आफ्नै देशमा बस साथी

- अविरल थापा

पुस १३, २०७४-

 

नेपालबाट दैनिक सरदर ५ सय युवा कामका लागि खाडी मुलुक जाने गरेका छन् । त्यसैगरी उच्च शिक्षाको नाममा पश्चिमा र विकसित देश जाने युवाहरूको संख्या पनि उल्लेख्य छ । जानेमध्ये कति फर्किएर आए, कति उतै भासिए सरकारसँग कुनै तथ्यांक छैन । यस्तो लाग्छ, यही स्थिति बढ्दै जाने हो भने एक दिन आफ्ना युवा खोज्दै सरकार नै विदेश जानुपर्ने हुन सक्छ । युवाहरू रहरले वा बाध्यताले विदेश गैरहेका छन् ? के यो देशमा गर्ने काम र उव्जाउने जमिन नभएकै हो त ? के यो देशमा रोजगारी र उद्यमशीलताको कुनै सम्भावना नै छैन ?

हरेक युवाले कम्तीमा स्नातक गरेपछि आफ्नो योग्यताअनुसार काम पाइयोस् भन्ने चाहना राख्छ । यो अस्वभाभिक पनि होइन । आफ्नो स्वभाव र चाहनाअनुसार कसैमा जागिर खाने त कसैमा उद्यम गर्ने मन हुन्छ । सरकारी जागिरका आफ्नै प्रक्रिया र सीमितता छन् भने निजी कार्यालयमा पाइने जागिर पनि सजिलै पाइने अवस्था छैन । अति योग्य, दक्ष र पहुँच भएकाहरूलाई जागिर खान त्यति मुस्किल नभए पनि अधिकांशलाई उचित जागिर र कामअनुसारको तलब सुविधा पाउन धौ–धौ छ ।

जब आफ्नो योग्यताअनुसार केही पाइँदैन तब कुनै पनि युवाले विकल्प खोज्नु जायज नै हो । जिम्मेवारी वहन गर्नका लागि राम्रो आय चाहिन्छ, त्यसैले देशमा भन्दा विदेशमा राम्रो अवसर पाएपछि कोही पनि राष्ट्रिय गान गाएर बस्दैन । अर्को भनेको उद्यम गर्ने बाटो हो । उद्यम गर्नका लागि पुँजी चाहियो । सबैको परिवार पुँजी परिचालन गर्न योग्य हुँदैन । नेपालमा कुनै पनि बैंकले धितो नराखी केही काम गर्न ऋण पनि दिँदैन ।

धितो राख्ने सम्पत्ति सबैसँग हुँदैन । लगानी गरेर केही गर्ने वातावरण र आफ्नो हैसियत पनि नभएपछि फेरि पनि वैदेशिक रोजगारीकै बाटो समात्नुपर्ने बाध्यता आइलाग्छ । यसरी जागिर पनि दिन नसक्ने र युवाहरूले उद्यम गर्छु भन्दा पुँजी संकलन र परिचालन गर्ने बाटो सहज नहुँदा धेरै युवा हतोत्साही भै देश छोड्नुपरेको यथार्थ यो देशका शासक र प्रशासकहरूलाई राम्रोसँग थाहा छ । 

एक खालको राजनैतिक संक्रमण समाप्त भै देशलाई आर्थिक समृद्धितर्फ लाने भन्ने सबै पार्टीको नारा भएकाले युवाहरूलाई कसरी देशमै रोक्ने र काममा लगाउने भन्ने स्पष्ट नीति आउनु जरुरी छ । यदि युवा देशका पुँजी र संवाहक हुन् भन्ने लाग्छ भने उनीहरूले हैसियतअनुसार काम गर्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ ? नेपालको कुन–कुन क्षेत्रमा कति र कस्ता खालका जनशक्तिको आवश्यकता छ ?

