Teej banner

क्युट लुक्सका प्रदीप खड्का

- कृष्ण भट्टराई

पुस ६, २०७४

प्रदीप खड्का नेपाली चलचित्रका व्यस्त अभिनेता हुन् । उनले अभिनय गरेका चलचित्रहरू एकपछि अर्को गर्दै सफल भएपछि उनको व्यस्तता चुलिएको छ । अधिकांश निर्माता–निर्देशकहरू उनलाई अभिनय गराउन तयार छन्, यद्यपि उनले सबैलाई समय दिन सकेका छैनन् ।

महँगो पारिश्रमिक लिने कम अभिनेताहरूको सूचीमा अग्रपंक्तिमा आउने अभिनेता खड्काले प्रेमगीत तथा प्रेमगीत–२ चलचित्रबाट राम्रै क्रेज बनाएका छन् । यतिबेला बेलायतमा चलचित्र लिलिबिलीको छायांकनमा व्यस्त अभिनेता खड्काका बारेमा उनलाई नजिकबाट चिन्नेहरूले गरेको टिप्पणी : 

प्रदीप खड्का अहिलेको पुस्ताका राम्रो अभिनय गर्न सक्ने अभिनेता हुन् । व्यक्तिगत रूपमा मैले उनलाई अति नै मिलनसार, सरल तथा सहयोगी पाएको छु । 

मिलन चाम्स, निर्देशक

प्रदीप खड्काका बारेमा मैले अंग्रेजीमा एउटा भनाइ तयार पारेकी छु । त्यो हो— रिच माइन्ड, रिच बडी, रिच सोल विद रिच भिजन अर्थात् दिमाग, शरीर, आत्मा तथा दृष्टिकोणको हिसाबले पनि अब्बल । 

अश्लेषा ठकुरी, अभिनेत्री 

प्रदीप खड्का अभिनयमा राम्रो दख्खल भएका अभिनेता हुन् । खड्कामा जस्तोसुकै चरित्रलाई क्षण भरमै आफ्नो बसमा पार्न सक्ने खुबी छ । व्यक्तिगत रूपमा उनी मिलनसार छन् । टिमका लागि समर्पित सबैलाई समान रूपले हेर्ने उनको बानीको प्रशंसा गर्नै पर्छ । व्यक्तिगत रूपमा भन्नुपर्दा उनी मेरा माइ डियर मान्छे हुन् । 

सन्तोष सेन, साथी/निर्माता

चलचित्र क्षेत्रमा आउनुअघिदेखि नै म प्रदीप खड्कालाई चिन्थें । हामीले मिलेर चलचित्र ‘ठूलो मान्छे’ बनाएका थियौं । प्रदीपले अभिनय गरेको उक्त चलचित्रले राम्रो व्यवसाय गर्न नसके पनि सकारात्मक प्रतिक्रिया भने पाएको थियो । उक्त चलचित्रका लागि प्रदीप र मैले प्रसस्त मेहनत गरेका थियौं । मेरो विचारमा प्रदीप राम्रो भिजन भएका व्यक्ति हुन् । प्रतिभाशाली हुनुका साथै उनी परिश्रमीसमेत छन् । मैले उनलाई काम गर्न सहज कलाकारका रूपमा चिनेको छु । अभिनय गर्ने क्रममा उनी आफ्ना विचारहरू पनि व्यक्त गर्छन्, जसले निर्देशकलाई काम गर्न सहज हुन्छ । उनमा अभिनयको प्राकृतिक क्षमता पनि छ । मलाई लाग्छ उनी आफ्नो पुस्ताका सफल अभिनेता हुन् । 

प्रशान्त तामाङ, साथी/निर्देशक

मैले प्रदीप खड्कालाई राम्रो अभिनय गर्ने अभिनेताका रूपमा चिनेको छु । खासगरी चलचित्र प्रेमगीतमा प्रदीप र पूजा शर्माको केमेस्ट्री लोभलाग्दो थियो । प्रदीप व्यक्तिगत जीवनमा समेत सहयोगी छन् । उनको चकलेटी र क्युट लुक्सको म प्रशंसक नै हुँ । मलाई उनको अभिनय गर्ने सरल शैली मनपर्छ । उनलाई म नेपाली स्टारहरूमध्ये एउटा स्टार मान्छु । 

उत्सव रसाइली, पत्रकार

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्