पैसा कमाउन त उद्यम गर्नुपर्‍यो नि !

- जनक तिमिल्सिना

पुस ११, २०७४

कपनका बाबुराम कार्कीको सुन्दरीजलमा रहेको गाई फार्ममा गत असारमा अचानक आगलागी भयो । जसमा परेर ९७ गाई मरे । ठूलो दु:ख–कष्ट र मेहनतले खडा गरेको कार्कीको सपनाको संसार गल्र्यामगुर्लुम ढल्यो । उक्त घटनापछि बाबुराम कैयौं दिन सुत्न सकेनन्, धेरै दिनसम्म उनका आँखा ओभाएनन्, जब उनी फार्मतिर हेर्थे, उनको भक्कानो छुट्थ्यो । उनले सोचे, अब उठ्न नसकिने गरी ढलियो, सबै सकियो तर त्यसपछि उनलाई साथ दिन हजारौं हात उठे।

त्यसपछि बाबुरामलाई कसैले गाई दिए, विदेशमा बस्ने केही नेपालीले उनलाई निब्र्याजी ऋण उपलब्ध गराए । अहिले उनी तिनै हातहरूको सहयोगमा आफ्नो ढलेको सपनालाई उठाउने प्रयासमा छन् । त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका उपप्राध्यापक कार्कीसँग नेपालमा पशुपालन, यसको सम्भावना, कृषि नीति, अनुदान आदि विषयमा केन्द्रित कुराकानी : 

 

गाईपालन कसरी सुरु गर्नुभयो ? 

छोरी जन्मिएपछि उनलाई दूध ख्वाउन भनेर हामीले एउटा गाई पाल्यौं । टोलका मानिसहरू हामीलाई पनि दूध चाहियो भनेर माग गर्न थाले । त्यसपछि ६ वटा गाई पाले । त्यसले राम्रो प्रतिफल दिन थालेपछि यसलाई व्यवसायीकरण गर्‍यौं न त भनेर लागे । ०५९ पुसमा भक्तपुरमा गाई फार्म सुरु गरे । त्यहाँ ६० वटा गाई पुगे । भक्तपुरमा एकदमै राम्रो माग भयो । राम्रोसँग दूध बिक्री भएपछि फाइदा हुन थाल्यो । त्यसपछि हामीले लगानी थप्दै गयौं । गएको जनवरीदेखि १५ सय लिटर पुर्‍याउने लक्ष्यका साथ त्यहाँको स्पेस सानो हुने भएकाले यहाँ (सुन्दरीजल) सरेका हौं । 

आगलागि हुँदा कति गाई थिए ? 

घटना हुँदा १ सय २ वटा गाई थिए । हामी दैनिक १२ सय लिटर दूध बजारमा पुर्‍याउँथ्यौं । घटना भएपछिको केही समय त सबै खाली भयो, सिंगो संसारै उजाडिएजस्तो । गोठमा घाइते गाईहरू मात्र थिए । म तिनको उपचारमै व्यस्त भएँ, के गर्ने भनेर केही सोच्नै सकिनँ । जलेर मरेका गाईलाई डोजर लगाएर पुरें । एकचोटि त गाई आफूलाई फाप्दैन कि भन्ने पनि लाग्यो । बिरामी भएर एक दुई गाई मर्नु सामान्य हो तर एकैपटक सबै गाई यसरी जलेर मरेपछि मलाई तँ यो काम नगर भनेको हो कि जस्तो लाग्यो । 

साह्रै कठिन समय हैन ? 

घटना भएपछि आफू तग्रिंनु जोक रहेनछ । खाना खान बस्यो, खान मन नलाग्ने, सुत्न लाग्यो निद्रा नलाग्ने । निद्रा नलाग्ने जति ठूलो रोग के होला ? यता पल्ट्यिो, उता पल्ट्यिो बिहान भैहाल्छ । कति पीडा भयो कति ।

कति लगानी थियो ? 

झन्डै–झन्डै ५ करोड लगानी थियो । त्यो सबै क्षणभरमै चट भयो । त्यसमा बाँकी रहेको भनेको यो सामान्य इन्फास्ट्रक्चर मात्र हो । त्यसबाहेक भक्तपुरस्थित गाई फार्म र त्यहाँ रहेका १५ वटा गाई मात्र हुन् । 

घटनाअघि तपार्इं के गर्ने तयारीमा हुनुहुन्थ्यो ? 

