शंकराचार्यमा नेपाली दावी

- अनिल श्रेष्ठ

पुस २०, २०७४

भारतका प्रमुख चार मठमध्ये एक ज्योतिर्मठको शंकराचार्यको प्रतिस्पर्धामा उत्कृष्ट चारमा पर्न सफल भएकी छिन्— मोरङको पथरी, शनिश्चरेकी ४२ वर्षीया अनन्त श्री विभुषि महामण्डलेश्वर स्वामी हेमानन्द गिरी । विश्वका २ सय जना उत्कृष्ट आध्यात्मिक गुरुहरूले मठको शंकराचार्य चयनको यो प्रक्रियामा भाग लिएका थिए, जसबाट ५८ जना प्रारम्भिक छनौटमा परे । उनीहरूबाटै यो उत्कृष्ट चारको चयन भएको हो । 

नेपालकी महामण्डलेश्वर स्वामी हेमानन्द त्यही उत्कृष्ठ ४ मा पर्न सफल भएकी हुन् । हेमानन्द १२ सय वर्षको इतिहासमा शंकराचार्य पदका लागि दाबी गर्ने पहिलो महिला हुन् । शंकराचार्यका लागि उत्कृष्ट चारको नाम घोषणा भएपछि पथरी, शनिश्चरेस्थित आफ्नै निवासमा साप्ताहिकसँग कुराकानी गर्दै गिरीले बाल्यकालदेखि नै अध्यात्मप्रतिको लगावकै कारण आफू यहाँसम्म आइपुगेको कुरा बताइन् । ‘मेरी हजुरआमा र आमा संन्यासी हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘आमा संन्यासी हुनुभएको पनि ३० औं वर्ष भयो । संन्यासीकै घरमा मेरो बाल्यकाल बित्यो ।’  

लामो समय आध्यात्मिक गतिविधिमा बिताएकी हेमाले भारत तथा नेपालका हरेक क्षेत्रका तीर्थको भ्रमण गरेकी छिन् । ‘भारतका धेरै तीर्थ त छँदै छ नेपाली बाबा तेजनाथ शर्माको नेतृत्वमा भएको पदयात्रामा मेचीदेखि महाकालीसम्मको यात्रा गरेकी छु,’ गिरीले भनिन्, ‘उक्त यात्राका क्रममा म सबैभन्दा कान्छी सदस्य थिएँ । महिलामा म र मेरी आमा मात्र उक्त पदयात्रामा सामेल थियौं ।’ 

लामो आध्यात्मिक यात्रा र तपकै कारण दुई वर्षअघि गिरीलाई उज्जैनमा महामण्डलेश्वरको पदवी दिइएको थियो । महामण्डलेश्वरको पदवीलाई लाखौं संन्यासीको सेनापतिका रूपमा लिन सकिने उल्लेख गर्दै गिरीले भनिन्, ‘यो आचार्य पद हो । गुरु पद हो । यसलाई लाखौं नागा संन्यासीको सेनापतिका रूपमा लिन सकिन्छ । अध्यात्म, वाकशक्ति, नेतृत्व विकास, संरक्षणको क्षमता, अध्यात्मलाई विस्तार गर्न सक्ने क्षमता एवं विभिन्न क्रियाकलापलाई हेरेर मूल्यांकन गरी उच्च समितिबाट यो पदवी प्रदान गरिन्छ ।’

हिन्दू धर्मको प्रचार–प्रसारका लागि प्रभावशाली मानिने शंकराचार्य पदको अन्तिम प्रतिस्पर्धामा रहेकी गिरीले अब एक महिनाभित्र यसको नतिजा आउने सम्भावना व्यक्त गरिन् । ‘यसको छलफल र छनौट प्रक्रिया अलिक लामो हुन्छ । त्यसो भएका कारण यसको अन्तिम नतिजा आउन एक महिनाजति लाग्न सक्छ,’ उनले भनिन् । शंकराचार्य छान्ने अधिकार भारत धर्म महामण्डललाई दिइएको छ । महामण्डलको तटस्थ समूहले शंकराचार्यको पदका लागि योग्य र क्षमतावान् व्यक्तिलाई ज्योतिर्मठको नयाँ नेतृत्वमा स्थापित गर्नेछ । 

को हुन् हेमानन्द ? 

अनन्त श्री विभूषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरीजी महाराजको जन्म २०३२ सालमा वीरगन्जमा भएको हो । उनको स्थायी घर भने मोरङको पथरी–शनिश्चरे नगरपालिका हो । बाल्यकालदेखि नै आध्यात्मिक क्षेत्रमा लागिपरेकी गिरीले मोरङको उर्लाबारी बहुमुखी क्याम्पसबाट आईए अध्ययन गरी भारतको हरिद्वारबाट ‘आचार्य’ गरेकी छिन् । आचार्य गुरु पद हो, जुन पद प्राप्त गर्ने उनी नेपालकै एक मात्र महिला हुन् । पूर्वी नेपालकै गौरीगन्जस्थित वैदिक सूर्य शिवालय पीठकी महामण्डलेश्वर अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरीजीको वास्तविक नाम हेमा ढुंगाना हो । 

के हो शंकराचार्य पद ? 

