फुर्सद छैन

- सुविन भट्टराई

पुस १८, २०७४-

जिन्दगी आफ्नै हो । समय पनि आफ्नै । स्वतन्त्रता त झनै आफ्नो । तैपनि हामी पटक–पटक, कैयौँ पटक अरूलाई त कैयौँ पटक आफैँलाई भनिरहेका हुन्छौँ, ‘फुर्सद छैन ।’

कुनै बेला फुर्सद होइन, इच्छा भैरहेको हुँदैन । कुनै बेला प्राथमिकताको सूचीमा अरू नै काम थुप्रिएकाले फुर्सद होइन, प्राथमिकतामा हुँदैन । कुनै बेला हामी यस्तो डोरीले बाँधिएका हुन्छौँ जसको लगाम अरू कसैको हातमा हुन्छ अनि हामी बाध्य भएर भनिरहेका हुन्छौँ, फुर्सद छैन । कुनै बेला त आफैँले आफैँलाई महान् देखाउन पनि हामी ‘फुर्सद छैन’ भनिरहेका हुन्छौं । 

फुर्सद के कामका लागि, अनि कसका लागि भनेर पनि तय हुन्छ । आफूलाई मन पर्ने मानिस अनि फाइदा हुने कामका लागि हामीसँग फुर्सदै फुर्सद हुन्छ । आफूलाई मन नपर्ने मानिस अनि फाइदा नहुने कामका लागि हामी व्यस्तै व्यस्त । 

कैयौँपटक त हामी आफ्नै लागि पनि बेफुर्सदी भैदिन्छौँ र पो ! हामीभित्रको अर्को मानिसले कैयौँ कुराको रहर गरेको हुन्छ । हामी ती रहरलाई यसरी कुल्चन्छौँ, मानौँ आफ्नो नभएर अरू कसैको रहर हो त्यो । हामीभित्रको अर्को मानिसले हामी हिँडिरहेको बाटो मन पराइरहेको हुँदैन, तैपनि हामी अटेर गरेर हिँडिरहन्छौँ र पो ! हामीभित्रको मानिस तिर्खाइरहेको हुँदा, उसको आँत हामी निरन्तर सुकाइरहन्छौँ र पो !

हामीभित्रको अर्को मानिसले कहिलेकाहीं आफैँसित समय मागिरहेको हुन्छ । व्यस्तताले गर्दा मानिस आफैँसित समय बिताउन नभ्याउने भएको छ । आफैँबाट आफैँ टाढा हुन थालेको छ । आफैँलाई नचिन्ने हुन थालेको छ । आफैँलाई नबुझ्ने हुन थालेको छ । न आफैँसँग प्रश्न गर्न सक्ने भएको छ, न आफैँलाई जवाफ दिने हैसियत ऊसँग छ । ऊ आफैँलाई धोका दिइरहेको पनि थाहा पाउन नसक्ने हुन थालेको छ । ऊ आफैँबाट धोका पाइरहेको पनि नबुझ्ने भएको छ ।   

एउटा औसत मानिसको दिन अफिसको टेबल, फाइल, फोन कल, मिटिङ तथा हाकिमलाई रिझाउनुपर्ने बाध्यतामा बित्छ । त्यही अफिसको झ्यालबाट बाहिरको सडकमा नीलै फुलेको ज्याकाराण्डा कति सुन्दर देखिएको छ, थाहै हुँदैन । पाँच मिनेट आफैँलाई समय दिएर  त्यो सुन्दरता हेर्ने फुर्सद हामीलाई कहाँ ! दस मिनेट कुनै पार्कमा बसी त्यहाँ आफ्नै दुनियाँमा मस्तसित खेल्ने केटाकेटीहरूको खुसी देखेर खुसी हुने फुर्सद हामीसँग कहाँ ? व्यस्तताको खाल्डोमा अस्तव्यस्त बोझले पुरिएर बित्न आँटेको जीवनलाई एक पटक पाँच घण्टा उकालो चढेर हेर्दा त्यही खाल्डो कति सुन्दर देखिन्छ भनी हेर्ने फुर्सद हामीसित कहाँ ? घरबाट बाहिर निस्कँदा हामी बादलको आकार हेर्न भ्याउँदैनौँ । राति सुत्नुअघि कुनै दिन जून–तारा हेर्ने फुर्सद निकाल्दैनौँ ।

हामी हरेक दिनका लागि एउटा कोठा बनाउँछौँ र ताल्चा ठोक्न लगाएर साँचो अरूकै हातमा सुम्पिन्छौँ । हामीलाई त सपना देख्नेसमेत फुर्सद छैन यहाँ । देशका बारेमा बुझ्न पत्रपत्रिका तथा टेलिभिजनको समाचार, चियागफमा बिताउने समय हामीसित छ । आफूलाई बुझ्ने समय हामीसित कहाँ ?

महिनामा एकपटक परिवारसित हलसम्म पुगेर सिनेमा हेर्ने फुर्सद हामीसित कहाँ ?जब कि आफैँभित्रको अर्को मानिसले कति इच्छा गरेको हुन्छ । दुई मिनेट लामो सास तानेर जीवन के हो ? भनी सोच्ने फुसर्दसम्म पनि हामीसित खोइ कहाँ ?

हाधधमी यति बेफुसर्दी भयौँ कि जाडोमा जाडो अनुभूत् गर्न छाडिसक्यौँ, गर्मीको घाम अनि घरी घरी चल्ने शीतल हावाको स्वाद बिर्सिने क्रममा गयौँ, बर्खे झरीको संगीतजस्तो लाग्ने आवाजले हामीलाई आनन्दित तुल्याउन छाडिसक्यो । हामीले खानाको मिठास भुल्न थाल्यौँ, आँसुको महत्व नबुझ्ने भयौँ, मुस्कानको अर्थ नचिन्ने भैसकेको छ, कसैका आँखाको भाव पढ्नै नजान्ने भैसक्यौँ अनि कसैको मन ? त्यो त हाम्रा लागि कालो अक्षर भैँसी बराबर नै भैसक्यो । हामी सबैथोक बिर्संदैछौं, किनभने हामीसित फुर्सद छैन । 

‘फुर्सद छैन ।’ वास्तवमै हामीसित सबथोक छ, तर सबथोक भएर पनि हामी कंगाल छौँ । किनभने हामीसित फुर्सद छैन । फुर्सद हामीसित आफ्नै लागि पनि छैन । जिन्दगीको खुसी स–साना चिजमा हुन्छ, तर तिनै स–साना चिजहरू देख्न, सुन्न, स्पर्श गर्न तथा महसुस गर्न नै हामीसित फुर्सद छैन । व्यस्त हुनु पक्कै पनि राम्रो कुरा हो, तर यति व्यस्त पनि नहुनुस् कि कुनै दिन आफू को हुँ भनेर आफैँलाई चिन्न पनि गाह्रो होस् ।

प्रकाशित :पुस १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्