समूह ‘बी’ मा पोर्चुगल र स्पेनको टक्कर

- साप्ताहिक संवाददाता

पुस ११, २०७४

क्रिस्टियानो रोनाल्डो विश्व फुटबलले पाएको अहिलेसम्मका उत्कृष्ट खेलाडी हुन् । उनले भर्खरै फिफाले दिने विश्वकै वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पनि जिते, अनि बेलन डे’अर पनि । जति नै राम्रा खेलाडी भए पनि उनले आफ्नो पोर्चुगाली टिमका लागि भने त्यति धेरै योगदान पुर्‍याउन सकेका छैनन । दुई वर्षअघिको युरो भने अपवाद रह्यो र उनकै नेतृत्वमा पोर्चुगल युरोपको च्याम्पियन बन्यो । समृद्ध फुटबल इतिहास भए पनि पोर्चुगलले ठूलो उपाधि जितेको त्यो नै पहिलो अवसर थियो । 

यसपटक पनि रोनाल्डोका सम्बन्धमा यो प्रश्न फेरि दोहोरिनेछ, उनले आफ्नो उत्कृष्ट लय पोर्चुगलका लागि कति साँचेका छन् त ? आउने विश्वकपको समूह ‘बी’ मा पोर्चुगलसँगै छन्, स्पेन, मोरक्को र इरान । आउने विश्वकपमा ‘ग्रुप अफ डेथ’ नै छैन, सम्भवत: त्यसको छेउछाउ पुग्ने समूह यही हो । पोर्चुगलविरुद्ध स्पेनबीच समूहको दोस्रो खेल हुनेछ र त्यो नै आउने विश्वकपको छनौट चरणको सबैभन्दा ठूलो खेल हुनेछ । 

पछिल्लो विश्वकपमा स्पेन डिफेन्डिङ च्याम्पियनका रूपमा प्रस्तुत भएको थियो र संघर्षपूर्ण परिस्थितिपछि यो टिम दोस्रो चरणमा पुगेको थियो । त्यससँगै स्पेनको स्वर्णिम पुस्ताको अन्त्य भएको मानिन्छ र अहिले यो टिम फेरि पुनरागमन गर्ने प्रक्रियामा छ । स्पेनको घरेलु लिग ला लिगालाई विश्वकै सबैभन्दा राम्रो घरेलु संरचना मानिन्छ र त्यहाँ खेलिने फुटबललाई सबैभन्दा अब्बल दर्जाको प्राविधिक खेल । यस्तोमा समूहबाट दोस्रो चरण पुग्ने दुई टिम पोर्चुगल र स्पेन नै हुने पूर्वअनुमान गर्न सकिन्छ । 

यो तथ्यमा विवाद गर्ने धेरै हुने छैनन ।

स्पेन लगातार ११ औं पटक विश्वकपमा खेल्दैछ । सन् २०१० मा स्पेनले विश्वकप जित्दा उसले उपाधिको यात्राका क्रममा पोर्चुगललाई हराएको थियो र जितको अन्तर थियो, १–० । निर्णायक गोल गर्ने खेलाडी थिए— डेविड भिल्ला । भनिरहनु पर्दैन, पोर्चुगलको सबैभन्दा ठूलो अस्त्र पनि रोनाल्डो नै हुनेछन् । उनले छनौटमा पोर्चुगलका लागि कीर्तिमान १८ गोल गरेका छन् । पोर्चुगलको उद्देश्य हुनेछ, युरो विजेताका रूपमा विश्वकप पनि जित्ने । 

यस्तो गर्न सके, एकैपटक युरो र विश्वकप जित्ने पोर्चुगल चौथो देश मात्र हुनेछ । यसका लागि पोर्चुगलको पहिलो उद्देश्य हुनेछ, लिग चरणमा राम्रो खेल्ने । पोर्चुगल र स्पेनबीचको खेल प्रतिष्ठाको लडाइँ हुनेछ र लगभग यो खेलले नै समूह विजेता को हुने हो भनेर तय गर्नेछ । समूहका अरू दुई टिम मोरोक्को र इरान भिड्दा यो पनि उत्तिकै प्रतिष्ठाको लडाइँ हुनेछ, किनभने सम्भवत: त्यसले कुन टिम तेस्रो स्थानमा रहने र कुन टिमले चौथो स्थानमा रहेर आलोचना झेल्ने भन्ने निर्णय गर्नेछ । 

मोरोक्को २० वर्षयता पहिलो पटक विश्वकप खेल्दैछ । यसक्रममा उसले सन् १९८६ को विश्वकप पक्कै सम्झिने छ, जति बेला मोरक्कोले पोर्चुगलमाथि ३–१ को ऐतिहासिक जित निकालेको थियो । इरान भने लगातार दोस्रो पटक विश्वकप खेल्दैछ र उसका प्रशिक्षक हुन्, पोर्चुगाली कार्लोस क्वरेज । कुनै समय क्वरेज आफैले पोर्चुगाली टिम पनि सम्हालेका थिए । इरानले विश्वकपमा एकैपटक मात्र जित निकालेको छ र त्यो पनि उत्तिकै प्रसिद्ध छ, सन् १९९८ मा अमेरिकामाथि प्राप्त १–० को सफलताका रूपमा । 

कुन खेल कहिले ?

जुन १५ मोरोक्को–इरान

जुन १५ पोर्चुगल–स्पेन

जुन २० पोर्चुगल–मोरोक्को

जुन २० इरान–स्पेन

जुन २५ स्पेन–मोरोक्को

जुन २५ इरान–पोर्चुगल

 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्