रौनक क्रिसमसको

- सुव्रत आचार्य

पुस ८, २०७४-

नक्सालस्थित भाटभटेनी सपिङ सेन्टर पुगेकी पाँच वर्षीया इभाले बिल्डिङबाहिर झिलिमिली सजाएर राखिएको क्रिसमस ट्री देखेर आफ्नो बाबासँग घरमा त्यस्तै ट्री चाहियो भनेर जिद्दी गरिन् । छोरीको जिद्दीका अगाडि उनका बाबाको केही सीप चलेन । उनले भाटभटेनीबाटै क्रिसमस ट्री र त्यसलाई सजाउन प्रयोग हुने सामानहरू किन्नैपर्‍यो । सपिङ सेन्टरबाहिर मम: स्टलमा भेटिएका इभाका बाबाले गुनासो गर्दै भने, ‘चाड अर्कै धर्मको भए पनि डेकोरेसनकै बहानामा भए पनि हामी सबैले मनाइदिनैपर्छ ।’ उनी सबै सम्प्रदायको देश भए पनि बालबालिकाहरू भने बिस्तारै पश्चिमा सम्प्रदायको चपेटामा पर्दै गएकोमा चिन्तित थिए । 

केही दिन भयो, काठमाडौंका मुख्य सपिङ सेन्टर तथा मल, रेस्टुराँ अनि होटलहरू यसैगरी क्रिसमसमय भएका छन् । हिन्दूहरूको बाहुल्यता रहेको राजधानीमा इसाई धर्मावलम्बीहरूले त जिसस क्राइस्ट जन्मिएको दिनलाई भव्यताका साथ मनाउँछन् नै, अन्य धर्मका युवायुवतीहरूसमेत डिसेम्बर २४ तारिखको साँझ ‘क्रिसमस इभ’को रमझममा हुन्छन् । रमाइलो गर्न तम्सने नेपाली युवा–युवतीहरूका लागि क्रिसमस इभ एउटा रमाइलो बहाना बन्ने गरेको छ । 

केही वर्ष भयो, नेपालमा पनि क्रिसमस इभ मनाउने चलन बढेको छ । यतिबेला काठमाडौंलगायत नेपालका प्रमुख सहरहरूमा क्रिसमसका विभिन्न कार्यक्रम आयोजित भैरहेका हुन्छन् । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसलाई सेलिब्रेसन गर्न अघिल्लो दिनको साँझ ‘क्रिसमस इभ’ मनाउने चलन छ । त्यसका लागि हप्ता दिनअघिदेखि सहरका बिजनेस  सेन्टरहरूमा क्रिसमस ट्री सजाएर राख्न थालिन्छ । भाटभटेनी सुपरमार्केटका हरेक शाखाको प्रवेशद्वारमा ठूला–ठूला क्रिसमस ट्री ठड्याएका छन् । सपिङ सेन्टरमा कार्यरत कर्मचारीहरूसमेत क्रिसमसमा लगाइने शान्ता क्लज टोपीमा भेटिन्छन् । 

त्यसो त क्रिसमसमा मात्र होइन, दसैं–तिहारमा पनि भाटभटेनीले त्यही अनुसारको डेकोरेसन गरेर आवश्यक सामग्रीहरू बिक्री गरिरहेको हुन्छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरले क्रिसमसका अवसरमा ‘सिटी सेन्टर विन्टर फेस्ट’को आयोजना गरेको छ । क्रिसमस आउनुभन्दा दुई साताअघिदेखि नै सिटी सेन्टरको भुइँ तलामा क्रिसमसको रौनक दिने डेकोरेसन भैसकेको छ । त्यसमाथि विन्टर फेस्टको रौनकले सिटिसेन्टर अहिले पूरै क्रिसमसमय भएको छ । विन्टर फेस्टका विभिन्न आकर्षणमा शान्ताको पोसाक लगाएर बसेका डमीसँग तस्बिर खिचाउने कार्यक्रम पनि छ । 