१५ सय लिटर दूध उत्पादन हुन थालेपछि डेरी प्रोसेसिङ मिनी प्लान्ट राख्ने योजनामा थिए । जसअन्तर्गत दही, खुवा, क्रिम, बटर बनाउने तयारी थियो । त्यसका लागि यही फार्मकै छेउमा निर्माणको काम थालिसकेको थिए । घटनापछि त्यो योजना अधुरै रह्यो । 

फेरि काम सुरु गर्ने आँट कसरी जुटाउनुभयो ? 

घटनापछि आफूसँग लगानी गर्ने पैसा थिएन, तर साथीहरूले छाड्नु हुँदैन, सेटब्याक हुनुभयो भने राम्रो म्यासेज जाँदैन, हामी सपोर्ट गर्छौं भनें । घरबाट बुवाले पनि हिम्मत गर्नुपर्छ भन्नुभयो । साथीभाइहरूले हामी आर्थिक सहयोग गर्छौं, जहिले तिर्न सक्छ तिर भनेर मलाई फेरि उठाउन प्रयास गरे । नत्र म सँग त के नै बाकी थियो र ? धेरै साथीहरूले सकेका बेला पैसा तिर्नु भनेर आफ्ना गाईसमेत दिनुभएको छ । यत्रो सपोर्ट पाएपछि म पनि पछि हट्न सकिनँ । 

लडेर उठ्नु जो कसैका लागि सहज हुँदैन । साँच्चै त्यो आत्मबल कहाँबाट आयो ? 

मलाई तीनवटा सहयोगले उठायो । पहिलो मिडियाले ठूलो सहयोग गर्‍यो । एउटा त घटना पनि त्यस्तै पर्‍यो, अर्को युनिभर्सिटीको लेक्चरर गाई पालेर बसेको भन्ने पनि भयो । मिडियाको सपोर्टका कारण सहयोग गर्ने मान्छेहरू आए । साथीहरू आएर फेसबुक र बैंक एकाउन्ट खोलेर सहयोग जुटाउछौं भनेका थिए । मैले यस्तो सहयोग घर बनाउन मात्र काम लाग्छ भने । त्यसबाट उद्योग चल्दैन मलाई समूह बनाएर १० लाख २० लाख लोन उठाइदिनुस्, सर्टेन टाइममा रिटर्न गर्छु भनें । 

विदेश बस्ने साथीहरूले मलाई बिनाब्याज ६० लाख जति पैसा दिनुभयो । एक–दुईवटा गाई पाल्ने साथीहरूले छानेर मेरो कुन गाई लान्छस् सम्म भने । त्यस्ता साथीहरूको क्यु नै थियो । मैले छानेर त्यस्ता साथीहरूबाट समेत केही गाई ल्याए । उहाँहरूको त्यत्रो ठूलो प्रेरणा, उत्साह र मायालाई मैले त्याग्न सकिनँ । पशुपति विकास कोषले घटना भएको ठाउँमा जप पनि लगाइदियो । त्यो पनि मेरा लागि सपोर्ट नै भयो । 

थप बन्दोबस्त कसरी जुटाउनुभयो ? 

गाई मात्र होइन, भुस्सा, दानापानी सबै क्रेडिटमा आयो । साथीहरू आफैं आएर के सहयोग चाहिन्छ भन्न थाले । 

काम गर्नेहरूका लागि सहयोगी हातहरू प्रशस्तै हुँदा रहेछन् हैन ? 

घटनाभन्दा पनि म सहयोगी साथीहरूको भावनासँग पराजित भएँ । उहाँहरूको यत्रो मायालाई म कसरी त्याग्न सक्थें ? मार्केट पनि छँदै थियो, बरु ढिलो गर्दा त्यो बिग्रन्थ्यो । त्यसैले ल जे होला भनेर फेरि सुरु गरिहाले ।

अब अगाडि के सोच्दै हुनुहुन्छ ? 

