सेलिब्रेटी सेलिब्रेसन

- साप्ताहिक संवाददाता

पुस १६, २०७४-

वर्ष–२०१८ को स्वागतमा देशका विभिन्न स्थानमा रमाइला कार्यक्रमहरू सञ्चालन भैरहेका छन् । सोमबार वर्ष–२०१८ को पहिलो दिन भए पनि रमाइलो गर्नेहरू शुक्रबारदेखि नै आ–आफ्नो गन्तव्यतर्फ लाग्ने तयारी गरिरहेका छन् । काठमाडौंलगायत देशका मुख्य सहरहरूमा सांस्कृतिक कार्यक्रम, डान्स पार्टी, कन्सर्टसहितका कार्यक्रमहरू भैरहेका छन् । नयाँ वर्षको स्वागतमा कलाकारहरू पनि उत्तिकै सक्रिय रहन्छन् । साप्ताहिकले केही कलाकारसँग उनीहरूको नयाँ वर्षको स्वागतसम्बन्धी तयारीका बारेमा जिज्ञासा राखेको थियो । 

अभिनेत्री प्रियंका कार्कीले क्रिसमस ईभ लन्डनमा मनाए पनि नयाँ वर्षको स्वागतका लागि आफू टर्कीको स्तानबुलमा हुने जनाएकी छिन् । ‘म झन्डै एक साता स्तानबुलमा रहनेछु, प्रियंकाले भनिन्–‘पहिलो पटक स्तानबुलबाट नयाँ वर्षको स्वागत गर्दर्ैछु ।’ प्रियंका चलचित्र लिलिबिलीको छायांकनका क्रममा हाल युरोपमा छिन् । 

गायक तथा संगीतकार राजनराज शिवाकोटी अचेल सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् । व्यस्तताकै बीच उनी भैरहवाको एउटा रिर्सोटमा सञ्चालन हुने भव्य कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गर्ने मुडमा छन् । ‘भैरहवाको कन्सर्टमा निकै रमाइलो हुने छाँट छ, शिवाकोटी भन्छन्–‘२०१७ को बिदाइ तथा २०१८ को स्वागत त्यहीँबाट गर्ने योजना छ ।’ 

हेयर स्टाइलिस्ट नीलडेभिड कटवालका लागि वर्ष–२०१८ विशेष हुने भएको छ । उनले वर्ष–२०१७ को अन्तिम दिनलाई विशेष शैलीमा बिदा गर्ने योजना बनाएका छन् । त्यसका लागि उनी भारतको सिलिगुडीमा नजिकका साथीभाइको जमघट गर्दैछन् । नयाँ वर्षको पहिलो दिनदेखि आफ्नो यात्रा नयाँ शैलीमा अघि बढ्ने नीलले उल्लेख गरेका छन् । 

निर्देशक विशाल भण्डारीका लागि वर्ष–२०१८ विशेष हुने भएको छ । सयौं म्युजिक भिडियो निर्देशन गरेका भण्डारी यो वर्ष चलचित्र निर्देशकका रूपमा उदाउँदैछन् । नयाँ वर्षको स्वागतका लागि साथीभाइहरूसँग जमघट गर्ने उनको योजना छ । 

मोडल तथा कोरियोग्राफर प्रज्वल शाक्यले भने आफ्नो परिवारका सदस्य तथा साथीभाइ भेला पारेर नयाँ वर्षलाई स्वागत गर्ने योजना बनाएका छन् । ‘वर्ष–२०१८ को पहिलो दिनदेखि आफूले अहिलेसम्म गरेका गल्तीहरू सुधार्ने प्रयास गर्नेछु, प्रज्वल भन्छन्–‘नयाँ सोचका साथ अघि बढ्ने वर्षका रूपमा यो वर्षलाई स्वागत गर्नेछु ।’ 

अभिनेता गौरव पहारी भने चलचित्रको छायांकन स्थलबाटै नयाँ वर्षलाई स्वागत गर्ने बताउँछन् । ‘चलचित्र मिस्टर भर्जिनको छायांकनका क्रममा हामी काठमाडौंमै छौं, पहारी भन्छन्– ‘चलचित्रको युनिटसँगै न्यू इयर इभ सेलिब्रेसन गर्ने योजना बन्दैछ ।’ 

