सर्वाधिक आम्दानी गर्ने महिला खेलाडी

  • खेलकुद

- साप्ताहिक संवाददाता

पुस १२, २०७४

सरिना विलियम, टेनिस

गत वर्ष खेल जीवनको २३ औं ग्रान्ड स्ल्याम जित्दा सरिना ३ महिनाकी गर्भवती थिइन् । सन् २०१७ मा खेल जीवनमा खासै फर्कन नसके पनि सरिना विगतको आम्दानी तथा उनीसँग विभिन्न कम्पनीले गरेको प्रायोजनबाटै सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीका रूपमा प्रस्तुत भइन् । सरिनाले यो वर्ष मात्र २ अर्ब ८० करोड ८० लाख रुपैयाँ आम्दानी गरेकी छिन् जसमध्ये १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ प्रायोजकहरूबाट प्राप्त भएको थियो । 

एन्जेलिक केरबेर, टेनिस

महिला टेनिसको शीर्ष स्थानमा रहेकी जर्मन टेनिस खेलाडी एन्जेलिकले यो वर्ष अमेरिकी ओपन जितिन् भने विम्बल्डनमा उपविजेतामै चित्त बुझाइन् । रोलेक्स, जेनेराली, स्लिम सेक्रेट जस्ता कम्पनीको प्रचार गर्ने एन्जेलिकलाई यो वर्षदेखि एडिडास र योनेक्सले समेत प्रायोजन गर्न थालेका छन् । यो वर्ष १ अर्ब ३१ करोड ४ लाख रुपैयाँ आम्दानी गरेकी एन्जेलिकले ५२ करोड रुपैयाँ प्रायोजकहरूबाट प्राप्त गरेकी थिइन् । 

डेनिका प्याट्रिका, मोटर रेस 

मोटर रेसकी खेलाडी डेनिका प्याट्रिका सन् २०१८ मा पनि स्टेवार्ट ह्यासको छाता मुनि रहेर रेस कोर्समा उत्रने छिन् । अझैं पनि वटा १० विभिन्न कम्पनीको (कोकाकोला, फोर्ड, नेसनवाइड आदि) प्रचार–प्रसारमा संलग्न डेनिकाले यो वर्ष १ अर्ब २६ करोड ८८ लाख रुपैयाँ आम्दानी गरिन् । उक्त आम्दानीमध्ये ५२ करोड रुपैयाँ प्रायोजकहरूबाट प्राप्त भएको थियो । 

 

 रोण्डा रोसी, बक्सिङ 

युएफसी बक्सिङकी चर्चित महिला खेलाडी रोण्डाले बक्सिङमा आफ्नो भिडन्तको मूल्य ३१ करोड २० लाख रुपैयाँ पुर्‍याइन् । उनको खेल हुँदा रिङको वरिपरि जति भीड लाग्छ टेलिभिजनमा झुम्मिनेहरू पनि त्यत्तिकै हुन्छन् । टेलिभिजनमा उनको भिडन्त हेर्न दर्शकले बढी शुल्क तिर्नुपर्छ । त्यसबाहेक उनी यूएफसीकी प्रशिक्षक पनि हुन् भने यो वर्ष उनले बक्सर ताभिस ब्रोनीसँग विवाह समेत गरिन् । वर्ष २०१७ मा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेकी रोण्डाले ३१ करोड २० लाख रुपैयाँ प्रायोजकहरूबाट मात्र प्राप्त गरेकी थिइन् । 

भेनस विलियम, टेनिस

सरिना विलियमकी दिदी भेनसले यो वर्ष सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको सूचीमा आफूलाई पाँचौं स्थानमा उभ्याइन् । यो वर्ष उनले खेलेरभन्दा पनि प्रायोजकहरूबाटै बढी आम्दानी गरिन् । भेनसले यो वर्ष कमाएको १ अर्ब ९ करोड २० लाख रुपैयाँमध्ये ७२ करोड ८० लाख रुपैयाँ प्रायोजकहरूबाट प्राप्त भएको थियो । 

गार्बिन मुगुरुजा, टेनिस

सन् २०१६ मा फ्रेन्च ओपन टेनिस प्रतियोगिता जितेपछि गार्बिन महिला टेनिसको दोस्रो स्थानमा पुगेकी थिइन् । विम्बल्डन टेनिस प्रतियोगितासमेत जितेकी गार्बिनले यो वर्ष ८० करोड ८ लाख रुपैयाँ आम्दानी गरिन् । उनको कुल आम्दानीमा ३६ करोड ४० लाख रुपैयाँ प्रायोजकहरूबाट प्राप्त भएको थियो । 

क्यारोलिन वज्नियाकी, टेनिस

यो वर्ष सम्पन्न विभिन्न टेनिस प्रतियोगिताहरूमध्ये ७ वटाको फाइनलमा पुगे पनि क्यारोलिनले कुनै उपाधि भने जित्न सकिनन् । पूर्व एक नम्बरकी खेलाडी क्यारोलिनले यो वर्ष ७८ करोड रुपैयाँ आम्दानी गरिन् । एडिडास, रोलेक्स आदि कम्पनीबाट उनले यो वर्ष ५२ करोड रुपैयाँ कमाएकी थिइन् । 

एग्निस्का राडवान्स्का, टेनिस

सन् २०१६ मा महिला टेनिसको तेस्रो वरियतामा रहेकी एग्निस्का यो वर्षको अन्तसम्म आइपुग्दा १० औं स्थानमा पुगिन् । यो वर्ष उनी ७५ करोड ९२ लाख रुपैयाँ आम्दानी गर्न सफल भइन् जसमा प्रायोजकहरूको योगदान ४१ करोड ६० लाख रुपैयाँ थियो । 

इग्वुइनी बुचर्ड, टेनिस 

महिला टेनिसमा धेरैबाट नोटिस भएकी खेलाडी हुन्– इग्वुइनी छिन् । यो वर्ष सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीको सूचीको नवौं स्थानमा परे पनि उनी धेरै माथिसम्म जान सक्ने अनुमान गरेर उनलाई विभिन्न कम्पनीले प्रायोजन गरिरहेका छन् । यो वर्ष इग्वुइनीले कमाएको ७३ करोड ८४ लाख रुपैयाँमध्ये ६७ करोड ६० लाख रुपैयाँ प्रायोजकहरूबाटै प्राप्त भएको थियो । 

सिमोना हाल्प, टेनिस 

रोमानियाकी सिमोना २ सय सातासम्म महिला टेनिसको शीर्ष १० स्थानमा रहिन् । महिला टेनिसमा यो कार्य त्यति सहज मानिँदैन । मर्सिडिज बेन्ज तथा एडिडाससँग व्यापारिक सम्झौता गरेकी सिमोनाले यो वर्ष ६४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेर आफूलाई सर्वाधिक आम्दानी गर्ने महिला खेलाडीहरूको सूचीको १० औं स्थान ओगटिन् । उनले यो वर्ष विभिन्न कम्पनीबाट १५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्