रेड कार्पेटमा ग्ल्यामरस लुक

- रोजिन शाक्य

पुस १३, २०७४-रेड कार्पेट विश्व फेसन संसारमा सेलिब्रेटीहरूको पहिरन स्टाइल तथा ग्ल्यामरका लागि चिरपरिचित छ ।

संगीत, चलचित्र, फेसन र स्पोर्ट्स एवार्ड कार्यक्रमका रेड कार्पेट सबैभन्दा आकर्षक र स्मरणीय हुने गरेको छ । वर्ष २०१७ मा पनि यस्तै केही स्मरणीय अनि आकर्षक दृश्य देखिए ।

डिजाइनर भ्यालेन्टीनो हुट कुटरको सिर्जनामा देखिएकी अभिनेत्री रुथ नेगाको पहिरन रेड कार्पेट ड्रेसहरूमध्ये सबैले सम्झिन लायकको पाइयो । लेसको इन्सेट्स, फुल स्लिभ र हाइकोलरसहितको उक्त फुल लेन्थ कस्टम लेस गाउनले रुथ नेगाको व्यक्तित्वलाई लोभलाग्दो बनाएको थियो । भिक्टोरियन सिलहुटअन्तर्गत रातो रंगको गाउनमा सजिएकी नेगाको व्यक्तित्वलाई सुहाउँदो टायरा र रिङ, प्लेटफर्म जुत्ता तथा म्याचिङ टोनको पर्सले उनको लुकलाई भाइब्रेट बनाएको थियो । 

रेड कार्पेट लुकमा ग्ल्यामरस र बडी एक्सपोजिङ पहिरन मात्र हिट हुन्छ भन्ने मान्यतालाई ठाडो चुनौती दिएकी थिइन् डाकोटा जोन्सनले । गुसीको फुल कभर्ड अप ड्रेसले डाकोटाको सुन्दरतामा मात्र निखार ल्याएको थिएन, रेड कार्पेट पहिरनमा यो शैली निकै लोकप्रियसमेत बन्न पुग्यो । स्याम्पेन शेडको उक्त साटन ड्रेसमा स्ट्रङ शोल्डर र अगाडिपट्टिको प्लिसे र्‍याप निकै लोभलाग्दो थियो । यो पहिरनले देखाएको ट्विस्ट एण्ड टर्न शैली पनि निकै चर्चित भयो वर्ष २०१७ मा । 

गिभेन्ची ब्रान्डका डिजाइनर रिकार्डो टिस्कीको हुट् कुटर सिर्जनालाई पनि वर्ष २०१७ को रेड कार्पेटमा अविस्मरणीय मानिएको छ । हलिउड अभिनेत्री एम्मा स्टोनले लगाएको ब्रोन्ज कलरको लाइट एन्ड लाइभ्ली निकै चर्चामा रह्यो । इम्ब्रोइडर्ड लेस र स्वोरोस्की क्रिस्टल फ्रिन्जको टायर्स भएको उक्त पहिरनमा डिग्रेड प्याटर्न प्रयोग गरिएको थियो । टिफनी एन्ड कम्पनीको ड्याङगल्सलाई कानमा सजाएकी एमाको सुन्दरता यो पहिरनमा निकै सौम्य, शालीन र सोफिस्टिकेटेड देखिएको थियो । 

वर्ष २०१७ को ओस्कार एवार्डको रेड कार्पेटमा अभिनेत्री जेनेल मोनेको पहिरनको चर्चा पनि निकै भयो । डिजाइर एली साबको हुट् कुटर गाउनमा जेनेलको सुन्दरता निकै खुलेको थियो । कालो रंगको उक्त हाई नेक्ड टुल ड्रेसमा शीयर र एम्बेलिस्ड बोडिसको विशेषता थियो, जसलाई फुल शियर भएको सिक्विन्ड स्कर्टबाट बाक्लो खालको भेल्भेट बेल्टले छुट्याएको थियो । स्कर्टको अगाडिको भागको तलपट्टि भने फेडर भएको प्यानल थियो ।