गायक उदेश श्रेष्ठ सांगीतिक कार्यक्रममा सक्रिय हुँदै नयाँ वर्षलाई स्वागत गर्दैछन् । ‘सधैं जस्तै नयाँ वर्षमा कार्यक्रममै व्यस्त हुनेछु, गायक श्रेष्ठ भन्छन्–‘तै पनि वर्ष–२०१८ मेरा लागि विशेष रहनेछ । केही नयाँ संकल्प अनि केही नौलो शैलीका गीत–संगीत प्रस्तुत गर्ने तयारी पनि गरिरहेको छु ।’

अभिनेता गजित विष्टको नयाँ वर्षलाई स्वागत गर्ने शैली केही पृथक छ । उनी आफ्नो चलचित्र हैरानका गीत–संगीत सार्वजनिक गर्दै नयाँ वर्षलाई स्वागत गर्नेछन् । त्यसका साथै वर्ष–२०१८ को प्रारम्भमै उनले अभिनय, नृत्य तथा गायनको देशव्यापी प्रतियोगितासमेत सञ्चालन गर्ने योजना बनाएका छन् । 

अभिनेत्री जानुका पौडेलले भने नयाँ वर्षको स्वागतका लागि परिवारसंग घुमफिर गर्ने योजना बनाएकी छिन् । ‘आउने दिनहरू पनि खुसीसाथ बितोस् भन्ने कामना गर्दै नयाँ वर्षलाई स्वागत गर्नेछु, जानुका भन्छिन्–‘न्यू इयर इभको दिनलाई विशेष बनाउने योजना बन्दैछ, यद्यपि यही नै गर्ने भनेर निश्चित भैसकेको छैन ।’ 

अभिनेत्री जस्मिन श्रेष्ठ भने पञ्चेबाजा बजाउँदै नयाँ वर्ष २०१८ लाई स्वागत गर्ने बताउँछिन् । ‘मैले अभिनय गरेको चलचित्र पञ्चेबाजा नयाँ वर्षको थालनीसँगै प्रदर्शनमा आउँदैछ, जस्मिन भन्छिन्–‘त्यसकारण पनि मेरो यो वर्ष विशेष हुने अपेक्षा छ ।’ 

अभिनेता गणेश ईशारा नयाँ सोच तथा नयाँ योजना बनाउँदै वर्ष–२०१७ लाई वीदा गरेर २०१८ लाई स्वागत गर्दैछन् । अघिल्लो वर्ष अपूरा रहेका कामलाई यो वर्ष पूरा गर्ने योजना बनाउँदै नयाँ वर्षलाई स्वागत गर्ने इशाराको योजना छ । 

अभिनेता दीपकराज गिरीको विचार अलि पृथक् छ । दीपक भन्छन्– ‘नयाँ वर्ष भनेर यो अंग्रेजी न्यू इयरलाई हलुका पेय पदार्थ पिएर त मनाइन्छ तर प्लानिङचाहिं हाम्रै गोर्खे क्यालेन्डर हेरेर बनाइन्छ । दीपकराजका अनुसार नेपाली क्यालेन्डर अनुसार २०१८ हाम्रो विक्रम सम्वतको २०७५ साल, पुससम्म चल्छ, त्यो समयभित्र चैतमा शत्रुगते तथा दसैंलाई लक्षित गर्दै चलचित्र छक्कापञ्जाको श्रृंखला लिएर आउने योजना छ ।

हास्य कलाकार ढकाल चिरिच्याङ अंग्रेजी नयाँ वर्षलाई अंग्रेजी पारामै स्वागत गर्ने तयारी गर्दैछन् । अरुको प्रगति देखेर रातभरी निद्रा नपर्ने बानी भएका व्यक्तिहरूको वर्षैभरिको निद्रा हराम गर्ने ग्राण्ड डिजाइन नयाँ वर्षकै अवसर पारेर तयार गर्ने उनको योजना छ ।

चलचित्रकर्मी मौनता श्रेष्ठ भने नयाँ वर्षको पहिलो महिनाको तेस्रो साता अर्थात जनवरी १८ मा प्रदर्शन हुने चलचित्र पिँजडा ब्याक अगेनका कलाकार तथा प्राविधिकहरूसँग जमघट गर्दै नयाँ वर्षलाई स्वागत गर्ने तयारीमा छन् । 

यता अभिनेत्री पवित्रा आचार्य नयाँ वर्षको स्वागत गर्न पोखरा पुग्दैछिन् । नयाँ वर्षको पहिलो दिनको सूर्योदय कास्कीको सराङकोटबाट हेर्ने लामो समयदेखिको योजना उनी यसै पटकको नयाँ वर्षमा पूरा गर्दैछिन् ।

 

प्रकाशित :पुस १६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्