शंकराचार्य अद्वैत परम्पराको मठको मुखियाका लागि प्रयोग गरिने उपाधि हो । शंकराचार्य हिन्दू धर्मको सर्वोच्च धर्मगुरुको पद भएको विकिपेडियामा उल्लेख छ, जुन बौद्ध धर्ममा दलाई लामा, इसाई धर्मका पोपजस्तै उच्च पद हो । यो पदको परम्पराको थालनी आदि गुरु शंकराचार्यले गरेका थिए । यो उपाधि आदि शंकराचार्य जो एक हिन्दू दार्शनिक एवं धर्मगुरु थिए, साथै जसलाई हिन्दूत्वका महान प्रतिनिधिका रूपमा चिनिन्छ, उनकै नाममा छ । 

आदि शंकराचार्यलाई जगत्गुरुका रूपमा पनि सम्मान गरिन्छ, जुन सम्मान त्यसअघि भगवान् कृष्णलाई मात्र प्राप्त थियो । आदि शंकराचार्यले सनातन धर्मको प्रतिष्ठाका लागि भारतको चार क्षेत्रमा चार मठ स्थापित गर्नुका साथै ती मठमा चारवटा शंकराचार्य पद सिर्जना गरे अनि आफ्ना उत्कृष्ट शिष्यहरूलाई ती मठको प्रमुख बनाए । त्यतिबेलादेखि नै यी चार मठमा शंकराचार्य पदको परम्परा चल्दै आएको छ ।

मठको कथा

प्राचीन भारतीय सनातन परम्परा र हिन्दू धर्मको प्रचार–प्रसारमा आदि शंकराचार्यको महान योगदान छ । उनले भरतीय परम्परा र हिन्दू धर्मलाई सिंगो देशमा फैलाउन भारतका चार कुनामा चार शंकराचार्य मठ स्थापना गरेको बताइन्छ । इसापूर्वको आठौं शताब्दीमा स्थापना गरिएका यी चार मठको नेतृत्व अहिले पनि चारवटा शंकराचार्यले गर्ने व्यवस्था छ । ती शंकराचार्यले सनातन परम्पराको प्रचार–प्रसारको नेतृत्वसमेत गर्छन् । 

यी मठलाई गुरु–शिष्य परम्पराको केन्द्रका रूपमा समेत लिइन्छ । पूरै भारतमा सबै संन्यासी अलग–अलग मठसँग जोडिएका हुन्छन् । यी मठमा शिष्यहरूलाई संन्यासको दीक्षा दिइन्छ । संन्यास लिएर दीक्षित भएसँगै उनलाई एउटा विशेषण दिइन्छ, जसबाट यो थाहा हुन्छ कि यो संन्यासी कुन मठको हो र उसले वेदको कुन परम्परालाई निर्वाह गर्छ । सबै मठ अलग–अलग वेदका प्रचारक हुन् र यिनीहरूको एउटा महावाक्य हुन्छ । मठहरूलाई पीठ पनि भनिन्छ । चार मठका मठाधीशलाई शंकराचार्य भनिन्छ, र उनीहरूले आफ्नो जीवनका सबैभन्दा योग्य शिष्यलाई मठाधीश बनाउँछन् । 

चार मठ 

श्रृंगेरी मठ : यो मठ दक्षिण भारतको रामेश्वरममा छ । श्रृंगेरी मठको मातहतमा रही दीक्षा लिने संन्यासीको नाममा सरस्वती, भारती, पुरी विशेषण लगाइन्छ । 

गोवद्र्धन मठ : गोवद्र्धन मठ उडिसा राज्यको पुरीमा पर्छ । गोवद्र्धन मठबाट दीक्षा लिने संन्यासीको नाम पछाडि आरण्य विशेषण लगाइन्छ । 

शारदा मठ : शारदा (कालिका) मठ गुजरातको द्वारिकाधाममा अवस्थित छ । यसबाट दीक्षा लिने संन्यासीको नाममा तीर्थ र आश्रम विशेषण लगाइन्छ । 

ज्योर्तिमठ : ज्योर्तिमठ उत्तराखण्डको बद्रीनाथमा छ । ज्योर्तिमठबाट दीक्षा लिने संन्यासीको नामका पछाडि गिरि, पर्वत र सागर विशेषण जोडिन्छ ।

प्रकाशित :पुस २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्