समीद कतीला श्रेष्ठसँग एक बिहान

- किशोर नेपाल

पुस ८, २०७४-

मैले अघिल्लो साताको सुरुमा समीदसँग कुराकानी गरेको थिएँ, तर भन्छन् नि, सबै कुरा सोचेजस्तो हुँदैन । त्यही साता भारतीय सिनेमाका कलाकार शशि कपुरको निधन भयो । यो स्तम्भ उनका प्रति श्रद्धा–सुमन अर्पण गर्न रिजर्भ भयो । समीद आफ्ना बारेमा छापिएका कुरा पढ्न निकै उत्सुक थिए । त्यसैले मैले उनीसँग भनें, ‘ए समीद भाइ, यो पटक तिम्रो–मेरो कुराकानी नछापिने भयो । मैले शशि कपूरका बारेमा लेख्ने भएँ । खिन्न नहुनु है ।’

समीदको जवाफ तयार थियो, ‘सर, शशि कपूरको अब फेरि–फेरि निधन हुँदैन । मेरो त जहिले छापे पनि भो नि !’ समीद फिजियो थेरापिस्ट हुन् । अन्यत्र, फिजियो थेरापिस्टले चिकित्सकको मान्यता पाएका छन् । नेपालमा त्यस्तो छैन । सरकार मान्यता दिनुपर्नेलाई दिँदैन, नदिनुपर्नेलाई दिन्छ । समीद र उनका साथीहरू यो असमानताको विरुद्ध उभिएका छन् । 

फिजियो  थेरापी नपढेको भए उनी चीनमा हुन्थे एमबीबीएस पढ्न । उनलाई आफ्ना बा–आमाले त्यतैतिर पठाउन खोजेका थिए, तर छिमेकका शुभचिन्तक प्रद्युम्न पोखरेलको सल्लाहमा उनका पाइला भारतको मंगलुरतर्फ मोडियो । उनी मम्मीले गुन्टा कसिदिएको ज्याकेट र ब्ल्यांकेटको भारी बोकेर मंगलूर पुगे, तर मंगलुरको मौसम उनले कल्पना गरेजस्तो थिएन । त्यहाँको गर्मीले उनलाई निकै अत्यायो । तैपनि उनले डा. एमबी शेट्टी कलेजमा पढे र त्यहींबाट मास्टर्स डिग्री हासिल गरे । 

श्रेष्ठले पढुन्जेल कहिल्यै कलेज बंक गरेनन् । पढाइकै क्रममा, पहिलो पोस्टिङमा उनको एक जना सिनियरले एक जना बिरामीको घुँडाको पांग्रा चलाउन सिकायो । त्यही बेला निरीक्षणमा आएका प्रो. हेगडेले सोधे, ‘तिमीले के गरिराखेको ?’

समीदले जवाफ दिए, ‘पटेला (घुँडाको पांग्रो) चलाउने अभ्यास गरिरहेको सर ।’ समीदको कुरा सुनेर प्रो. हेगडे मरीमरी हाँस्न थाले । उनी जुन बिरामीको पटेला चलाउँदै थिए समीद, उनको त पटेला नै थिएन ।

कुनै दिन समीदले निकै रोमान्टिक कविता लेखेका थिए प्रेमिकाको नाममा :

मेरो जिन्दगीमा एकै जना छ माया बसेको दुई जना छ ।

जीवनमा उनले आफ्नो अन्तर्जातीय विवाह होला भनेर कहिल्यै सोचेनन् । उनकी ‘एक जना’ ले पनि अन्तर्जातीय विवाहका बारेमा सोचेकी थिइनन्, तर विवाहको जोडा त कृष्णलोकमा बन्छ भन्छन् । अहिले उनको विवाह तिनै एक जनासँग हुँदैछ । उनी ब्राह्मणकी छोरी, समीद नेवारका छोरा, तर उनीहरूबीच कुनै तनाव छैन । त्यसै पनि नेपालमा हिजोआज अन्तर्जातीय बिहे सामान्य भैसकेको छ । त्यसमा पनि काठमाडौंमा त ब्राह्मण र नेवारबीच विवाह हुनु सामान्य भैसकेको छ ।

समीद रक्सी–चुरोट छुँदैनन् । उनको एउटा सानो ग्याङ थियो साथीहरूको । उनीहरू मोटर साइकिलबाट पुग्न सकिने नेपालका सबै ठाउँमा पुगेका छन् । मुस्ताङ मात्र दुइ पटक । दैलेखदेखि तातोपानीसम्म, फिदिम, धरान, धनकुटा सबैतिर पुगेका छन् । मंगलुरमा पढदा पनि उनी उटी, बेंगलुर र मैसुर घुमेका छन् मोटर साइकिलबाटै ।

समीद मांसाहारी हुन । उनलाई कुरिलोबाहेक सबै तरकारी मन पर्छ । कुरिलोचाहिं लाग्छ— बिरामीको खानाजस्तो । उनी आफ्नो पेसासँग सन्तुष्ट छन् । मानिसहरू हाड, नशा, टाउको जस्ता रोगले ग्रस्त भैरहेका बेला फिजियोथेरापी अपरिहार्य उपचार पद्धति हो । यो पद्धति आधुनिक चिकित्सा विज्ञानसँग जोडिएको छ । डाक्टरहरू फिजियो थेरापिस्टसँग मिलेर काम गर्छन् । स्वास्थ्य बिमा नीतिले फिजियो थेरापीको शुल्क पनि कभर गर्न थालेको छ । युवा सांसद गगन थापा स्वास्थ्यमन्त्री भएका बेला तयार पारिएको स्वास्थ्य बिमा नीतिले देशको आवश्यकतालाई सम्बोधन गरेको छ । 

हामीकहाँ राम्रो स्वास्थ्य चेतना छैन भन्छन्–समीद । त्यसका लागि व्यवसायीहरू पनि सक्रिय हुनुपर्ने आवश्यकता छ । उनीहरू छिट्टै फिजियोथेरापीमा दिइने एमबीबीएसको उपाधिलाई मान्यता दिन सरकारसमक्ष माग राख्दैछन् ।

प्रकाशित :पुस ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्