अहिले हामीले मणि हराएका छौं

- साप्ताहिक संवाददाता

पुस १९, २०७४- 

उत्तराखण्डको ज्योति पीठको १२ सय वर्षको इतिहासमा शंकराचार्यको प्रतिस्पर्धामा पहिलो पटक कुनै महिला अन्तिम चारमा पर्न सफल भएकी छिन्, त्यो पनि नेपाली नागरिक माता साधु हेमानन्द गिरी । हेमा हिन्दू धर्मको सर्वोच्च गुरुको पद शंकराचार्यका लागि दाबी गर्ने पहिलो महिला मात्र होइनन्, पीठको नेतृत्व दाबी गर्ने पहिलो विदेशी नागरिकसमेत हुन् । 

उत्तराखण्डमा रहेको मठको नेतृत्वका लागि २ सय जनाले आवेदन दिएका थिए । २० डिसेम्बर २०१७ मा बसेको भारत धर्म महामण्डलको बैठकबाट हेमानन्दसहित चार जना अन्तिम छनौटमा परेका हुन्, जसमा हेमानन्दका अतिरिक्त लुधियानाका आचार्य देवव्रत, राजस्थानका त्रयमवक्रेश्वर चैतन्य तथा वाराणसीका दिव्या चैतन्य छन् । प्रतिस्पर्धीहरूको क्षमता एवं चारै पीठका संस्थापक आदि शंकराचार्यले शंकराचार्य चयनका लागि बनाएको गाइडलाइनका आधारमा यसको अन्तिम निर्णय काशी विद्वत् परिषद्ले लिनेछ । 

भारतमा शक्तिशाली मानिने चारवटा शक्तिपीठमध्ये काशीको ज्योति पीठको नेतृत्व दाबी गर्ने ४२ वर्षीया हेमानन्द मोरङको महेन्द्र राजमार्गमा पर्ने विकासोन्मुख सहर पथरीकी स्थायी बासिन्दा हुन् । गौरीगन्जस्थित वैदिक सूर्य शिवालय पीठकी महामण्डलेश्वर अनन्त विभूषित साध्वी हेमानन्दलाई दुई वर्षअघि मात्र उज्जैनमा महामण्डलेश्वर पदवी प्रदान गरिएको थियो । 

हेमानन्दले शंकराचार्यजस्तो प्रभावशाली पदमा दाबी गर्दै दिएको आवेदन भारत धर्ममण्डलका मुख्य सचिव प्यारेसिंहलगायतको चयनमण्डलले स्वीकार मात्र गरेन, दुई सयबाट छनौट गरिएका चार जनाभित्र उनलाई समेट्यो । हेमानन्द माता स्वर्गद्वारी आश्रम, अयोध्यासँग पनि आबद्ध रहेको भारतीय मिडियाहरूले जनाएका छन् । 

हेमानन्दले लामो समय हिमालयको गुफामा तपस्या गरेर ज्ञान आर्जन गरेको बताइएको छ । ‘ज्योतिपीठ हिमवत् र हिमालयको मठ हो, हामी नेपालीहरू हिमालयभित्र पर्छौं, सगरमाथाभित्र पर्छौं र यो मठमा हाम्रो पनि अधिकार छ । हामीले पनि यो मठको शंकराचार्य हुन पाउनुपर्छ,’ उनले एक अनलाइनसँग भनेकी छिन्, ‘नेपालले शंकराचार्य पदमा प्रतिनिधित्व गर्न पाउनुपर्छ भन्ने दावा हो हाम्रो ।’ 

