सत्य एउटै हुन्छ

- मनोज गजुरेल

पुस १४, २०७४-

जीवनमा कहिले सोचेको कुरा भोग्नुपर्छ, कहिले नसोचेको कुरा भोग्नुपर्छ । सोचेको कुरा भोग्न पाउँदा हामी खुसी हुन्छौं । नसोचेको कुरा आइलाग्दा निराश हुन पुग्छौं । यी दुवै कुरा सहज जीवनका लागि हानिकारक हुन् भन्ने गजुरियल ठम्याइ छ ।

सुख र दु:ख, आँसु र हाँसो, सफलता र बिफलता कुमालेका चक्रजस्ता हुन् । यिनीहरू कहिले मसँग बस्छन्, कहिले तपाईंसँग बस्छन् । यिनले कहिले माथि पुर्‍याउँछन्, कहिले तल झार्छन् । जीवनको यथार्थता यही नै हो । त्यसैले बुढापाकाले भनेका होलान्, सुखमा नमात्तिनु, दु:खमा नआत्तिनु ।

अध्यात्मले भन्छ, कर्म गर फलको आशा नगर । यसको तात्पर्य पनि यही होला कि कर्म मात्र हाम्रो हातमा छ, फल हाम्रो वशमा छैन । पद, पैसा, प्रतिष्ठा, पहुँच पनि पर्यटक मात्र हुन् । हिजो कसैसँग थियो, आज अर्कैसँग होला । भोलि तेस्रोसँगको यात्रामा होला ।

जीवनको आनन्द सत्यसँग साक्षात्कार गर्नुमा छ । सत्यका पनि विभिन्न अर्थ छन् । एक जनाका लागि सत्य सम्पन्नता होला, अर्काका लागि सत्य आनन्द होला । कोही हाँसोलाई सत्य भन्लान्, कोही आँसुलाई सत्य भन्लान्, तर सत्य के हो भन्ने कुरा ठूल्ठूला रहस्यदर्शीहरूले त प्रस्ट भन्न सकेका छ्रैनन् भने हामी सामान्य मानिसले प्रस्ट पार्न सक्ने कुरै भएन ।

गजुरियल विश्लेषक भन्छ, सत्य एउटै हुन्छ तर हामीले आ–आफ्नो चश्माअनुसार सत्यको कल्पना गरेका छौं । नेताका लागि जित सत्य होला, अभिनेताका लागि सफलता सत्य होला । व्यापारीका लागि नाफा सत्य होला, पत्रकारका लागि समाचार सत्य होला । यी सबै हाम्रा चस्माअनुसारका सत्य हुन् ।

आममानिसलाई मूल सत्य थाहा पाउन सजिलो छैन, त्यसका लागि महान् मान्छेको संगत गर्नुपर्ने गजुरियल ठम्याइ छ ।

वास्तविक सत्य थाहा नपाउन्जेल हामीले दुई–चार अर्धसत्यलाई आफ्नो सोचसँग जोड्न सक्यौं भने सत्यको मार्गमा एक पाइला अघि बढाउन सकिन्छ । आउनुहोस्, आज यसैको हल्का विश्लेषण गरौं ।

सत्यको मार्गमा प्रवेश गर्ने पहिलो पाइला हो, अतिबाट मुक्ति । बूढापाकाले त्यसै भनेका होइनन्— अति भयो भने खति हुन्छ । मलाई त्यही नै चाहिन्छ वा म त्यो नलिई छोड्दै छोड्दिनँ जस्ता अतिले कालान्तरमा हामीलाई दु:ख दिएरै छाड्छन् । किनभने केही कसैको होइन । त्यो त जीवनको मौसम परिवर्तन भएजस्तो हो । कैले जाडो आउँछ । कहिले गर्मी आउँछ । ती दुवैलाई स्वीकार गर्नु नै सत्यसँग नजिक हुनु हो ।

कतै ठट्टा सुनेको थिएँ, कसैकी अविवाहित छोरी गर्भवती भइन् रे । घरमा यस्तो वीभत्स दुर्घटना घट्दा कुन मातापिताको मन आत्तिँदैन ? छोरीलाई हेर्दै आमा चिच्याइन् रे, हे भगवान् † तिमीले यो के गरेको ? उता भगवान्बाट पनि आकाशवाणी भयो रे— आफू राम्रो अविभावकत्व दिन सक्दैनौं अनि मलाई दोष लगाउँछौ ?

यो गजुरियल कुरा किन उठाइयो भने हामी दुख पर्दा मात्र भगवान्लाई सम्झन्छौं । गाह्रो–साह्रोमा मात्र अदृश्य शक्तिलाई पुकार्छौं । अप्ठेरो आइपर्दा मात्र अस्तित्वसँग सहयोग माग्छौं । सफलतामा घमन्ड गर्छौं । जितमा अहंकार बढाउँछौं । खुसीमा कसैको सम्झना गर्दैनौं । यसले कसैलाई सत्यको मार्गमा पुर्‍याउँदैन ।

यो सिंगो सृष्टि एउटा नियममा चल्छ । युग बित्छ । वर्ष बित्छ । मौसम परिवर्तन हुन्छ । मान्छे जन्मन्छ । काम गर्छ । सफल हुन्छ । विफलता हासिल गर्छ । खुसी हुन्छ । दु:खी हुन्छ । यी सबै प्रकृतिका नियमअन्तर्गत हुन् । हामीले नियम पालन गर्ने हो । जसरी राज्यका नियम पालन गर्दा राज्य र जनता बलिया हुन्छन् त्यसैगरी अस्तित्वको नियम पालन गर्दा जीवन बलियो, शान्त र अर्थपूर्ण हुन्छ ।

प्रकाशित :पुस १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्