चाडपर्व र अवसरअनुसार डेकोरेसन गरेर रमाइलो गराउन नसकिए सेवामूलक व्यवसायमा पछाडि परिने दरबारमार्गस्थित क्लासिक बरमन तथा कासा लाउन्जका सञ्चालक रामप्यारा श्रेष्ठको अनुभव छ । श्रेष्ठ भन्छन्– ‘मैले पनि हरेक वर्ष आफ्नो लाउन्ज तथा बारहरूमा क्रिसमस इभमा मेरी क्रिसमस भन्दै ग्राहकहरूको स्वागत गर्नैपर्छ, अनि कुनै स्थानमा एउटा क्रिसमस ट्रिलाई डेकोरेड गरेर नराखे क्रिसमसको वातावरण पनि देखिँदैन । त्यसैले क्रिसमसको जिंगल बेल नगाए पनि विभिन्न सुमधुर गीत सुनाएर ग्राहकहरूलाई मध्यरातसम्म मनोरञ्जन दिँदै आएका छौं ।’ काठमाडौका ठमेल, दरबारमार्ग, पुतली सडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वर आदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँहरूमा क्रिसमस इभ लक्षित विभिन्न कार्यक्रमहरू आयोजित हुन्छन् । पाँचतारे होटलदेखि सामान्य लजहरू तथा सपिङ सेन्टर एवं मलहरू क्रिसमस ट्रिले झकिझकाउ बनाइन्छ । सहरभित्रका महत्वपूर्ण होटल, रेस्टुराँ, मल तथा सपिङ् सेन्टरहरूको डेकोरेसन, त्यहाँ देखिने भीड हेर्दा लाग्छ, क्रिसमस अब अधिकांश सहरिया युवायुवतीको जीवनशैलीमा भिजिसकेको छ । कतिलाई सामाजिक सञ्जालमा अपलोड भएका साथीभाइहरूको सेल्फी तथा फोटोसेसनको मोहले क्रिसमससँग जोडेको पाइन्छ भने कतिलाई सपिङ मलमा आयोजित सांगीतिक कार्यक्रमले तानेको छ । 

क्रिसमसका अवसरमा हरेक वर्ष झन्डै एक सातादेखि सहरका मलहरूमा विशेष चहलपहल देखिन्छ । सुन्धारास्थित सिभिल मलको बीचोबीच एउटा ठूलो क्रिसमस ट्री बनाइएको छ, जसको वरपर विभिन्न गिफ्टजस्ता बट्टा (खाली बट्टालाई प्याक गरेर) राखिएका छन् । निकै आकर्षक क्रिसमस ट्रीलाई झिलिमिली बत्तीले सजाइएको छ । उक्त ट्रीको वरपर झुम्मिएर तस्बिर खिच्ने वा सेल्फी लिने युवा–युवती तथा बालबालिकाहरू पनि निकै हुन्छन् । यस्तो ट्री यतिबेला काठमाडौं उपत्यका तथा उपत्यकाबाहिरका सहरका सपिङ मलहरूमा पनि राखिएका छन् । ललितपुरको लबिम मल, गोंगबुको बिजी मल, सुन्धाराको सिटिसी मल, चुच्चेपाटीको केएल टावर, दरबार मार्गको राइजिङ मल, जमलको विश्वज्योति मल आदि प्राय: सबै मलमा प्रवेश गर्ने बित्तिकै सजाइएका क्रिसमस ट्री देख्न सकिन्छ । 

क्रिसमसमा क्रिस्चियनहरू मात्र नभएर गैर क्रिस्चियनहरू पनि रम्न थालेका छन् । विशेष गरी हिन्दू समुदायका बालबालिकाहरूको मनोरजनका लागि उनीहरूका अभिभावक विभिन्न मल तथा सपिङ सेन्टर पुग्छन् । यसका साथै सहरका चोकदेखि सपिङ मलहरूमा आयोजना हुने कार्यक्रमहरूमा पनि युवायुवतीहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । क्रिसमसको रातोटोपी लगाएर हिंड्ने युवायुवतीको लर्को यतिबेला राजधानीका प्रमुख व्यापारिक केन्द्रहरूमा देखिन्छ । 