नेपाललाई चाहिने र यहीं उत्पादन गर्न सकिने के–के सेवा र वस्तु छन् ? नेपाल के–कस्ता कुरामा आत्मनिर्भर हुन सक्छ ? क्षेत्रअनुसार चाहिने जनशक्ति परिपूर्ति गर्न कस्ता खालका तालिम आवश्यक छन् ? देशलाई चाहिने र गर्न सक्ने कामको फेहरिस्त र आँकडा निकाली युवाहरूलाई विकास–निर्माणमा लगाउनैपर्छ । राम्रो वातावरण भएको आभास भएपछि बिदेसिएका युवा तथा उद्यमीहरू स्वत: देशमा आउनेछन् । पर्यटन र कृषि राम्रो सम्भावना भएका क्षेत्र हुन् ।

खाद्यान्नमा आत्मनिर्भर भए देशको पुँजी पलायन हुँदैन भने पर्यटनबाट राम्रो विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । हाल विदेशबाट आइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ । त्यसरी आइरहेको पैसासमेत अनुत्पादक क्षेत्रमा खर्च भैरहेको देखिन्छ । उक्त पुँजीलाई राष्ट्रिय महत्व र आवश्यकताका परियोजनाहरूमा लगानी गर्ने वातावरण र कार्यविधि बनाइए देशको विकास अनि जनता धनी हुने वातावरण बन्नेछ ।

सर्वप्रथम देशलाई चाहिने पर्याप्त विद्युत् उत्पादन गर्नैैपर्ने हुन्छ । चौबीसै घण्टा विद्युत् आपूर्ति भएपछि बल्ल धेरै क्षेत्रमा नयाँ प्रविधि र आधुनिकीकरण गर्न सकिन्छ । उद्योगधन्दा खोल्ने झन्झटिलो प्रक्रियालाई सहज बनाउनैपर्छ भने युवाहरूलाई परियोजनाअनुसार ऋण उपलव्ध गराई आफनो गाउँठाउँमै उद्यम गर्ने वातावरण बनाउन सके कोही पनि परदेसिने छैनन् ।

काम गर्न खोज्नेहरूलाई धम्क्याउने, तर्साउने र काम नै सुरु गर्न नदिने, राजनीतिक आवरणमा चन्दा र बिनालगानी आफ्नो भाग माग्ने सण्डमुण्ड प्रवृत्तिलाई दण्डित र अन्त्य गर्नैपर्छ । जडिबुटीजन्य उद्योगको विस्तार र विकासका लागि अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानशाला, गुणस्तर मापन र प्रमाणीकरण गर्ने निकाय हुनैपर्छ । यो क्षेत्रमा धेरै युवाले रोजगारी प्राप्त गर्न सक्छन् । 

यो देशमा सबै कुरा छ तर गर्ने इच्छाशक्ति, वातावरण र उचित नीति भने छैन । युवाहरूलाई देशमै बस भनेर मात्र हुँदैन, यो–यो क्षेत्रमा यसो–यसो गर, राज्यले लगानीको वातावरण बनाइदिनेछ र सुरक्षित बजारको अवधारणा पनि विकास गर्नेछ भन्न सक्नुपर्‍यो ।

देशलाई चाहिने कृषिजन्य उत्पादन गर्ने युवालाई प्रोत्साहित गरी राज्यले सोझै खरिद गरेर वितरण गर्ने प्रणाली विकास गर्नुपर्‍यो । आफ्नै देशमा घरपरिवारसँगै बसेर देशकै लागि पसिना चुहाउने रहर र आत्मबल कोसँग नहोला र ? यो देशका युवालाई देशमै गरेर खाने नीति र कार्यक्रम अबको सरकारले कसरी ल्याउँछ, त्यसैले देशको भविष्य निर्धारण गर्नेछ । 

आफ्नै देशमा बस साथी परदेशी बन्न नजाऊ

सुन फल्ने माटो छोडी मरुभूमि खन्न नधाऊ ।

                                                          Facebook.com/abeeralthapa

                                                              Twitter@abeeralthapa

प्रकाशित :पुस १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्