भारत धर्म महामण्डलका प्रमुख सचिव प्यारे सिंहलाई उद्धृत गर्दै दि टेलिग्राफ इन्डियाले लेखेको छ, ‘शंकराचार्य महिला पनि हुन सक्छन् र हेमानन्द नयाँ शंकराचार्यको प्रतिस्पर्धामा सबैभन्दा सशक्त देखिन्छिन् ।’ अहिले ज्योतिर्मठको शंकराचार्य स्वामी स्वरूपानन्द हुन् । गुजरातको द्वारिकाधामस्थित शारदा मठको शंकराचार्य पनि उनी नै छन् । ‘हेमानन्द महामण्डलेश्वर (विभिन्न अखडा परिचालन गर्ने वरिष्ठ साधु) तथा नेपालको झापा जिल्लामा अवस्थित गौरीगञ्जको वैदिक सूर्य शिवाने मठको प्रमुख हुन् । हेमानन्दले हिमालमा रहेका गुफाहरूमा तपस्या गरेकी छन् भने उनी वैदिक र वेदान्त विद्धान पनि हुन्,’ सिंहले भनेका छन् ।  

 

के कारणले आध्यात्मिक क्षेत्र रोज्नुभयो ? 

अध्यात्म भनेको अवसर होइन । अध्यात्म भनेको मानिसको स्वभाव, लक्षण र गुण हो, सत्यको बोध र प्रकृतिको स्वभाव हो । जीव, जगत् र प्रकृतिको स्वभावलाई आध्यात्म भनिन्छ । मैले आफ्नो वास्तविक स्वभावलाई धारण गरेकी हुँ । अवसरको खोजी होइन यो । 

के कारणले तपाईंलाई नै महामण्डेश्वर पदवी दिइएको हो ?

मैले नेपालको आध्यात्मिक क्षेत्रमा प्रशस्त काम गरेकी छु । पतञ्जली योग समितिको महिला राष्ट्रिय अध्यक्षका हिसाबले मैले १२ वर्ष काम गरें । देशको प्रत्येक जिल्ला र कुनामा गएर योग तथा आयुर्वेदको प्रचार गरें । मैले अनेक किसिमका बिरामीहरूको सेवा गरेकी छु । म आध्यात्मिक क्षेत्रमा भजन गायक पनि हुँ । म प्रवचनकर्ता र कथा वाचक पनि हुँ । मेरो पृष्ठभूमि पनि आध्यात्मिक नै छ । यी सबैलाई मूल्यांकन गरेर हुनसक्छ मलाई यो पद दिइएको । नेपालमा साधुसन्तहरूको धेरै लामो परम्परा छ, तर उहाँहरूलाई अहिलेसम्म महामण्डेश्वर पदवी दिइएको थिएन । यो उपाधि सम्पूर्ण मातृशक्तिको सम्मान स्वरूप वा राष्ट्रको सम्मानस्वरूप पनि प्रदान गरिएको हुनसक्छ । मेरो व्यक्तिगत स्वभाव, क्रियाकलाप तथा आचरण हेरेर पनि हुनसक्छ ।

 

अहिले ज्योर्तिमठको शंकराचार्यका लागि उत्कृष्ट चारमा पर्नुभएको छ, कस्तो लागिरहेको छ ?

२ सय जना ठूला–ठूला आध्यात्मिक व्यक्तित्वहरूले आवेदन दिएको ठाउँमा ५८ जना छनौट भए । त्यसबाट पनि छनौट भै म उत्कृष्ट चारमा परेकी छु । त्यसमा म एक जना मात्र महिला हुँ  । त्यो पनि नेपालबाट । जगत्गुरु शंकराचार्यको इतिहासमै पहिलो महिला जगत्गुरु बन्ने क्रममा उत्कृष्ट चारमा पर्दा निकै खुसी लागेको छ । चाहे जसरी छनौट गरे पनि यो छनौटबाट देशलाई नै छनौट गरिएको हो भन्ने हिसाबले लिएकी छु ।

१२ सय वर्षको इतिहासमा पहिलो पटक महिला शंकराचार्यको दाबीमा हुनुहुन्छ ? कत्तिको चुनौती छ ?

