हरियो ढुंगा— हीराजस्तो कथा

- किशोर नेपाल

पुस १९, २०७४

कथा उपेन्द्र सुब्बाको । कथाको नाट्य रूपान्तरण, परिकल्पना र निर्देशन सुनिल पोखरेलको । यति भनिसकेपछि भन्न बाँकी अरू केही रहँदैन । सुनिल यस्तो कलाकार तथा निर्देशक हो, जसले कहिल्यै समाज सुधार र मानवीय चेतनाको विस्तारलाई व्यवसायिक मिसन बनाएर काम गरेन । किनभने ऊ नाटकका माध्यमबाट जुन काम गरिरहेको छ, त्यो आफैंमा मिसन हो मानवताको, अधिकारको र सामाजिक चेतनाको ।

 सुनिलका नाटकमा कलात्मक र बौद्धिक तत्त्वको समन्वय हुन्छ । सुनिल कुनै पनि राजनीतिक वाद र प्रतिवादको प्रचारक हुन सक्दैन, तर ऊ परिवर्तनलाई यथावत् स्वीकार नगरी तटस्थ बस्न पनि सक्दैन । ऊ कलाकार हो । निर्देशक हो । कथालाई समयको मागअनुसार सोझो र बांगो हिसाबमा व्यंग्यात्मक पारामा प्रस्तुत गर्ने गजबको गुण छ उसमा । रंगमञ्चमा एकसाथ उभिएका थुप्रै कलाकारसँग क्रियात्मक सम्बन्ध राख्ने खुबी छ निर्देशक सुनिल पोखरेलमा । आत्मविश्वास पनि, कहिलेकहीं त यति धेरै देखिन्छ, हरेक आँखामा उसको चमक हुन्छ ।

हो, चर्चामा हरियो ढुंगा छ । उपेन्द्रले यो कथा लेखेका होइनन् । सुनेका हुन । हरियो ढुंगाको कथा बेलडांगी शिविरमा रहेका भाइबहिनीहरूले सुनाएका हुन् उपेन्द्रलाई । त्यही सुनेको कथा रतुवा खोलाको किनारामा गिट्टी कुटेर जीवन निर्वाह गरिरहेका भुटानी शरणार्थीमाथि कथाकार उपेन्द्र सुब्बाको विशिष्ट कथ्य बन्यो । रतुवा खोलाको किनारमा गिट्टी कुट्ने शरणार्थी यस्ता पनि छन् जो नेपालमा जन्मिएर पनि भुटानी शरणार्थीकै गिन्तीमा पर्छन् । भुटानी शरणार्थीको जोडीले शरणार्थी शिविरमा जन्माएको शिशुको जात, नागरिकता, राष्ट्रियता के हुन्छ ? कसैले भन्न सक्दैन । झापाका विभिन्न स्थानमा स्थापित प्राय: सबै शरणार्थी शिविर उठिसकेका छन् । केही मात्र बाँकी छन् । 

भुटानी राजा र त्यहाँका नीति–निर्माताहरूलाई के लागेछ भने भुटानमा बसोबास गर्दै आएका रैथाने नेपालीलाई भुटानबाट ननिकाल्ने हो भने भुटानको भाषा, संस्कृति, शिक्षा, इतिहास, पोसाक, खानपान, बसाइजस्ता कुराको मौलिकता रहनेछैन । सम्पन्न नेपाली भाषा र संस्कृतिले भुटानी मौलिकतालाई बेमाख पार्नेछ । त्यसपछि भुटानी संस्कृतिको सुरक्षा गर्ने नाममा भुटानबाट लाखौं नेपाली निकालिए । भुटान र नेपालका बीच लामो द्वन्द्व चल्यो । भुटानले देश बाहिरिएका आफ्नै नागरिकलाई फिर्ता लिन मानेन । समस्या तन्किँदै गयो । एकपटक त यस्तो समय पनि आयो जब सार्क सम्मेलनमा सहभागी हुन बंगलादेश गएका नेपालका प्रधानमन्त्रीले भुटानलाइ सवक सिकाउने चेतावनी दिनुपर्‍यो । 

नेपालका प्रधानमन्त्रीको उक्त चेतावनीले समेत कुनै काम गरेन । अन्तत: अमेरिकालगायत विश्वका सम्पन्न राष्ट्रहरूले भुटानबाट निकालिएका लाखौं नेपालीलाई युरोप, अमेरिका र अस्ट्रेलिया लाने व्यवस्था गरे । उनीहरूले भुटानमाथि अलिकति दबाब दिएका भए ती नेपाली भुटान फर्कन पाउँथे, तर शक्ति राष्ट्रहरू भुटानको संस्कार र संस्कृतिको जगेर्ना गर्न चाहन्थे । शदियौंदेखि भुटानको धर्तीसँग जोडिएका नेपाली मूलका भुटानी नागरिकप्रति पश्चिमी राष्ट्रहरूको संवेदना यत्तिमै सीमित रह्यो ।

यो नाटक गुरुकुल वा आरोहणको नाममा बनेको होइन । नेपाली नाटक जगत्मा यी दुवै नाम सुनिल पोखरेलको नामको पर्याय बनिसकेका छन् । यो नाटक सुनिलकै ‘डिस्कभरी’ ज्ञ समूहले बनाएको हो । ज्ञ अर्थात् डिस्कभर योर सेल्फ । आफैंलाई खोज । सुनिलसँग नाट्य कलाको ज्ञान प्राप्तिका लागि आएका प्रशिक्षार्थीहरूको पहिलो समूहले शेक्सपियरको ‘अ मिड समर सपना’ र दोस्रो समूहले इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ प्रस्तुत गरेको थियो । अहिले तेस्रो समूहले ‘हरियो ढुंगा’ मन्चन गरेको छ ।

थुप्रै छन् यो नाटकमा पात्रहरू : विपिन कार्की, सुनीशा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खडका, राज न्यौपाने, अर्जुन शिवाकोटी, दीपेन्द्र शाही, सुरज तमु, कुसुम गुरुङ सुमित तामाङ, प्रभात बास्कोटा, अर्जुन थापा, कृतिका भट्टराई, रूपेश लामा, सौभाग्य सिंह, दर्शन श्रेष्ठ, नवीनचन्द्र अर्याल, बालकृष्ण खत्री, सब्बु गुरुङ, शुभ आचार्य, शिशिर थापा, राजीव जोशी र महेशमान श्रेष्ठ । यी कलाकारमध्ये आधाले मात्र नाट्य कलाकारका रूपमा आफूलाई निरन्तरता दिए भने नेपाली रंगमञ्चका लागि यो ठूलो उपलव्धि हुनेछ ।

हरियो ढुंगामा कलाकारहरूले परिहास, संवेग, वेदना, कष्ट र सम्बन्धलाई मधुर शैलीमा अभिव्यक्त गरेका छन् । सारांशमा नाटक राम्रो मात्र होइन, बलियो छ । कलाकारहरूको मेहनत चम्किएको छ हरियो ढुंगाजस्तै ।

प्रकाशित :पुस १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्