नयाँ प्रविधितर्फको व्यवहारिक यात्रा

- साप्ताहिक संवाददाता

पुस ११, २०७४-

सन् २०१७ मा विभिन्न नयाँ प्रविधिले व्यवहारिक यात्रा तय गरेका छन् । कतिपय प्रविधिका बारेमा सैद्धान्तिक रूपमा जानेको मात्र भए पनि यो वर्ष तिनै प्रविधिको व्यवहारिक परीक्षण प्रारम्भ भएको छ । यी प्रविधिले भविष्यमा मानव जीवनलाई थप स्मार्ट बनाउने अपेक्षा गरिएको छ । 

हाइपरलुपको परीक्षण

यो वर्ष सुपरसोनिक स्पिड टेरेस्ट्रियल ट्रान्सपोर्टको क्षेत्रमा प्रवेश गर्ने दिशामा एक कदम अगाडि बढेको अवस्था छ । अमेरिकाको नेभादामा हाइपरलुप वानले आफ्नो प्यासेन्जर पोडको सफलतापूर्वक परीक्षण गरेको छ । हाइपरलुपमा भएको ५ सय मिटर लामो भ्याकुम ट्युब १ सय ९० माइल प्रतिघण्टाको गतिमा गुड्न सफल भयो । कार्बन फाइबर तथा आल्मुनियम प्यासेन्जर पोड प्रयोग गरिएको उक्त हाइपरलुपमा इलेक्ट्रोम्याग्नेटिक लेभिटेसन प्रयोग गरिएको थियो । यस प्रकारको हाइपरलुपको अवधारणा टेस्लाका सीईओ इलोन मस्कले ल्याएका थिए । टेस्लाले पनि यो क्षेत्रमा काम गरिरहेको छ । त्यसैगरी क्यानाडाको ट्रान्सपोड तथा अमेरिकाका एईकम र एरिभो पनि यही क्षेत्रमा कार्यरत छन् । 

सोलार ब्याट्री प्याक

स्वीडेनको कम्पनी आईकेईएले घरायसी प्रयोजनका लागि सोलार प्याक निर्माण गरेको छ, जसले विद्युत्को बिललाई करिब ७० प्रतिशतले घटाउँछ । यसमा भएको ब्याट्री प्याकले सोलार प्यानलबाट पावर स्टोर गर्छ । शक्तिका रूपमा अन्य स्रोत खोज्नुभन्दा सूर्यको प्रकाश प्रयोग गर्न सकिने भएकाले यसले नयाँ सम्भावना देखाएको छ ।

 

थ्रिडी प्रिन्ट

यो वर्ष म्यासाचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजीले विकास गरेको थ्रिडी टेक्नोलोजीले फर्निचर वा यस्तै चिजलाई छोटो समयमै प्रिन्ट गर्न सकिन्छ । र्‍यापिड लिक्विड प्रिन्टिङमा कम्प्युटरबाट नियन्त्रित नोजल प्रयोग गरिन्छ । अन्य थ्रिडी प्रविधिमा लेयर प्रयोग गरिन्छ भने यसमा रोबोटिक आर्म प्रयोग हुन्छ ।

कार्बन क्याप्चर प्लान्ट

स्विट्जरल्यान्डमा क्लाइमवर्क कम्पनीले विश्वकै पहिलो कार्बन क्याप्चर प्लान्ट खोलेको छ । यसमा औद्योगिक एयर क्याप्चर डिभाइस प्रयोग गरिएको छ, जसले वायुमण्डलमा भएको कार्बन डाइअक्साइडलाई शोषण गर्छ । यसले वार्षिक करिब ९ सय टन कार्बन डाइअक्साइड फिल्टर गर्छ । 

