भात खानुभो ?

- अविरल थापा

पुस ७, २०७४

 

संसारमा धेरै ठाउँका मानिसले भात खान्छन् । नपाउने ठाउँको कुरा बेग्लै भयो । कसैले धेरै खालान्, कसैले थोरै खालान् तर भात नै नचाखेका मानिसचाहिं विरलै होलान् ।

लगभग २५०० बी.सी. तिर चीनमा धानखेती सुरु गरिएको विश्वास गरिन्छ । हिजोआज बजारमा उपलब्ध कालो धानको चामल त पहिले–पहिले चीनका बादशाहले मात्र खान पाउँथे भन्ने कुरा इतिहासमा उल्लेख भएको पाइन्छ । हामी नेपालीको प्रिय खाना भात नै हो । अझ हामी नेपालीलाई भात नभै खाएकै जस्तो लाग्दैन अर्थात् धीत मर्दैन । अरू जे–जे खाए पनि अन्तिममा पेटमा भात नपरी धेरैलाई निद्रा लाग्दैन । धेरै भात खाने भएर नेपालीहरूलाई भाते पनि भनिन्छ । हुन त गाउँघरतिर काम नगरी खान पल्किएकाहरूलाई भातमारा वा भाते भनेर गाली गर्ने चलनसमेत छ । 

के धनी के गरिब सबै दुई छाक भात खानकै लागि दिनहुँ काममा घोटिएका छन् । कसैले बास्ना आउने मसिनो चामलको भात खालान् कसैले मोटा चामलको, तर जसोतसो नेपालीले भात खाएका छन् । विकट ठाउँमा भात खानकै लागि चामलको भात कैयौं दिन हिंडेर सदरमुकाम धाएको समाचार हामीले यदाकदा पढेकै छौं । पहिले–पहिले आँटा, ढिंडो खाने ठाउँमा पनि यातायातको सुविधा पुगेर चामल पुग्न थालेपछि भात खानेहरूको संख्या अझ बढेको छ ।

आखिर भातमा त्यस्तो के छ जसलाई खान हामी मरिहत्ते गर्छौं ? दिनहुँ खाँदा पनि किन वाक्क–दिक्क भइँदैन भातसँग ? दुई जना छिमेकीको, आफन्तको वा साथीको बाटोमा भेट भए हामी सुरुमै भात खानुभो ? खाजा खानुभो ? चिया खानुभो ? भनेर सोधिहाल्छौं । तपाईंले नुहाउनुभयो वा यस्तो काम गर्नुभयो भनेर कहिल्यै सोध्दैनौं । धेरैले आखिर खानकै लागि त हो दु:ख गरेको, अब खाँदै नखाए त के मज्जा भो र भन्छन् । भात र भुँडी नेपालीका विशेषता हुन् ।

अधिकांशलाई धेरै भात खाएरै भुँडी लागेको भन्ने भ्रम छ । खाने धेरै, कसरत कम भएपछि भातले जित्ने नै भयो । अब त भात खान कम गर्छु, भुँडी लाग्यो भने पनि नेपालीले भात खान छोड्न सक्दैनन् । अरु नखानु बरु भातचाहिं टन्न खानुपर्छ भनेर आमा तथा श्रीमतीहरूले पनि कर गरेरै भात ख्वाउँछन् । धेरैको घरमा भात नै पाक्छ, खान्नँ भने पनि धर छैन । बिहान एक छाक भात छोड्यो भने सकसक लागेर बेलुका त नखाई बस्नै सकिँदैन । भात नखाएसम्म पेट नै खुसी हुँदैन ।

अझ विदेशतिर जाँदा कति दिनसम्म भात खान पाइएन भने त्यसको छट्पटी बेग्लै हुन्छ । मुखमा भात परेपछि आँत नै हरहर भएर आउँछ । कर्मचारीले घुस माग्दासमेत हामीले पनि त भात खानुपर्‍यो नि हजुर भनेर माग्छन् । कसैले निन्याउरो अनुहार लगाए पनि के सात दिनसम्म भात खान नपाएजस्तो अनुहार लगा’को नि भनिन्छ । पाहुनालाई पनि हाम्रोमा भात खान आउनु है भनेर बोलाइन्छ । बेलैमा घर आइपुगिएन भने पनि भात खाने बेला भैसक्यो, अझै घर आउनु पर्दैन भनेर घरका आमाबाबु वा श्रीमान्–श्रीमतीले हकार्छन् ।

नेपालीले दाल र भात, गुन्दु्रक र भात, मासु र भात जेसँग पनि भात नै मिठो मानेर खान्छन् । भात खाएर निस्किए आनन्द, होइन भात त खाएर जानु न, भातै खाएको छैन यार, अझै भात पकाएको छैन— त्यस्ता शब्दावली दिनहुँजसो सुनिरहिएकै हुन्छ । एक थाल भात नगोदेसम्म नेपालीलाई काम गर्ने जाँगर चल्दैन । भात खानासाथ कोही सुत्यो वा निदायो भने पनि भाते निद्रा लागेछ भनिन्छ । कोही अचानक पाहुना लाग्न आइपुग्यो भने उसलाई अरू कुरा खान दिएर हुँदैन भात नै पकाएर ख्वाउनपर्छ, अन्यथा राम्रो सत्कार गरेको ठहरिँदैन । अझ मासु र भात ख्वाइएन भने त त्यसको घरमा एक दिन जाँदा पनि मासुभात ख्वाएन, ए अब त के जानु भनेर कुरा काट्न थालिहाल्छन् । 

अझ सहरतिर त कसको घरमा कति पैसा पर्ने कुन चामलको भात पाक्छ भनेर गृहिणीबीच गफ र फुर्तीफार्तीकै विषय हुन्छ । सहरतिर भातलाई सभ्य भाषामा भुजा भन्ने चलन छ, तर भात खानु भो भनेर सोध्दा जति मज्जा भुजा खानु भो भनेर सोध्दा आउँदैन ।

कोही–कोही त कस्तो भुजा–के भुजा भनेर झुक्किन्छन् पनि । जसले जे भनेर सोधोस् वा खाओस् तर भात भनेको भातै हो । कतिको चम्चाले भात खाने पनि बानी हुन्छ, तर हातले मुछेर गमगम गाँस हालेर सप्य्राक–सप्याक पार्दै भात खाएजस्तो मज्जा त कहाँ आउँछ र † ए साँच्चै सोध्नै पो बिर्सिएको, तपाईंहरूले आज भात खानुभो त ?

                                                      Facebook.com/abeeralthapa

                                                              Twitter@abeeralthapa

प्रकाशित :पुस ७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्