सपिङ मल र रेस्टुराँहरूमा मात्र होइन, अन्य व्यापारिक शोरुमहरूमा समेत क्रिसमसको झझल्को देख्न पाइन्छ । थापाथलीमा हालै खुलेको टाटाको शोरुममा क्रिसमसका अवसरमा भव्य डेकोरेसन गरिएको छ भने बाहिरबाटै देखिने गरी ठूलो क्रिसमस ट्रिलाई सजाएर राखिएको छ । सँगै रहेका अन्य केही गाडीका शोरुममा पनि क्रिसमसको झझल्को दिने डेकोरेसन गएको छ । 

क्रिसमसका लागि भनेर काठमाडौंका कफीसपहरूसमेत विशेष रूपमा डेकोरेट गरिएका छन् । बत्तीसपुतलीस्थित हाइल्यान्ड बिन्स कफी सपको प्रवेशद्वारमा सानो क्रिसमस ट्री सजाइएको छ । उक्त कफी सपका सञ्चालक अर्जुन भन्छन्– जस्तो अवसर वा पर्व आए पनि त्यसलाई केही विशेष बनाउन त्यहीअनुसारको डेकोरेसन गर्नैपर्छ । 

४० को दशकको मध्यदेखि काठमाडौंका पाँचतारे होटलहरूमा भव्य रूपमा क्रिसमस इभ मनाउन थालिएको हो भने अहिले त्यसले देशभरिका होटल, रेस्टुराँ तथा मलहरूमा निरन्तरता पाएको विगत साढे दुई दशकदेखि पाँचतारे होटलमा कार्यरत उमेश भट्टको अनुभव छ । अहिले र्‍याडिसन होटलमा कार्यरत भट्टका अनुसार पर्व जसको भए पनि यदि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउँछ र संसारभरी खुसी र रौनक ल्याउँछ भने सबैले त्यो पर्वको अनुसरण गर्छन । त्यसका सामू जात वा धर्म गौण हुन्छ । 

नेपालीहरूले कसरी क्रिसमस मनाउँछन् ?

जब डिसेम्बर महिना प्रारम्भ हुन्छ, तब क्रिसमसको चर्चा भै नै हाल्छ । क्रिसमस भन्नेबित्तिकै धेरैको मनमा ‘क्रिसमस ट्री’, ‘शान्ता क्लज’, बिभिन्न उपहार, चर्च तथा येशुको नाममा गरिने प्रार्थनाको सम्झना आउँछ । सपिङ मल, होटल, रेस्टुराँदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनहरूको चहलपहल पनि बाक्लिन थाल्छ ।

ललितपुर, बालकुमारीस्थित अविनाश चर्चमा प्रत्येक वर्ष भव्य रूपमा क्रिसमस मनाइन्छ । चर्चका अध्यक्ष कवि थापाका अनुसार यसरी क्रिसमस मनाउन थालेको पनि २५ वर्ष भैसकेको छ । थापाका अनुसार क्रिसमसमा त्यहाँ नाँचगान हुन्छ, उपहार आदान–प्रदान गरिन्छ अनि नयाँ आगन्तुकहरूलाई स्वागत गरिन्छ भने येशुका बारेमा जानकारी समेत दिइन्छ । त्योसँगै मीठा–मीठा १० देखि १२ वटा परिकार सबैलाई बाँडेर ख्वाइन्छ । त्योभन्दा अघि पनि घर–घरमा गएर क्यारल (येशुका बारेमा सन्देश भरिएका गीत) गाइन्छ भने यो अवसरमा केक काट्ने तथा चकलेट बाँड्ने काम पनि हुन्छ । 

मुलुकभरका गिर्जाघरहरूमा यसरी नै क्रिसमस पर्व विविध कार्यक्रमहरू आयोजित गरी मनाइन्छ । राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सीबी गहतराजका अनुसार नेपालमा झन्डै ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको इतिहास छ । हाल नेपालमा ८ हजार ५ सय गिर्जाघर तथा ९ देखि १० लाख क्रिस्चियन धर्मावलम्बी छन् । खासगरी आजभन्दा एक दशकअघिसम्म क्रिसमस चर्चमा मात्र सीमित थियो । पछिल्ला वर्षहरूमा भने होटल, रेस्टुराँ तथा सार्वजनिक स्थलहरूमा समेत क्रिसमस इभ मनाउने चलन बढ्दै गएको छ । 