क्यूएलईडी प्रविधि

अहिले बल्व तथा टिभीहरूमा एलईडी प्रविधि प्रयोग हुँदै आएको छ, तर अब टेलिभिजन सेटमा क्यूएलईडी प्रविधिसमेत आइसकेको छ । सामसुङले यो प्रविधिको टिभी विश्वका विभिन्न देशमा उपलब्ध गराइसकेको छ । यो टिभी क्वान्टम डट प्रविधिमा आधारित छ । यो टिभीको डिस्प्लेमा पर्ने प्रकाश नै कलरका रूपमा परिवर्तन हुन्छ । परिणामस्वरूप यो टिभीमा कुनै दृश्य हेर्दा थिएटरमै हेरेजस्तो अनुभव हुन्छ । 

क्यान्सर पत्ता लगाउने डिभाइस

क्यानाडाको म्याकमास्टर युनिभर्सिटीका विद्यार्थीहरूले बायोप्सी नै नगरी स्किन क्यान्सर पत्ता लगाउने डिभाइसको विकास गरेका छन् । यसबापत उनीहरूले जेम्स डाइसन एवार्डसमेत प्राप्त गरे । व्यक्तिको छालामा राखेपछि यसले सामान्य रुपमै क्यान्सर भए–नभएको पत्ता लगाउँछ । 

फ्लाइङ सुट कीर्तिमान

आइरन म्यान वा यस्तै सुपर हिरो चलचित्रमा विभिन्न प्रकारका सुट लगाएका कलाकारहरू उडेको देखिन्छ । यद्यपि यो वर्ष यस्तै सुट लगाएर उड्ने वास्तविक कार्यले विश्व कीर्तिमान कायम गरेको छ । रिचर्ड ब्राउनिङले शरीरबाटै नियन्त्रण गर्न सकिने जेट इन्जिन प्रोपेल्ड सुट लगाएर ३२ दशमलव २ माइल प्रतिघण्टाको गतिमा उडेर नयाँ कीर्तिमान कायम गरे । 

फेस आईडी प्रविधि

एप्पलले आईफोन एक्सलाई बजारमा उतारेपछि एउटा नयाँ बहस प्रारम्भ भयो । आईफोन एक्समा फेस आईडी नामक नयाँ प्रविधि प्रयोग गरिएको छ । यसभन्दा पहिले मोबाइल वा स्मार्टफोनमा टचस्क्रिन हुन्थे । आइफोन एक्सले मानिसको अनुहारको पहिचान गर्छ ।

 

रोबोटिक्समा नयाँ आयाम

यो वर्ष सोफिया नामक रोबोटलाई साउदी अरेबियाले नागरिकता प्रदान गर्‍यो । यसको अर्थ अब रोबोटसँग पनि मानवकै रुपमा व्यवहार गर्न थालिएको छ । रोबोटिक्सको क्षेत्रमा यो एक कदम अघि बढेको संकेत पनि हो । रोबोटको क्षेत्रमा यो वर्ष निकै प्रगति भएको छ । सोफिया ह्युमनोइड रोबोट हो, जसलाई एक्काइसौं शताब्दीको ठूलो आविष्कार मानिएको छ । यसले मानिसले जस्तै काम मात्र होइन, कुराकानीसमेत गर्न सक्छ । सोफियालाई हङकङको हेन्सन रोबोटिक्सले निर्माण गरेको हो । यसका संस्थापक डा. डेभिड ह्यान्सन हुन् । 

पहिलो प्यासेन्जर ड्रोन

यो वर्ष दुबईमा विश्वकै पहिलो प्यासेन्जर ड्रोनको परीक्षण उडान गरियो । द इहाङ १८४ नाम दिइएको उक्त ड्रोनमा एक सय किलोग्राम सम्म तौल भएका यात्री उड्न सक्छन् । उक्त ड्रोन एक पटकमा ३० मिनेटसम्म उडाउन सकिन्छ । यसलाई अटो पाइलटले चलाउने भएकाले कुनै झन्झट हुँदैन भने यसका लागि लाइसेन्ससमेत चाहिँदैन । आफू जाने स्थानमा टचस्क्रिनको सहयोगले पुग्न सकिन्छ । 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्