चुनौतीहरू त धेरै थिए । किन पनि चुनौती थियो भने यसमा यस्ता धर्मगुरुहरूले भाग लिनुभएको थियो, जसले आफ्नो पूरै जीवन यो क्षेत्रमा लगाउनुभएको छ । आध्यात्मिक क्षेत्रमा ठूला–ठूला काम गरेर केश फुलाइसकेकाहरू प्रतिस्पर्धामा हुनुहुन्थ्यो । मसँगको प्रतिस्पर्धामा ८०/८५ वर्षका वृद्ध संन्यासीहरूसमेत हुनुहुन्थ्यो । मेरा लागि आदरणीय सम्मानित व्यक्तिहरूसँग मेरो प्रतिस्पर्धा थियो । त्यस कारण पनि मेरा लागि यो स्थानसम्म आउन धेरै चुनौती थियो ।

 

शंकराचार्यका रूपमा ज्योर्तिमठको नेतृत्व प्राप्त गर्ने सम्भावना कत्तिको छ ?

म जहिले पनि सकारात्मक सोच राखेर अघि बढ्ने मान्छे हुँ । मेरो जिन्दगीमा जे घट्छ, समय–परिस्थितिले जे भोगाउँछ त्यही भोग्छु । यी सबै कुरालाई जहिले पनि सकारात्मक रूपमा लिने भएकाले मलाई लाग्छ, यति ठूलो छनौटमा यति धेरै सन्तगुरु, महात्मा, पुजनीय गुरुहरूको बीचमा उत्कृष्ट चारमा छनौट हुनु पनि विजयी हुनु हो । भोलिको कुरा गर्भमा छ । भोलिका दिनमा शंकराचार्यको पदमा आसीन हुन पाएँ भने सम्पूर्ण मातृशक्तिका लागि गर्वको विषय हुनेछ र त्यसले नयाँ इतिहासको सुरुवात गर्नेछ ।

किन शंकराचार्य पदका लागि दाबी गर्नुभएको ?

दावी गर्ने हौसियत नै हाम्रो लेभलबाट हो । शंकरचार्य को हुन्छ त भन्दा महामण्डलेश्वरबाट आचार्य अनि शंकराचार्य हुन्छ । मेरो प्रोसेस सही छ । म महामण्डलेश्वर हुँ । म त्यसपछि आचार्य महामण्डलेश्वर र त्यसपछि शंकराचार्य हुने ठाउँमा छु । मेलै शंकराचार्य मै किन पनि दाबी गरेकी हुँ भने इतिहासको यति लामो कालखण्डमा कुनै पनि महिला शंकाराचार्य भएका छैनन् । शंकराचार्यका मर्यादाका विभिन्न किताब छन्, जहाँ कहीं पनि महिला शंकारचार्य हुनु हँुदैन भनेर लेखिएको छैन । शंकराचार्यले नै स्वयम महिला शंकराचार्य हुनु हुँदैन भन्नुभएको छैन भने हामी किन नहुने ? आध्यात्मिक क्षेत्रमा मातृशक्तिले यत्रो योगदान दिएको छ भने त्यो उच्च पदमा महिला किन बस्न नहुने ? तर अष्टिताका साथ होइन, विनम्रताका साथ मैले शंकराचार्यको पदमा दाबा गरेकी हुँ ।

 

शंकराचार्य हुनुभयो भने के गर्ने योजना बनाउनुभएको छ ?

शंकराचार्य सम्पूर्ण सनातन परम्पराको रक्षक भएकाले मठ–मन्दिर, आश्रम तथा सामाजिक कामहरू गर्नुपर्छ । युवाहरूको क्षेत्रमा, महिला तथा अनाथ बालबालिकाहरूको क्षेत्रदेखि अन्य सम्पूर्ण क्षेत्रमा काम गर्नेछु जहाँ सहयोगको आवश्यकता छ, सुधारको आवश्यकता छ । मेरो योगदानले समाजमा महत्वपूर्ण भूमिका खेल्छ भने म त्यस्ता भूमिकाहरू निर्वाह गर्न चाहन्छु ।

शंकराचार्यको काम, कर्तव्य र अधिकारका सम्बन्धमा केही बताइदिनुस् न ?

