सन् २०१७ का ग्याजेट

- एकराज सुवेदी

पुस १२, २०७४-

एप्पलको आइफोन एक्स

वर्षको अन्त्यतिर (नोभेम्बरमा) विश्वभर बिक्री प्रारम्भ भएपश्चात् एप्पलको आइफोन एक्सले निकै चर्चा पाएको छ । पहिलेका आइफोनको तुलनामा यसमा धेरै फिचर थपिएका छन् । तीमध्ये पनि यसमा भएको एज टु एज डिस्प्ले तथा फेस आइडीका साथै अत्याधुनिक क्यामेरा, लामो समय टिक्ने ब्याट्री एवं ठूलो स्क्रिन विशेष छन् । पहिलो पटक फेस आइडीको सहयोगले खोल्न सकिने मोबाइल भएकाले पनि यसले विशेष चर्चा पाएको हो ।

 

सामसङ ग्यालेक्सी–८

सामसङको ग्यालेक्सी एस–८ मा ५ दशमलव ८ इन्चको ‘इन्ड टु इन्ड’ डिस्प्ले जडान गरिएको छ । यसलाई अनलक गर्न हातका औंला प्रयोग गर्न जरुरी छैन । ‘फेसियल रिकग्निसन’ प्रविधि अनुसार स्मार्टफोनमा हेर्ने बित्तिकै यो आफैं अनलक हुन्छ । यसको क्यामेरा पनि विशेष गुणस्तरीय छ । यसले ३ सय ६० डिग्रीमा तस्बिर तथा भिडियो खिच्न सक्छ । फोरके रिजोलुसनमा पनि भर्चुअल रियालिटी रेकर्ड तथा प्ले गर्न सकिन्छ । 

एप्पल वाच थ्री

वर्ष २०१७ मा एप्पलले वेरेबल डिभाइसको तेस्रो भर्सनका रूपमा एप्पल वाच थ्रीलाई बजारमा ल्यायो । यसको प्रमुख विशेषता भनेको यसलाई फोनका रूपमा पनि प्रयोग गर्न सक्नु हो । यसमा तीव्र गतिको प्रोसेसर छ र आफ्ना दैनिक क्रियाकलाप मापन गर्न यसमा अल्टिमिटरजस्तो डिभाइस समेत उपलब्ध छ । एप्पल वाच थ्रीले फोरजी/एलटीई नेटवर्क समेत सपोर्ट गर्ने भएकाले यसलाई अत्याधुनिक नेटवर्कमार्फत प्रयोग गर्न सकिन्छ । 

माइक्रोसफ्ट सरफेस ल्यापटप

माइक्रोसफ्टले पहिलो पटक वास्तविक ल्यापटपको अनुभूति नहुने गरी सरफेस ल्यापटप बजारमा उतार्‍यो । यो ल्यापटप चलाउँदा ट्याब्लेट र नोटबुकको हाइब्रिड प्रयोग गरिरहेको छु भन्ने अनुभव हुँदैन । माइक्रोसफ्टले नयाँ भर्सनको विन्डोज–१० एसका लागि यो ल्यापटप उपयोगी हुने बताएको छ । विन्डोज–१० एस माइक्रोसफ्टको एप स्टोरको प्रोग्राममा मात्र रन गर्छ । राम्रो पर्फमेन्सका लागि गुगलको क्रोमबुक जस्तै माइक्रोसफ्टले सरफेस तयार पारेको बताइएको छ । 

डीजेआई स्पार्क

ड्रोनको क्षेत्रमा यो वर्ष अनेकन अनुसन्धान एवं विकास भए । सामान्य व्यक्तिले समेत प्रयोग गर्न सक्ने ड्रोनका रूपमा डीजेआईको हत्केला जस्तो आकारको ड्रोन चर्चित रह्यो । नेभिगेसनका लागि रिमोट कन्ट्रोल नचाहिनु उक्त ड्रोनको मुख्य विशेषता हो । ड्रोनलाई हत्केलामा लिएर त्यसको पछिल्लो भागमा भएको बटनलाई दुई पटक थिच्दा यो माथि जान्छ । त्यसपछि हत्केलाकै सहयोगले हावामा यसलाई नियन्त्रण गर्न सकिन्छ । 

निन्टेन्डो स्विच

निन्टेन्डो स्विचलाई घर तथा घरबाहिरका मनोरञ्जक कार्यक्रमहरूमा प्रयोग गर्न सकिन्छ । उक्त स्विचमा ६ दशमलव २ इन्चको स्क्रिनयुक्त ट्याब्लेट तथा एकातिर निन्टेन्डोको जोय–कन कन्ट्रोलर एट्याच गर्न स्लट राखिएको छ । त्यसैले यसलाई हातैले चलाउने भिडियो गेम मेसिनका रूपमा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी घरमा भएको समयमा स्लेटलाई स्लाइड गरेर डकका रूपमा प्रयोग गरी टिभीमा राख्न सकिन्छ भने यसलाई परम्परागत टिभीजस्तै प्रयोग गर्न समेत मिल्छ । 

अमेजन इको 

अमेजनले भ्वाइस–इनेबल्ड ग्याजेटका रूपमा सन् २०१४ मै इकोलाई बजारमा ल्याएको थियो, यसको सेकेन्ड जेनरेसन इकोमा पर्याप्त सुधार गरिएको छ । यसको डिजाइन निकै चुस्त छ । अहिलेको इको तुलनात्मक रूपमा सानो र आकर्षक छ । यसमा भएको उफर र ट्विटर पनि थप सुधारिएको छ । 

एक्सबक्स वान एक्स

गेमिङका लागि ठूलो र भद्दा कन्सोल प्रयोग गर्नेहरूका लागि एक्सबक्स वान एक्स बरदान नै सावित भएको छ । माइक्रोसफ्टको पछिल्लो उपलब्धि एक्सबक्स वान कन्सोलमा ६ वटा टेराफ्लप छन् भने फोरके गेमिङ सपोर्ट गर्ने सुविधा समेत छ । 

सोनी अल्फा ए७आर 

थ्री क्यामेरा

सोनीको यो क्यामेरा अहिले सम्मकै सर्वाधिक गुणस्तरीय मिररलेस क्यामेरा हो । यसभन्दा पहिलेको सोनीकै ए९ क्यामेराले दिने रिजोलुसनमा यसमार्फत दुई पटक सुट गर्न सकिन्छ । त्यसैगरी ए७आर टु भन्दा दोब्बर गतिमा अटोफोकस गर्न सकिन्छ । यो क्यामेरा व्यवसायिक तथा नयाँ दुवै प्रकारका फोटोग्राफीका लागि वरदान सावित हुनसक्छ । 

गुगल पिक्सेल बड

गुगलले यो वर्ष पर्सनल ट्रान्सलेटरका रूपमा पिक्सेल बड नामक हेडफोनलाई बजारमा उतार्‍यो । यो भ्वाइस असिस्टेन्ट फिचर हो, जसले रियल टाइममै एउटा भाषामा बोलेको कुरालाई ४० वटा भाषामा अनुवाद गर्न सक्छ । पिक्सेल स्मार्टफोनसँग कनेक्ट गरिएको हेडफोनको दायाँतर्फको बटनलाई थिचेपछि त्यसमा बोलिएका कुरा आफूलाई चाहिएको भाषामा अनुवाद गर्न सकिन्छ । 

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्