यो वर्षभित्र हामी २ हजार लिटर प्रोडक्सन गरिसक्छौं । साथै, यो फार्मलाई रिसर्च सेन्टरका रूपमा समेत विकास गर्ने, प्रोडक्सन सेन्टर बनाउने र आफ्नै ओम कृषि फार्मको ब्राण्डबाट बजारमा दूध लाने योजना छ । अब हामी ओम डेरीका रूपमा बजारमा जाने तयारीमा छौं । यसबाहेक शुद्ध दूधकै भेराइटीमा जाने सोच समेत बनाएका छौं । हामी कम्पोस्ट मल तथा गोबरग्याँसमा पनि काम गर्छौं । 

शुद्ध डेरी प्रोडक्ट नै मुख्य लक्ष्य हो ? 

शुद्ध दूध ख्वाउने हाम्रो लक्ष्य हो, भलै हामी सबैलाई त्यो उपलब्ध गराउन नसकांैला । हाम्रो गाईको थुन पानीले पखालिँदैन, पानी झर्छ र दूधमा मिसिन्छ भनेर । गाईलाई गोबरमा बस्न दिँदैनौं । गाई बिरामी छ, त्यसको औषधी उपचार गरेको छ भने हामी त्यसको दूध बेच्दैनौं । गाईलाई एन्टिबायोटिक दिइएको छ भने दबाइ दिएको दिनसम्म हामी त्यो गाईको दूध बेच्दैनौं । हाम्रो दूधमा कुनै पनि प्रकारको केमिकल प्रयोग हुँदैन । हामी गाईले खाने घाँसमा पनि युरिया हाल्दैनौं । हामीले ५० रोपनीमा घाँस लगाएका छौं । हाम्रो प्राइस पनि स्ट्यान्र्ड र प्रोडक्ट पनि स्ट्यान्डर्ड । हामी र ग्राहक बीचमा बिचौलियाहरू छैनन्, हामी प्रत्यक्ष रूपमा आफ्ना उत्पादन बेच्छौं । 

सम्भावना कत्तिको देख्नुहुन्छ ? 

घटना हुनुअघि हाम्रो प्रोफिट प्रतिदिन झन्डै २० हजार बराबर थियो । त्यो महिनाको अन्तिमसम्म २९ हजारसम्म पुग्छ कि भन्ने अनुमान गरेका थियौं । अहिले मार्केटमा जति दूध लगे पनि खपत हुन्छ । अहिले स्थापित डेरीहरूकै दूधमा क्वालिटी छैन्, उनीहरूले बेच्ने कलेक्सन दूध हो जसमा उनीहरू चाहेर पनि क्वालिटी दिन सक्दैनन् । हामी कहाँ जसको डेरी छ, उसकै फार्म छैन् अहिलेसम्म । भारतमा अमुल, अल्मराईको आफ्नै फार्म र डेरी छ, तर हाम्रोमा त कलेक्सन मात्र हो, अर्काको गाईको दूध ल्याएर बेच्ने मात्र हो । 

भनेपछि तपार्इं डेरीको कन्सेप्टमा अघि बढ्न खोज्दै हुनुहुन्छ ? 

हामी फार्मसँगै डेरीको कन्सेप्टमा जान्छौं । सबैलाई पुर्‍याउँछौं भन्दैनौ, जति पुर्‍याउँछौं व्यवस्थित र शुद्ध दूध पुर्‍याउँछौं । २ हजार लिटर भए पनि हामी स्वच्छ र शुद्ध दूध बजारमा पुर्‍याउछौं । 

चुनौतीहरू के–कस्ता छन् ? 

तीन प्रकारका समस्या छन् । एक प्राविधिक समस्या । जस्तो गाई बिरामी भैहाल्यो भने छामेर थाहा पाउने बाहेक अर्काे विकल्प छैन । अर्काे लेबरको समस्या छ । यहाँ जति तलब दिए पनि सबै विदेश मात्र जान खोज्छन् । अर्काे दूध दुहुने र घाँस काट्ने प्रविधि जानेको दक्ष जनशक्तिको समेत अभाव छ । गुणस्तरीय दानाको पनि उतिकै समस्या छ । 

राज्यले के गरोस् जस्तो लाग्छ ? 

