अपहरणमा परेका राम

- किशोर नेपाल

पुस २२, २०७४

 

 

साहित्यमा बडो उमंगमय थियो त्यो समय । अचम्मका अभिलाषाहरू पलाइरहेका थिए । देशमा विद्रोहका टुसा उम्रिन सुरु भएको थियो । समाजमा विसंगति थिए । मानिसमा मोह पनि थियो र वैराग्य पनि थियो । समयको त्यही खण्डमा देखिएकी थिइन्, कवि तथा कथाकार भुवन कोइराला । उनी गद्य र पद्य दुवै सुललित लेख्थिन् । कोइराला कवि तथा गद्यकारका रूपमा बिस्तारै स्थापित हुँदै थिइन् । समकालीन साहित्यका धुरन्धर व्यक्तित्वहरूमध्ये एक हुन उनलाई समय लागेन । उनी अमलेख वैचारिक समूहमा सक्रिय थिइन । सिउँडी साहित्यिक पत्रिकाको सम्पादक । 

राजनीतिज्ञ दमननाथ ढुंगानासँग २०२८ सालमा विवाह गरेपछि उनले लेखेको एउटा कविताको शिर्षक थियो— ‘युद्ध नाच’ । यो कवितामा कविको नाम लेखिएको थियो— ‘भुवन को. ढुंगाना’ । नाम कसो–कसो म्याचिङ थिएन । 

रमाइलो कुरा, विवाह गरेको केही समयसम्म भुवनको कोइराला थर अलमलमा पर्‍यो । भुवनले कोइराला र ढुंगाना दुवै थर छाड्न अलिकति आनाकानी गरिन् । घर र माइती— अहिलेको जस्तो दुवैतिरको थर लेख्ने चलन चलिसकेको थिएन उतिबेला । अन्त्यमा, सम्झौतामा एउटा थर सुझेको थियो : भुवन को. ढुंगाना । पछि ठहर भयो, यो नाममा चाहिने जति आकर्षण छैन । त्यसैले त्यसले स्थायित्व पनि पाएन । त्यसपछि त भुवनको मोह ढुंगाना थरमै बस्यो । अन्तत: उनले त्यही मोहलाई स्वाभाविक र सार्थक रोजिन् । यो उनको निजी विशेषता हो कि उनी सार्थक लेख्छिन् । सार्थक सोच्छिन् । सार्थक निर्णय गर्छिन् । उनको रोजाइ नै सार्थक हुन्छ ।

भुवन ढुंगानाको व्यक्तित्व जटिल छैन । उनले शान्ति निकेतनबाट नृत्य तथा वाङला भाषामा डिप्लोमा गरेकी छिन् । अंग्रेजी साहित्यमा एमए र कानुनमा स्नातक । अदालतको इजलासमा त भुवन ढुंगानालाई बहस गरेको कहिल्यै देखेको छैन, तर जीवनको इजलासमा ‘भूपा दिदी’ का जीवनका धेरै पक्ष नजिकबाट हेर्ने मौका पाइएको छ । उहाँको व्यक्तित्वसँग कमै मानिस मुग्ध नभइरहन सक्छन् । भुवन ढुंगाना आत्मसम्मान र आत्म चेतनाको प्रतीक हुन् । आफ्ना रचनाहरूमा उनी निर्जीव शब्द प्रयोग गर्दिनन् । शब्दमा जीवन भएन भने, जीवनमा संगीत भएन भने, संगीतमा लय भएन भने भुवनलाई लेख्न अप्ठेरो लाग्छ । 

‘युद्धको घोषणा गर्नुभन्दा अघि’ कथाहरूको यो संग्रहको सूक्ष्म अध्ययनकर्ताले कसरी मानिस टुक्रा–टुक्रामा विभाजित भएर पनि आफ्नो अस्तित्वलाई सुरक्षित राख्छ भन्ने कुरा बुझ्छ । भुवन ढुंगानाका रचनाहरू प्राय: छरिएका छन् । ती सबैलाई समेटेर कविता, कथा र निबन्धका छुट्टाछुट्टै संग्रह बनाउने हो भने त्यसबाट उनको रचनाधर्मिताका आयामहरू खुल्नेछन् । भुवनको साहित्य ती विषयमा बढी केन्द्रित छन्, जसमा उनको लगाव छ । जस्तो, सूर्य सुवेदीसँगको एउटा अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘जसले मेरो जीवनमा छाप पारेका छन्, म जोबाट आकर्षित भएकी छु अथवा जो मेरा लागि प्रेरणादायी छन्, जोबाट मैले केही सिकेकी छु र मैले उनीहरूबाट केही पाएकी छु, त्यस्ता व्यक्तिहरूका बारेमा मैले लेखेको छु ।” (रचना पूर्णांक १२६ भदौ–असोज २०७० ।)

भुवन रेखाहरूमा कथा कोर्ने लेखक हुन । तीन दशक पहिले देशान्तर साप्ताहिकमा प्रकाशित ‘काकाकुलको कथा नेपालीको व्यथा’ बाट प्रस्तुत गरिएका यी पंक्तिहरूमा उनको आलेखको वैशिष्ट्य झल्किन्छ, ‘...हाम्रा साधारण दिदी–बहिनीहरू माघ महिनामा स्वस्थानीको व्रत कथामा व्यस्त छन् । सतीदेवीको आत्मदाह गाउँघरमा कति दिदीबहिनीहरूले भोग्नुपरेको यथार्थ हो । उनीहरूका कथाहरू लेखिँदैनन्, कसैले सुन्दैनन् । कैलाश, लावण्यदेश सबै उनीहरूलाई रणभुल्ल पार्ने स्वप्नदेशहरू हुन्...।’ 

नियति

भुवन कोइराला

१. जति विस्तृत परिधि भए पनि 

आकाशमा बिस्कुन सुकाउनु हुन्न 

माटोमा बादल ओछ्याउने होइन 

रूखबाट उडेर जाने चराहरूलाई 

कतै ओर्लिनुपर्दछ माटोमा 

दाना टिप्न, 

ओथारो, ओसारो, आँगन, आहाल

सबै आ–आफ्ना नियति हुन् 

भत्काउनु हुँदैन गँुड कुमालकोटीको 

र शंखे कीरा गुडल्किएको गुँड पनि 

तासका घरहरूजस्तै वा 

नानीहरूले खेल्ने गरेको बालुवाघर

भत्किँदै, बिग्रँदै, भत्काउँदै र बिगार्दै 

निर्वासित हुन दिनु हुँदैन यो मनलाई 

मन छ र त छ कलेवर कविताको 

सर्वहारालाई पनि हुन्छ माया नाङ्गो शरीरको । 

२. नियतिले कोरेको लक्ष्मणरेखामा 

उभिएर आजकी सीता

भोगिरहेकी छिन् नियमित आकस्मिकता

वायुपंखी उडानमा उड्न नसकेको 

घाइते जटायुका प्वाँखहरू काट्न 

फेरि एकपटक रावण 

रथबाट ओर्लिएको छ 

मानिसहरू भूमिसीताको

आर्तनाद सुनिरहेछन् 

आश्चर्य ! यस पटक

 राम अपहरित भएका छन् । 

प्रकाशित :पुस २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्