वर्ष २०१७ को रेड कार्पेटमा सम्झन लायक शैली अनेकन र तिनलाई स्मरण गर्ने तरिका भने फरक–फरक । एकातिर स्टाइलिस, एलिगेन्ट, बोल्ड एन्ड ब्युटिफुल स्टाइल स्टेट्मेन्टले रेड कार्पेट फेसनलाई स्मरणीय बनायो, त्यहीं केही सेलेब्रेटीको ग्ल्यामरस र अर्धनग्न स्टाइल समेत चर्चामा रह्यो । नग्नता प्रस्तुत गर्ने सेलिब्रेटीहरूको शैलीले डेरिङ फेसनको संज्ञा प्राप्त गरे पनि चर्चा भने प्रसस्तै बटुले ।

गत मे महिनामा क्यान्स फिल्म फेस्टिभलको गाला इभेन्टको रेड कार्पेटमा देखिएकी मोडल बेला हाडिडको पहिरन निकै ग्ल्यामरस थियो । क्रिस्टल जडित उनको गाउनमा हिपसम्म देखिने स्लिट प्रयोग भएको छ । ह्यान्ड एम्बेलिसमेन्ट गरिएको यो गाउन धेरै दिन लगाएर तयार पारिएको हो भने यसमा ३० जना कामदारले मेहनत गरेका थिए । यो शैलीलाई स्पार्कली नेकेड ड्रेसको संज्ञा दिइएको थियो भने यसलाई डिजाइन गरेका थिए– रेने काओभिल्लाले । 

डेरिङ एन्ड बेअर पहिरनका माध्यमबाट रेड कार्पेट तताउनेहरूमा जेनर दिदीबहिनी कायली र केन्डल जेनर पनि अग्रणी रहे । मेट गालामा देखिएकी कायली जेनरको गाउन भर्साचीको थियो । सुपर नेकेड अटेलियर संज्ञा दिइएको उक्त गाउनमा फ्रिन्ज र फ्लोल एप्लिक वर्कको काम बढी गरिएको थियो । छालाको रंगसित मिल्दो शेडमा तयार पारिएको उक्त बिडेड गाउनमा फ्यान र ज्वेल्सको वर्क समेत समावेश थियो । 

२१ वर्षीया केन्डल जेनरले वर्ष २०१७ को एउटा रेड कार्पेटमा प्रयोग गरेको पहिरन पनि निकै ग्ल्यामरस थियो । ला पर्लाको हुट कुटर गाउन एउटा सिङ्गल पिस स्ट्रिङबाट बनाइएको थियो । अत्यन्त बलियो, लचिलो र अत्यन्त पातलो नाइलनको धागोमा ८५ हजार वटा क्रस्टल उनिएको यो गाउन तयार गर्न मिलान, बोलोग्ना, लस एन्जेलस, रोम तथा न्युयोर्क सहरका आर्टिस्टहरूले काम गरेका थिए । यो पहिरन तयार पार्न औद्योगिक तथा केमिकल इन्जिनियरहरूको पनि योगदान थियो ।

वर्ष २०१७ मा सेक्सी बडी उपनाम पाएकी गायिका जेनिफर लोपेजको रेड कार्पेट अपेरियन्स पनि नेकेड ड्रेसभित्रै रह्यो । गत अप्रिलमा सम्पन्न बिलबोर्ड म्युजिक एवार्ड वितरण समारोहमा जेनिफर जुलियन म्याकडोनाल्डले तयार पारेको कालो रंगको लङ स्लिभ गाउनमा देखिएकी थिइन् । गाउनमा धेरै कट्आउट थिए र साथमा अनगिन्ती म्यास प्यानलिङ थियो । उक्त पहिरनको ब्याक र साइडमा फिसनेट स्टाइलमा कट् आउट थियो, जसका कारण जेनिफरको शरीरलाई अनेक एङ्गलबाट हेर्न सकिन्थ्यो ।

 

प्रकाशित :पुस १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्