Teej banner

उत्तर–दक्षिण रेल

- किशोर नेपाल

पुस १२, २०७४

अहिले सम्पूर्ण जान्ने–सुन्ने नेपालीको आशा र आकर्षणको केन्द्र बनेको छ— चीनबाट आउने भनिएको रेल । चीनसँगको सीमावर्ती केरुङ नाकामा सन् २०२० सम्ममा रेल ल्याउने योजना छ चिनियाँहरूको । उनीहरूले यो लक्ष्य प्राप्त गर्नासाथ हामीकहाँ पनि रेलको बाटो खुल्छ । विशेष प्रविधि विकसित गरेर पहाडका डाँडामा रेल कुदाउने चिनियाँ बुद्धिको प्रशंसा गर्नैपर्छ । अझ यो पनि कि उनीहरूले हाल गरेको विकासको तुलना कसैसँग हुन नसक्ने खालको छ । चीनसँग नेपालको आशा पनि छ कि उसले बनाइदिनेछ केरुङ–काठमाडौं र काठमाडौं–लुम्बिनीसम्मको रेलमार्ग । ढुक्क छन् नेपाली जनता । तीभन्दा ढुक्क छन् राजनीतिक कार्यकर्ता । भन्छन् : एकपटक रेल त आओस् । त्यसपछि विकास कसरी गर्ने ? हामीलाई थाहा छ ।

रेलकै सिलसिलामा मंगलबार चारवटा हेलिकप्टर चार्टर गरेर भावी प्रधानमन्त्री केपी ओली आफ्ना समर्थकहरूका साथ पुगे चाइना बोर्डर केरुङ । हेलिकप्टरबाट ओर्लिएर उनी खोंचमा उभिए । चारैतिर फैलिएका अजंगका अग्ला–अग्ला डाँडा–पाखाहरू हेरे । त्यसपछि आफ्ना सहयोगीहरूलाई सम्बोधन गर्दै भने, ‘हो, यहींबाट सुरु हुन्छ नेपाल–चाइना रेल । त्यसपछि नेपालको विकास तीव्र हुने कुरामा कामरेडहरूले शंका नलिए हुन्छ ।’ 

‘पूर्व–पश्चिम रेल’ सुपर–डुपर हिट सिनेमाको यो गीतलाई सुपरहिट बनाउने दीपकराज गिरी र दीपाश्रीको सिनेमाको यो गीतसँग रेलको प्रसंग जोडिएको छ । एउटा चूक भएको छ गिरी र दीपाबाट । त्यो के भने यसमा उत्तर–दक्षिण रेलको चर्चा छैन । त्यो उत्साहपूर्ण गीतले रेलको महत्त्व नदर्साएको भए रेलको विषयले वातावरण बनाउने थिएन । ‘बरु भुइँचालोले भत्काएको घर बनाउन केही काम र सहयोगसमेत नगर्नुहोस् तर रेलचाहिँ जसरी पनि ल्याउनुहोस्,’ जनताको भनाइ र आकांक्षा यसरी नै विस्तारित हुँदै गयो । रेल भन्नासाथ अहिले नेपालका राजा–रंक सबैको चासोको विषय बनेको छ । 

त्यसो त नेपालमा पनि रेल नभएको होइन । नेपाल जनकपुर–जयनगर रेल्वेले जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलपुरासम्म मानिसको ओसार–पसार गथ्र्यो । त्यस्तै अर्को रेल थियो नेपाल गभर्मेन्ट रेल्वे । यो रेल ‘गेट वे टू नेपाल’ भनिने रक्सौल स्टेसनदेखि अमलेखगन्ज स्टेसनसम्म चल्थ्यो । अहिले पनि एनजीआर रेल्वेको पटरी र पुल कहीं–कहीं देख्न पाइन्छ मोटरबाट वीरगन्जको यात्रा गर्दा । एनजेजेआर र एनजीआर— यी दुवै रेलमा यात्रा गर्ने सौभाग्य पाएका मानिसमध्ये एक भएको नाताले यति त भन्नैपर्छ : काल र समयअनुसार ती दुवै रेल लक्जरियस नै थिए । ती रेलको गति सुस्त थियो । कुनै यात्रीलाई शौचले सताएको छ भने उ फुत्रुक्क ओर्लिन्थ्यो अनि आफ्नो काम सकेर फेरि रेल चढ्थ्यो ।

जनकपुर–जयनगर रेल्वेमा मेरो पहिलो यात्रा राजनीतिक थियो । पञ्चायतकालीन नेपालमा नेपालको मुद्रण जगत्लाई मात्र होइन, राजनीतिज्ञ, विद्यार्थी, शोधकर्ता कसैलाई पनि लोकतन्त्रका विषयमा कुनै कुरा छाप्ने अधिकार थिएन । व्यवस्थाविरोधी पर्चा छाप्न देशबाहिर नै जानुपथ्र्यो । त्यस्तै एउटा पर्चा छाप्न म जयनगर गएको थिएँ । फर्कने बेला रेल छुटिसकेको थियो । मसँग रातभरि लगाएर पैदल जनकपुर फर्कनुको विकल्प थिएन । मलाई मधेसको गाउँको वैकल्पिक बाटोको राम्रो ज्ञान थिएन । त्यसैले मैले रेलको लिकैलिक हिंडेर जनकपुर फर्कने अठोट गरें । अघिल्लो राति सात बज्दा हिंडेको मानिस भोलि बिहान सात बज्दा जनकपुर आइपुगेको देखेर साथीहरू दंग परेका थिए ।

आजको युग गतिको हो । गति अर्थात् सञ्चार । सञ्चारको प्रचुरता र व्यापकताले यो युगलाई अत्यन्तै प्रभावकारी बनाएको छ । नेपालमा प्रस्तावित रेलको विस्तारले हाम्रो आर्थिक विकासका प्रयत्नहरूलाई कति भरथेग गर्लान् ? मानिस रमाउने त आफ्नो ठाउँमा छँदैछ, रमाएर मात्र त केही हुनेवाला छैन । बन्द–व्यापारका सम्भावनाहरू, नुन–तेलको सहज आपूर्ति, अन्न–पातको प्रचुरता : चाहिएको त यत्ति नै हो ।

केपीको शासनकालमा नेपालमा रेल छिरोस् । सकेसम्म दानमै छिरोस् । त्यसमा आफ्नै नेपाली बजेट लगाउने हो भने त रेलमार्ग बन्ने कुरामै आशंका सिर्जना हुनसक्छ । रेलमार्ग चाहिएको कुरा हो । यसो काठमाडौंबाट रेल चढेर केरुङतिर डेटिङ जानु, बेलुकी फर्कंदा मम, चाउचाउको होम प्याक बोकेर आउनु । कति रमाइलो हुने थियो कान्तिपुरको जीवन † हो त, कति रमाइलो हुन्थ्यो † आशा त पलाएको छ । यो आशाले कति परसम्म पुर्‍याउने हो नेपालीको लक्ष्यलाई ? रेलमार्गसँगै चाहिएको अर्को विषय हो– समुद्री मार्ग । जहाज किन्ने कुरा त प्रस्तावित प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएका बेला उहिल्यै गरिसकेका छन् । त्यो पनि अब अगाडि त बढ्ला नै ।

 

प्रकाशित :पुस १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्