शान्ता क्लज बन्नेहरू

- नरेन्द्र रौले

पुस ९, २०७४

बालकुमारी, ललितपुरका सत्य थापा शान्ता क्लज बनेको झन्डै ४० वर्ष पुग्यो । उनलाई अझै सम्झना छ, पहिलो पटक उनी पूर्वी चितवन पुगेका थिए । बडुवा भन्ने ठाउँभित्रको धमिले गाउँ जंगलै जंगलले घेरिएको थियो । त्यहाँका मानिस भेट्दा सत्यलाई आश्चर्य लाग्यो । त्यहाँ कसैले पनि लुगा–कपडा लगाएका थिएनन् । मुडा बाल्ने, खरानी घस्ने उनीहरूको नियमित दिनचर्या थियो । संवेदनशील अंगहरू मात्र धोतीले छोप्थे । त्यही ठाउँ पुगेर सत्यले लुगा, कपडा तथा चामल बाँडेका थिए । 

यति लामो अवधिमा सत्यले अनौठा सम्झनाहरू सँगालेका छन् । उनी शान्ता क्लज बनेर मुलुकका थुप्रै जिल्ला पुगे । उनले विभिन्न समुदायका मानिसहरू भेटे भने त्यस क्रममा अनेकौं अनुभव बटुले । कति ठाउँमा त मानिसहरू नजिक नै पर्दैनथे, भाग्थे ।

कतिपयले बास नै दिँदैनथे । सत्य र उनीसँग शान्ता क्लज बनेर गएको समूहले खानेकुरा कसरी पकाएर खाने, सरसफाइ कसरी गर्ने जस्ता व्यवहारिक कुरा सिकाउँथे । कतिपय मानिस उपहार पाउने आशाले शान्ता क्लजको छेउ पुग्थे, जसलाई उनीहरू आवश्यक सामग्री उपहारका रूपमा प्रदान गर्थे । 

कवि थापासँग शान्ता क्लज बन्दाका रोचक अनुभवहरू छन् । गत वर्ष अन्य तीन जना सँगै उनी नवलपरासीस्थित एक स्कुल पुगे, जहाँ मुसहर बालबालिकाहरू अध्ययन गर्थे । कवि रातो टोपी र रातै पहिरन लगाएर त्यो स्कुल पुग्दा स्कुले बालबालिकाहरू उनको वरिपरि झुम्मिए । कविले आफूले बोकेका उपहार सबैलाई बाँडिदिए अनि खाना ख्वाए ।

खेलकुदका सामग्रीहरू, रुमाल, मोजा, गुडिया, खेलौना कार, पञ्जा, पेन्सिल, चकलेट तथा थरीथरीका रंग पाएपछि विद्यार्थीहरू खुसीले गद्गद् भए । ‘बालबालिकाहरू वरिपरि झुम्मिँदा आफैं नै असली शान्ता क्लज हुँ कि जस्तो अनुभूति भयो,’ उनले आफ्नो अनुभव सुनाए । 

नवलपरासीको त्यो स्कुल पुग्दाको क्षण कवि कहिल्यै बिर्सन सक्दैनन् । मुसहरहरू खोलामा माछा तथा खेतमा मुसा मारेर जीविकोपार्जन गर्छन् । तिनै मुसहरका बालबालिकाहरूसँग भेट्न पाउँदाको क्षण कविका लागि जीवनमा सबैभन्दा आनन्दको क्षण थियो त्यो । कविले त्यतिबेला बालबालिकाहरूलाई उपहार दिँदा जुन खुसी उनीहरूको मुहारमा देखे, त्यसले आफूमा खुसी थपेको महसुस गरे । उपहार पाएको रात बालबालिकाहरू खुसीले सुत्न नसकेको कुरा भोलिपल्ट तिनका अभिभावकहरूले कविलाई सुनाए । त्यो कुरा सुनेपछि त उनमा खुसीको सीमा नै रहेन । 

कवि बर्सेनि शान्ता क्लज बनेर नयाँ–नयाँ गाउँ तथा स्कुल पुग्छन् । कवि र उनका साथीहरू रातो टोपी र रातै पहिरनमा देख्दा आममानिसले अनौठो महसुस गर्छन् । साथमा बोकेका उपहार बाँड्दा र सबैलाई खाना ख्वाउँदा वातावरण नै बेग्लै हुन्छ । २५ वर्षदेखि यसरी नै हरेक वर्षको क्रिसमसमा उनी शान्ता क्लज बनेर गाउगाउँ पुग्छन्, त्यो पनि काठमाडौंबाट निकै टाढा । उनीहरू यसपालि चितवनको बाँदरझुला जाने तयारीमा छन्, जहाँ तामाङ, चेपाङ तथा दलित बालबालिकाहरू अध्ययन गर्छन् । 

इन्द्रावती गाउँपालिका–९, तीनधारा, सिन्धुपाल्चोकका छत्रलाल श्रेष्ठ (४७) पनि शान्ता क्लजको अनुभव बटुलिसकेका व्यक्ति हुन् । हरेक वर्ष क्रिसमसको अवसरमा गाउँगाउँ पुगेर कुनै न कुनै सामाजिक काम गर्ने छत्रलालले यसपालि सिन्धुपाल्चोकका ३ सय बालबालिकालाई कापी, कलम, खेलौना, झोला, ब्याडमिन्टन, फुटबलजस्ता सामग्रीहरू बाँडे । ‘भूकम्पले दिएको पीडा बिर्संदै उनीहरू हाँसेको, रमाएको देख्दा मलाई पनि खुसी लाग्यो ।’ छत्रलालले भने, ‘१ सय २८ परिवारलाई जस्तापातासमेत बाँडियो ।’ घर नभएर पालमा बस्न बाध्य भएकाहरूले जस्तापाता पाउँदा राहत महसुस गरे । अघिल्लो वर्ष त्यही ठाउँमा उनी पाल बोकेर पुगेका थिए । यस्ता सामाजिक काममा उनलाई देश–विदेशमा हुने थुप्रै साथीभाइले मद्दत पुर्‍याउँछन् । 

बालकुमारी, ललितपुरका सागर थापा (२६) त्यस्तै अर्का युवक हुन्, जो शान्ता क्लज बनेर विभिन्न ठाउँ पुगेका छन् । भारतको स्कुल अफ सोसल वर्कबाट स्नातक गरेका सागर भन्छन्, ‘जब बालबालिकाहरूलाई खुसी देख्छु, म थप खुसी हुन्छु ।’ थापाले भने, ‘उनीहरूले हामीबाट अपेक्षा गरे भन्दा बढी कुरा पाउँछन् ।’ यसपालि पनि शान्ता क्लज बनेर मुलुकको विकट गाउँ जाने तयारीमा छन्, थापा । सहरमा उपहार बाँड्दा त्यसले खासै अर्थ नराख्ने अनुभव छ उनको । उपत्यकाबाहिर भने उपहार पाउनेहरू बढी नै खुसी हुने थापाले बताए ।

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्