टोपी जोगाउन अभियान

- साप्ताहिक संवाददाता

पुस १५, २०७४-

नेपाली टोपीलाई राष्ट्रिय पोसाकको सूचीमा राख्नुपर्ने माग बढ्दै गएको छ । नेपालीको पहिचान गराउने टोपी संरक्षण एवं संवद्र्धनका लागि भन्दै जनवरी १ (पुस १७ गते) पाँचौं टोपी दिवस मनाइँदै छ । ‘नेपाली टोपी, नेपालको पहिचान’ नारा दिएर यसपटक दिवस मनाउन लागिएको नेपाली टोपी प्रर्वद्धन अधियानका अभियन्ता रामजी बलामीले बताए । 

सबै मुलुकको आ–आफ्नो मौलिक पहिचान हुने र त्यो पहिचानको मुख्य आधार मानिने पोसाकलाई अधिकांश मुलुकले आफ्नो पहिचानका रूपमा सूचीकृत गर्दै आएको कुरा बताउँदै बलामी भन्छन्– हाम्रो देशमा पहिचान झल्काउन टोपी नै सहज हुने भएका कारण यो दिवस मनाएर सरकारलाई दबाब दिनुपरेको हो । ०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारले दौरा–सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोसाकको सूचीबाट हटाएको थियो । देश पहिचानविहीन भएपछि पुन: यसको पहिचान स्थापना र संरक्षण गर्न पाँच वर्षपहिले युवाहरूले यो जागरूक युवा अभियान सुरु गरेका हुन् । 

नेपालमा प्रचलित टोपी

देश–विदेशमा तेह्रथुमे ढाकाटोपी, कालो भादगाउँले टोपी तथा पाल्पाली टोपी चर्चित छन् । तेर्‍हथुमको ढाकाटोपी भारत, बेलायत, अमेरिका आदि मुलुकमा बसोबास गर्ने भूतपूर्व सैनिक समुदायमा विशेष लोकप्रिय छ । त्यसका साथै हङकङ, सिंगापुर तथा ब्रुनाईमा पनि तेर्‍हथुमे टोपी खपत हुने गरेको छ । 

लामो इतिहास बोकेको भादगाउँले टोपी अहिले पनि उत्तिकै चर्चित छ । पश्चिम नेपालमा बढी बजार पाएको पाल्पाली ढाकाटोपीले हो । त्यसबाहेक मुलुकका अन्य सहरमा पनि ढाकाको कपडा मगाएर टोपी तयार गर्ने व्यवसाय फस्टाएको पाइन्छ । 

टोपीको विकास कसरी भयो ?

संस्कृतिविद् प्रा.डा. वीणा पौडेलका अनुसार योगशास्त्रले शरीरका सबै अंगलाई उत्तिकै महत्व दिएको छ । त्यसमा पनि शिरको सबैभन्दा ठूलो महत्व रहेको उनको भनाइ छ । ‘शिरको मध्यभागलाई मानव शरीरको केन्द्र मानिएको छ,’ पौडेल भन्छिन्, ‘त्यसैले आदिम कालदेखि नै यसलाई विशेष सुरक्षा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।’ त्यही सुरक्षाका लागि आर्य समुदायमा केश खौरिएपछि शिरको सुरक्षाका लागि कपडाले बेर्ने चलन चलेको हो र पछि त्यही कपडालाई विशेष आकार दिइयो, जसलाई हामी टोपी भन्छौं । 

‘चिसोबाट जोगिन पनि टोपी लगाउने चलनको विकास भयो ।’ प्रा.डा. पौडेल भन्छिन्, ‘कालान्तरमा आधुनिक राज्यको स्थापना भएपछि धर्म, संस्कृति एवं भूगोललाई आधार मानेर हाम्रो देशको राष्ट्रिय पोसाक छनौट गरियो, जसमा हिमालको प्रतीकका रूपमा टोपीलाई राष्ट्रिय पोसाक मानियो । 

 

प्रकाशित :पुस १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्