मुटु रोग र यौनसम्पर्क

- डा. सुमनराज ताम्राकार

पुस २०, २०७४-

आधुनिक जीवनशैलीका कारण मुटुरोगको समस्या दिनानुदिन बढ्दैछ । यौनसम्पर्कका दौरान मुटुको धड्कन, मुटु जोड–जोडले खुम्चने तथा रक्तचाप बढ्ने भएकाले ह्दयाघातलगायतका समस्या भएकाहरूमा यौनकार्यले प्रतिकूल समस्या निम्त्याउन सक्छ । यौन कार्यले बढ्दो उमेरमा ह्दयाघात हुने जोखिम थोरै मात्राले मात्र बढ्छ । 

ह्दयाघात पूर्व आफ्नो शरीरको ख्याल नगर्ने, शारीरिक व्यायाम नगर्नेहरू ह्दयाघातपछि भने आज्ञाकारी बन्छन् । ह्दयाघातपछि यौन क्रियाले भन्दा भय–त्रासले प्रतिकूल असर निम्त्याउँछ । ह्दयाघात भएका व्यक्तिले कहिले यौनसम्पर्क गर्न मिल्छ भन्ने प्रष्ट निर्देशन नभए पनि करिब दुई महिनासम्म यौन कार्यबाट टाढै रहनु राम्रो मानिन्छ ।

ह्दयरोगीले खाना खानासाथ तथा तनावपूर्ण वातावरणमा यौनसम्पर्क राख्नु हुँदैन । ह्दयरोगीले यौन क्रियाका दौरान छाती भारी हुने, दुख्ने, सास फुल्ने भए यौन क्रिया तत्काल बन्द गर्नुपर्छ । ह्दयाघातलगायतका मुटुका समस्याका लागि प्रयोग गरिने कतिपय औषधिले यौन उत्तेजनामा असर पुर्‍याउन सक्छ । ह्दयरोगीले कम शक्ति लाग्ने, छाती तथा मुटुलाई सीधै असर नपर्ने गरी कोल्टे वा पशुले जस्तै पछाडिबाट यौनसम्पर्क राख्नु श्रेयष्कर हुन्छ ।

ह्दयाघातपछि भने जीवन शैलीमा परिवर्तन ल्याउनुपर्छ । मुटुका लागि हानिकरक वस्तु परहेज गर्नुका साथै व्यायाम एवं तनावरहित वातावरणमा जोड दिनुपर्छ । उपचारमा संलग्न चिकित्सक तथा मुटु रोगी बीच यौन क्रियाकलापका सम्बन्धमा छलफल गर्नुपर्छ । यस क्रममा आवश्यक औषधि, उपयुक्त आसन, खानपान, असजिलोपनका सम्बन्धमा प्रस्ट हुनुपर्छ । 

मुटुरोगसँग उच्च रक्तचाप, मधुमेह तथा मोटोपनको सम्बन्ध हुने भएकाले ह्दयरोगीले उल्लेखित रोगका विरुद्ध प्रयोग गरिने औषधि तथा त्यसबाट यौन जीवनमा पर्न सक्ने जटिलताका सम्बन्धमा जानकारी राख्नुपर्छ । ह्दयरोगीले मुटुको चाल बढ्ने, मुटुलाई थप भार पर्ने खालका भियाग्राजस्ता यौनवद्र्धक औषधि खानु हुँदैन । आफ्नो यौनसाथी मुटुको रोगबाट ग्रसित छन् भने यौन सम्बन्ध स्थापित गर्न, यौनसाथीको स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुन नदिन सहयोग गर्नुपर्छ ।

सारांशमा ह्दयाघात भैसकेपछि वा अन्य खालका मुटुका रोगीले यौन कार्य स्थापित गर्नै नमिल्ने होइन, तर उपचारमा संलग्न यी सबै प्रसङ्ग माथि पर्याप्त छलफल हुनुपर्छ । चिकित्सककै निर्देशनमा औषधि सेवन, आसन छनौट तथा उत्पन्न हुन सक्ने जटिलताहरूका सम्बन्धमा छलफल गर्नुपर्छ । ह्दयाघात, मुटुको रोग तथा उच्च रक्तचापका लागि प्रयोग गरिने औषधिले यौन जीवनमा असर पार्न सक्छ, तसर्थ यौन क्रियाका क्रममा श्वासप्रश्वास, छाती एवं मुटुलाई सीधै असर नपर्ने किसिमका आसन अपनाउनुपर्छ ।

प्रकाशित :पुस २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्