फेसनका अतुलनीय सृजनाहरु

- रोजिन शाक्य

पुस १०, २०७४-

 

सीमिततामा नबाँधिनु र बहुआयामिक हुनु फेसनको सबैभन्दा लोभलाग्दो पक्ष हो । यही कुराको जीवन्त पक्षलाई बौद्धस्थित हायात रिजेन्सी होटलको प्रेक्षालयमा अनुभव गर्न पाइयो । ६८ फिट लामो रनवेमा आईसी कलेज अफ आर्ट एण्ड फेसनका ५१ जना विद्यार्थी डिजाइनरहरुले आफ्नो ग्राजुएसन फेसन शो मार्फत् आफ्ना सृजनाहरु सुन्दर ढंगबाट प्रस्तुत गरेको पाइयो । १३ वटा विभिन्न सिक्वेन्स मार्फत् प्रस्तुत भएका एक सय आठ वटा पहिरनले सृजनाकर्ताको मिहेनत, कल्पनाशीलता, रंग, फ्याब्रिक र डिजाइनको अनुपम संयोजनलाई बयान गरेको थियो । 

डिजाइनर्स रनवे सेभेन नाम दिइएको यो फेसन शोबाट आईसी कलेज अफ आर्ट एण्ड फेसनका सातौं ब्याचका विद्यार्थी डिजाइनरहरुले आ–आफ्नो फेसन कला र सीपलाई प्रदर्शन गरेका थिए । १२ राशिबाट प्रभावित एवं प्रेरित १२ वटा पहिरनहरुको स्टेजमा आगमन भएसंगै आरम्भ भएको डिजाइनर्स रनवे सेभेनको यात्राले नारी व्यक्तित्वलाई दुई धारे तरवारसित तुलना गरिएका शैलीहरुमा पुगेर बिट मारेको थियो । 

यो वीचमा हाई फेसन स्ट्रीट वेयर देखि रेड कार्पेट स्टाइलबाट पहिरनहरु, राणा परिवारको पहिरन शैलीबाट प्रेरित परंपरागत र आधुनिक डिजाइनहरु, ब्रिटिश साम्राज्यबाट प्रभावित रोयाल कल्पनाहरु मंचमा ओहोर दोहोर गरेका थिए ।

भाष्कर बानियाँ र सुवर्ण खड्का सहित अहिलेका चल्तीका २४ जना व्यवसायिक युवती मोडलहरुले आफ्नो बान्की परेको जिउडाललाई विरालो चालमा मर्काएर आकर्षक भावभंगीमा हरेक सुन्दर पहिरनको आकर्षण र शोभा बढाएका थिए ।

कोरियोग्राफर प्रशान्त ताम्राकारको निर्देशनमा संचालन भएको उक्त फेसन शोमा भ्यालेन्टाइन परिवेशबाट प्रभावित पहिरनहरुमा रातो रंगको प्रधानता मात्र नभएर ग्रे कलरको सुन्दर समायोजन देख्न पाइयो । 

प्रकाशित :पुस १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्