न्यू इयर इभमा पोखरा

- राजाराम पौडेल

पुस १५, २०७४-

पोखरामा अंग्रेजी नयाँ वर्ष–२०१८ लाई भव्यताका साथ स्वागत गर्ने तयारी भैरहेको छ । लेकसाइड, पोखरास्थित होटल बाराहीमा न्यू इयर इभको रात गाला डिनर पार्टी हुनेछ । डिनर पार्टीमा सहभागी हुन प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

त्यहाँ गायक शिव परियार, गायिका मिना पोखरेल निरौला, कमेडियन दिनेश काफ्ले आदिले वातावरण तताउनेछन् । वाराहीमा डान्स, कमेडी सो, सांस्कृतिक कार्यक्रम, डिजे सेसनका साथमा बुफे डिनर र स्न्याक्स खाँदै रमाउन पाइनेछ । यो कार्यक्रम राति ८ बजेदेखि मध्यरात १ बजेसम्म चल्नेछ । 

लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टमा न्यू इयर इभ पार्टीको आयोजना गरिएको छ, जहाँ विल्सन श्रेष्ठ, सन्ध्या जोशी, डिजे सनिस, डिजे फ्लोरा जीको प्रस्तुतिका साथमा कल्चरल सोसमेत हुनेछ । यसैगरी डुङ्गा रेस्टुरेन्ट एन्ड लाउञ्ज बार, रोलिङ स्टोन रकबार, ओजन डिस्को, ओजन रेस्टुरेन्ट एन्ड लाउञ्ज बार, अक्सिजन लाउञ्ज बार, कोयला, आइरिस पव, इमोन्स क्याफे, सुगर क्यान, जोब्रा, फ्रिडम क्याफे, मधुशाला, बीजीबी, त्रिसरा पोखरा, वन लव, नेगबोर हुड, ओरेन्ज हाउस, राइस वुल, क्लाउड नाइन रेस्टुरेन्ट आदिमा विभिन्न कलाकारका साथ लाइभ म्युजिकको मज्जा लिँदै नयाँ वर्षलाई स्वागत गर्न पाइनेछ । यसैगरी पोखरामा रहेका डान्सबारहरूले विभिन्न मनोरञ्जक कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गर्ने तयारी गरेका छन् । 

पोखरामा रहेका मेलोडी क्याफे, सेन्टर प्वाइन्ट तथा ओपन हाउस गजल साँझमा नयाँ वर्ष विशेष कार्यक्रममार्फत मनोरञ्जन प्रदान गर्ने तयारी गरिएको छ । पोखराका विभिन्न ठाउँमा फैलिएका रिमझिम, पोखरा दौंतरी, हाम्रो, बिसौनी, गाउँसहर, न्यू रुपाहिल, सात ताल, शिखर, फेवा, निरमाया, मान्द्रो, सुनागाभा, भञ्ज्याङ, वर–पीपल, गोधूलि, चौतारी आदि दोहोरी साँझमा समेत नयाँ वर्षका विशेष कार्यक्रम हँुदैछन् । 

यसपालिको नयाँ वर्षमा झन्डै ५ लाख आन्तरिक तथा बाह्य पर्यटक पोखराको लेकसाइडमा आयोजित नयाँ वर्ष विशेष कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । यतिबेला लेकसाइड आसपासका ठुला तथा साना होटलको अकुपेन्सी ८० प्रतिशत नाघिसकेको व्यवसायीहरू बताउँछन् भने मुख्य पर्यटकीय क्षेत्र लेकसाइडलाई क्रिसमसदेखि नै दुलहीझंै सिँगारिएको छ ।

 

प्रकाशित :पुस १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्