महत्वपूर्ण आध्यात्मिक निर्णयहरू दिनेदेखि मठमन्दिर, अखडाहरूमा वादविवाद भए, त्यसको समाधान गर्नेसम्म हो । शंकराचार्यको पदले एउटा अभिभावकको भूमिका निर्वाह गर्छ । यो सर्वोच्च पद भएकाले अन्तिम निर्णय शंकराचार्यको हातमा हुन्छ ।

तपाईंलाई कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काशीदेखि पशुपतिसम्मको हिन्दू सर्किट निर्माणको कोरियोग्राफर पनि भन्ने गरेका छन्, वास्तविकता के हो ?

कुरा के हो भने काशी र पशुपतिनाथको महत्वपूर्ण सम्बन्ध छ । काशीको पुजारी नेपाली हुन्छन् । नेपालीहरूले थाहा पाउनु जरुरी छ– बनारसस्थित विश्वनाथ बावाको मूल पुजारी नेपाली हुनुहुन्छ । त्यहाँ नेपाली नै पुजारी हुनुपर्छ । यता पशुपतिनाथको मूल भट्ट भारतीय पुजारी हुनुुहुन्छ । यो एउटा भाइचाराको सम्बन्ध पनि हो । सीता माता र राम भगवान्को अटुट सम्बन्ध आध्यात्मिक छ । म त्यो सम्बन्धलाई जोड्ने र अझ वृद्धि गर्ने भूमिका निर्वाह गर्न लागि पर्नेछु । नेपालको आध्यात्मिक क्षेत्रको उत्थान र विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।

 

यसका लागि भारतीय प्रधानमन्त्रीसँग भेटेर केही कुराकानी गर्नुभएको छ कि ?

हामीले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा थुप्रै योजना बनाएका छौं, जसले नेपाललाई सपोर्ट गर्न सकोस् । पहिलो मुख्य कुरा भनेको शंकराचार्यको निर्णय हो । प्रत्यक्ष रूपमा चाहिँ मैले भारतीय प्रधानमन्त्रीलाई भेटेकी छैन ।

तपाईं शंकराचार्य बन्नुभए नेपाल र नेपालीलाई त्यसले के फाइदा पुर्‍याउँछ ?

शंकराचार्य भएपछि नेपाललाई मात्र होइन, विश्वको आध्यात्मिक क्षेत्रलाई नै सहयोग पुर्‍याउनुपर्छ । त्यसमा नेपाल पनि आउने नै भयो । म नेपाली भएकाले स्वभावत: बढी सहयोग पुर्‍याउन सकिन्छ ।

नेपालजस्तो हिन्दू बाहुल्य देशबाट त्यत्रो ठूलो पदमा दाबी गरिरहनुभएको छ, किन ?

हाम्रो देशमा विश्वको एउटा मात्र ताज थियो । एउटा मात्र श्रीपेच थियो । विश्वमा थुप्रै यहुदी देश छन् । मुस्लिम र क्रिस्चियनका देश पनि धेरै छन् । त्यसमध्ये एउटा मात्र हिन्दू राष्ट्र नेपाल थियो । विश्वका लागि हाम्रो देश ताज र श्रीपेच थियो, साथै शान र गौरव पनि थियो । सगरमाथा हाम्रो देशका लागि गौरव हो नि † त्यस्तै थियो हिन्दू राष्ट्रको गौरव पनि । अहिले हामीले मणि हराएका छौं । अब त्यो पुन: प्राप्त गर्नुपर्छ ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?

यो देशका सम्पूर्ण जाति, वर्ग, समूह, धर्म हामी सबै एक हौं । हामीले यहाँ सौहार्दपूर्ण वातावरणमा बाँच्न पाएका छौं । यो ऋषिमुनिको देश हो । यो देशमा बुद्ध भगवान् र सीता माताको जन्म भयो । यस्तो तपोभूमि विश्वभर तपोभूमिकै रूपमा परिचित होस् । हामी सबैको मनमा सत्यको भावना जागोस् ।

प्रकाशित :पुस १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्