकार ‘मोडल थ्री’ अमेरिकी बजारमा उपलब्ध छ ।

टेस्ला ‘मोडल थ्री’ प्रतिघण्टा २ सय २५ किलोमिटरसम्मको रफ्तारमा चल्छ । १ हजार ६ सय १० किलो तौलको यो विद्युतीय कारमा राम्रो सस्पेन्सन प्रणाली जडान गरिएको कम्पनीले बताएको छ । टेस्लाका सीईओ इलोन मस्कले अगस्टसम्म १ सय, सेप्टेम्बरसम्म १ हजार ५ सय तथा डिसेम्बरसम्ममा २ हजार कार उत्पादन गर्ने लक्ष्य भएको बताएका छन् ।

एक पटकको पूरा चार्जमा करिब ३ सय ४६ किलोमिटरसम्म चल्ने भएकाले यसलाई विद्युतीय सवारी साधनको दुनियाँमा कोसेढुंगा मानिएको छ । यसलाई चार्ज गर्न अमेरिका र अन्य देशका राजमार्गमा चार्जिङ स्टेसनहरू राखिने छ । टेस्लाको यो कार तुलनात्मक रूपमा सस्तो पनि छ ।

 

बेम्पु रिस्टब्यान्ड

बालबालिकालाई जाडो भएको थाहा दिन बेम्पु नामक कम्पनीले एक प्रकारको रिस्टब्यान्डको विकास गरेको छ । यसको सहयोगले नवजात शिशुको शरीरको अवस्था थाहा पाउन सकिन्छ र आवश्यकताअनुसार न्यानोपन प्रदान गर्न सकिन्छ । 

फिजेट स्पिनर

हेर्दा सामान्य लागे पनि गत वर्ष बजारमा उपलब्ध फिजेट स्पिनर निकै चर्चामा रह्यो । दिमागलाई एकीकृत गर्न मात्र होइन, यसको सहयोगले विभिन्न रोगसमेत ठीक हुने बताइन्छ । यसको लोकप्रियताका कारण यसको मूल्य २० हजार डलरसम्म पुग्यो ।  

सुरक्षित फुटबल हेलमेट 

लामो समयसम्म अमेरिकन फुटबल खेलाडीहरूले कडा र प्लास्टिकको हेलमेट लगाउँदै आए । यही कुरालाई मनन गरी साम ब्राउडले युनिभर्सिटी अफ वासिङ्टनसँग मिलेर नयाँ आइडियाअनुसार हेलमेट निर्माण गरे । उनीहरूले भिसिस स्टार्टअप कम्पनीसँग मिलेर टाउकोमा ठोक्किए पनि फरक नपर्नेे खालको नयाँ हेलमेट डिजाइन गरे । यो हेलमेट हाल थुप्रै फुटबल खेलाडीले प्रयोग गरिरहेका छन् । 

मिचेलिन एयरलेस टायर

मिचेलिन र उबर मिलेर नयाँ एयरलेस टायरको विकास गरेका छन् । यसमा थ्रीडी प्रिन्टेड ट्रेडको प्रयोग गरिएको छ । यसमा भएका सेन्सरको सहयोगले ड्राइभरले टायरमा कुनै कमजोरी भए तत्कालै सबै कुरा थाहा पाउँछ । आगामी दिनमा यो टायरले राम्रो बजार लिने अनुमान गरिएको छ । 

प्रकाशित :पुस २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्