सरकारले प्राविधिकहरूलाई चुस्त राखिदिनुपर्‍यो । हाम्रो गाई बिरामी हुँदा भेटेनरी डाक्टर आएर उपचार गरिदिनुपर्‍यो, तर यो काम गर्न सक्ने सक्षम जनशक्ति सरकारसँग छैन । राम्रो काम गरौं भन्ने खालका सरकारी कर्मचारी पनि छैनन् । नीतिगत रूपमा समेत समस्या छन्, जस्तो गोरु जन्मियो भने कसरी व्यवस्थापन गर्ने, गाई बाझो भयो भने कसरी व्यवस्थापन गर्ने ? यो किसान स्वयंले गर्न सक्दैन, त्यसैले राज्यले यतातिर पनि ध्यान पुर्‍याइदिनुपर्छ । 

बिडमा समस्या छ भनिन्छ नि ? 

नेपालको बिड नै राम्रो छैन । नेपालको ब्युरोक्रेसी ध्वस्त छ । आफ्नो मन्त्रालयको बजेट खर्च गर्ने दायित्व त सचिवको हो नि । बजेट खर्च गर्न नसक्नु पनि अपराध हो । अहिले कतिसम्म भने स्थानीय तहमा कृषिलाई छुट्याइएको बजेटले बाटो बनाइरहेका छन् रे । सचिवहरूले पैसाको के लोभ गर्‍या होला ? समाजमा तीन थरीका मानिस हुन्छन् जसले कि पावर इन्जोय गर्नुपर्‍यो, कि प्रेस्टिज इन्जोय गर्नुपर्‍यो कि त मनी इन्जोय गर्नुपर्‍यो । एउटै मानिसले तीनवटै पावर किन इन्जोय गर्न खोज्ने ? हाम्रोमा त सरकारी जागिरमा जानु भनेको पैसा कमाउन जानु हो, पैसा कमाउनलाई त उद्योग–व्यापार गर्नुपर्‍यो नि †

कृषिक्षेत्रमा अनुदानहरू पनि छन् । कत्तिको पाइरहनुभएको छ ? 

अहिलेसम्म छैन । अनुदान लिने मानिसहरूमा वास्तविक किसान निकै कम छन् । दिनैपिच्छे धाउनु, यो ल्याउनु त्यो ल्याउनु भन्छन् । सामान्य किसान सिंहदरबार र मन्त्रालय नै छिर्न पाउँदैनन् । सरकारी कार्यालयमा प्रपोजल मागिन्छ, किसानले एक सय डेढ सय पेजको प्रपोजल कसरी लेख्न सक्छ ? न उसले कन्सल्ट्यान्स राख्न सक्छ, न कन्सल्ट्यान्सलाई पे गर्न सक्छ । प्याक्टको अनुदान पनि त्यही भयो, त्यसैले त्यो प्रोजेक्ट नै फेल भयो । प्रपोजल लेख्ने चक्करमै बीचमा बिचौलियाले सबै अनुदान खाइदिन्छ । हाम्रो कृषि नीति–नियमहरू हाम्रा मान्छेले बनाएनन्, सबै डोनर एजेन्सीहरूले बनाए, जसका कारण वास्तविक किसानहरूमा त्यो प्रभावकारी भएन् । 

सरकारले किसानका लागि नीति बनाउँदा के कुरामा ध्यान पुर्‍याउनुपर्छ ? 

इनपुट होइन, आउटपुट बेस हुनुपर्छ । आउटपुट बेस हुनेबित्तिकै सोकल्ड किसानहरूले अनुदान लिनै सक्दैनन् । १ हजार लिटर दूध उत्पादन गरे वार्षिक रूपमा यति अनुदान दिन्छौं वा १ सयवटा गाई पालिस भने यति अनुदान दिन्छौं भन्ने हो सोकल्डले खान पाउँछ ? १ सयवटा गाईको लिस्ट माग्छ प्रपोजलमा कागजी गाईको नाम बनाउँछ र अनुदान खान्छ । त्यसैले यस्ता कार्यक्रमहरू आउटपुट बेस्ड बनाएर चलाउनुपर्छ ।

 

प्रकाशित :पुस ११, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्