काठमाडौंका ठमेल, दरबारमार्ग, ललितपुर, भक्तपुर, पोखरा, धरान, बुटवललगायतका ठाउँमा विशेष रूपमा क्रिसमस मनाइन्छ । नेपाल सरकारले डिसेम्बर २५ का दिन सार्वजनिक बिदा समेत दिँदै आएको छ । 

पास्चर डेविडका अनुसार अहिले क्रिसमस बुझेका भन्दा नबुझेकाहरूले बढी चासो दिन थालेका छन् । युवापुस्ताका लागि क्रिसमस एक प्रकारको फेसन नै भएको छ । क्रिसमसका नाममा पार्टीहरू आयोजित गर्ने, क्लब जाने, मदिरा पान गर्ने कामले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । असल र अनुशासित रूपमा क्रिसमस मनाए यसले सार्थकता पाउने डे बिड बताउँछन् । क्रिसमसलाई धर्मभन्दा पनि संस्कार, संस्कृति, सौहार्दता एवं खुसीका रूपमा लिनुपर्ने जानकारहरूको तर्क छ । 

के हो क्रिसमस ?

डिसेम्बर २५ । संसारभरका क्रिस्चियनहरूका लागि एउटा विशेष दिन अर्थात इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मदिन । क्रिसमस एउटा यस्तो चाड हो, जुन हरेक वर्ष डिसेम्बर २५ मै मनाइन्छ । जिससप्रति आस्था राख्ने संसारका लाखौं मानिसले भव्य रूपमा क्रिसमस मनाउँछन् । यो दिन संसारका कैयौं देशले सार्वजनिक बिदा दिन्छन् । आजभोलि क्रिसमस डेभन्दा ‘क्रिसमस इभ’ अझ भब्य रूपमा मनाउने चलन छ । आजभन्दा २ हजार १७ वर्षअघि इजरायलको बेथलेहम भन्ने ठाउँमा येशुको जन्म भएको थियो । येशु कुमारी मारियमको कोखबाट जन्मिएका हुन् । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको विश्वास गरिन्छ । आम मानिसलाई अन्याय, अत्याचार र बिभिन्न प्रकारका विभेदबाट उन्मुक्ति दिन येशुले ठूलो भूमिका खेलेका थिए, जसका कारण उनलाई क्रसमा झुन्ड्याएर मारियो । येशु जिसस क्राइष्टका नामले समेत चिनिन्छन् ।  

शान्ता क्लज

क्रिसमसको ठूलो आकर्षण भनेकै शान्ता क्लज हुन् । रातो टोपी लगाएका, सेतो दाह्री, जुङ्गा भएका मोटाघाटा साधूले सबैलाई उपहारका साथ खुसी बाँड्छन् भन्ने विश्वास रहँदै आएको छ । शान्ता क्लजको प्रतिक्षामा धेरै केटाकेटीहरू राति अबेरसम्म सुत्दैनन् । विभिन्न व्यक्तिहरू शान्ता क्लजको भेषमा उपहार र कोसेली बाँडदै–साँट्दै हिँड्छन्् । नाकको ठाउँमा गाजर, रातो मफलर तथा अंग्रेजी ह्याट पहिरिएको हिउँ जम्मा पारेर बनाएको स्नो म्यान विदेशका हिमाली क्षेत्रहरूमा अत्यन्त लोकप्रिय छन् । त्यसबाहेक हिउँकै चरा बनाउने, हिउँमा खेल्ने अनि नाचगान गर्ने चलन समेत छ ।

खासमा सान्ता क्लज एक व्यक्ति थिए । १६ सय वर्षअघि उनी गरिब दुखी बालबालिकाहरूलाई क्रिसमसको उपहार बाड्दै हिँड्थे । उनले अरूको अनुहारमा खुसी ल्याउन त्यो काम गर्दै आएका थिए । गरिब, दु:खी र अनाथहरूका लागि उनले हरेक तरिकाले पुर्‍याउन खोजेको सहयोगलाई स्मरण गर्दै अहिले 

प्रकाशित :पुस ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्