अब कान्तिपुर नेसनल म्युजिक अनर

- साप्ताहिक संवाददाता

पुस ९, २०७४

विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रका स्रष्टा तथा संगीतकर्मीहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको रेडियो कान्तिपुर रेडियो राष्ट्रको (कान्तिपुर एफएम) ले यो वर्षदेखि आफ्नो पुरस्कारको शैली परिवर्तन गरेको छ । कान्तिपुर एफएमले वर्ष २०७४ देखि ‘कान्तिपुर नेसनल म्युजिक अनर’ शीर्षकबाट संगीतकर्मीहरूलाई पुरस्कृत गर्ने भएको हो । 

कान्तिपुर एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर एफएमबाट वर्षभरिमा सर्वाधिक प्रसारण भएका गीतका स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको थियो । एफएमले पहिलो वार्षिकोत्सवदेखि आठौं वार्षिकोत्सवसम्म वार्षिकोत्सवकै दिन पुरस्कृत गथ्र्यो, जसअनुसार नवौँ  वार्षिकोत्सवदेखि अघिल्लो वर्ष (१७ औं वार्षिकोत्सव) सम्म म्युजिक अनरका रूपमा संगीतकर्मीहरूलाई पुरस्कृत गरिएको थियो । त्यसक्रममा वर्षभरिमा सबैभन्दा बढी प्रसारण भएका गीतका स्रष्टालाई रोयल्टीस्वरूप नगद प्रदान गरिन्थ्यो । 

रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीका अनुसार यो वर्षदेखि संगीतकर्मीहरूलाई म्युजिक एवार्डका रूपमा पुरस्कृत गर्न लागिएको छ । कान्तिपुर नेसनल म्युजिक अनर–२०७४ शीर्षक राखिएको यो वर्षको एवार्डका लागि २०७३ साल साउन १ गतेदेखि २०७४ साल असार मसान्तसम्म सार्वजनिक भएका गीत तथा एल्बमका उत्कृष्ट स्रष्टाहरूलाई पुरस्कृत गरिनेछ । 

म्युजिक एवार्डका रूपमा प्रदान गरिने यो एवार्डको पहिलो संस्करणमा विभिन्न १६ विधाका संगीतकर्मी सम्मानित हुनेछन् । यो एवार्डअन्तर्गत आधुनिक गायनतर्फ सर्वोत्कृष्ट गायक तथा गायिका, पप गायनतर्फ सर्वोत्कृष्ट गायक तथा गायिका, लोक गायनतर्फ सर्वोत्कृष्ट गायक तथा गायिका, चलचित्रतर्फ सर्वोत्कृष्ट गायक तथा गायिका, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट सांगीतिक समूह, सर्वोत्कृष्ट राष्ट्रिय भावनाको गीत, एल्बम अफ द इयर, सर्वोत्कृष्ट गीत, पब्लिक च्वाइस एवार्ड तथा लाइफ टाइम एचिभमेन्ट एवार्ड प्रदान गरिनेछ । लाइफटाइम एचिभमेन्ट एवार्डको राशि नगद १ लाख रुपैयाँ हुनेछ । यो एवार्डका लागि अघिल्ला वर्षहरूको म्युजिक अनरमा यही पुरस्कारबाट पुरस्कृत हुने संगीतकर्मीहरूको सिफारिसमा एक जना स्रष्टालाई पुरस्कृत गरिनेछ भने पब्लिक च्वाइस एवार्डका लागि भोटिङ गराइनेछ । 

एवार्डका लागि रेडियो कान्तिपुरले एक–एक जना गीतकार, संगीतकार तथा गायक सम्मिलित जुरी गठन गरेको छ । पछिल्लो एक वर्षभित्र सार्वजनिक भएका गीत–संगीतलाई सम्मिलित गर्दै उक्त जुरीले अन्तिम पाँचको नामावली सार्वजनिक गर्नेछ । जुरीले तयार पार्ने उत्कृष्ट पाँचको मनोनयनलाई विशिष्ट संगीतकर्मीहरूको अर्को जुरीले अन्तिम रूप दिने एफएमले जनाएको छ । 

यो एवार्डको मनोनयन सूची यही साता सार्वजनिक हुनेछ भने माघ ५ गते शुक्रबार काठमाडौंमा सञ्चालन हुने सांगीतिक समारोहबीच कान्तिपुर नेसनल म्युजिक अनर–२०७४ हस्तान्तरण गरिनेछ । 

प्रकाशित :पुस ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्