नेताको क्यारिकेचर गर्न सक्छु

- कृष्ण भट्टराई

पुस ६, २०७४

गायिका अञ्जु पन्त नेपाली सांगीतिक क्षेत्रको नयाँ नाम होइन । सुगम संगीत तथा चलचित्रको पाश्र्व गायनका कारण अञ्जुले आफूलाई लोकप्रिय गायिकाका रूपमा स्थापित गरिसकेकी छिन् । आधुनिक शैलीका सयौं गीतकी यी गायिका विभिन्न कलेक्सन एल्बमहरूका लागि दिनको तीन–चारवटा गीत रेकर्ड गराइरहेकी हुन्छिन् । गीतकार, संगीतकार तथा गायकहरू अञ्जुको स्वरलाई पर्खेरै बसेका हुन्छन् । चलचित्रको पाश्र्व गायनमा त अञ्जुले आफूलाई अब्बल प्रमाणित नै गरिसकेकी छिन् । दर्जनौं नेपाली चलचित्रमा पाश्र्व गायन गरिसकेकी गायिका पन्तले पछिल्लो एक वर्षयता गाएका चलचित्रका गीतहरू अत्यधिक लोकप्रिय छन् ।

तीमध्ये सुर्के थैली खै, पूर्व–पश्चिम रेल, तिमी रोएको पल तिमीलाई, चरी चट्ट परी, मैले तिमीलाई मन पराको अवस्था हो, जब–जब तिम्रो साथ मिल्दै गयो, तिमी नि आधा म पनि आधा, म यस्तो गीत गाउँछु, साइबा हो साइबा आदि गीत सर्वाधिक लोकप्रिय मानिन्छन् । सांगीतिक कार्यक्रमका क्रममा स्वदेशका अधिकांश गाउँ–सहरदेखि विदेशका अधिकांश देशको भ्रमण गरिसकेकी अञ्जु यतिबेला १५ वर्षीया छोरी परितोषिका तथा परिवारका सदस्यहरूसंगै बस्छिन् । रेकर्डिङको व्यस्तताबीच गायिका पन्तले साप्ताहिकसँग आफ्नो सेक्रेट कुरा बताएकी छिन् । 

घरमा बिन्दास 

सार्वजनिक समारोह तथा कन्सर्टहरूमा स्रोता तथा दर्शकहरूले मलाई गम्भीर मुद्रामा पाउनुहुन्छ । घरमा भने म त्यसको ठीक विपरित हुन्छु । परिवारसँग घरमा भएका बेला म ठूलो स्वरमा गीत बजाएर नाच्छु, मीठा–मीठा पकवान बनाएर सबैलाई ख्वाउँछु, यसो गर्दा म फ्रेस हुन्छु । 

अभिनय 

मैले अहिलेसम्म कुनै पनि म्युजिक भिडियोमा अभिनय गरेकी छैन, परिवारका सदस्यमाझ म प्राय: अभिनय गरिरहेकी हुन्छु । म खासगरी सानी नानीको जस्तो बोली बोल्दै सबैलाई रमाइलो अनुभूति गराउन सिपालु छु । मेरा आफन्तहरूमा मात्र सीमित मेरो यो बानीले मलाई असाध्यै आनन्द दिन्छ । 

क्यारिकेचर

पत्याउनु हुन्न होला, म थुप्रै नेता तथा केही गायक–गायिका अनि नायक–नायिकाको दुरुस्तै क्यारिकेचर गर्न सक्छु । सार्वजनिक समारोहमा मैले आफ्नो प्रतिभा प्रस्तुत गरेकी छैन । ममा भएको यो प्रतिभा कुनै दिन प्रस्तुत गर्ने मौका पाएँ भने दर्शकले पक्कै रमाइलो मान्नु हुनेछ भन्ने मेरो विश्वास छ । 

मोटी र पातली 

मेरी ममी र ठूली दिदी मोटी हुनुहुन्छ । म उहाँहरूलाई मायाले मेरी पातली भनेर बोलाउँछु । पातली भन्दा भन्दै दिदी त साँच्चिकै पातली हुँदै जानु भएको छ । 

खानपिन

मलाई खानासँग अनिवार्य रुपमा लसुन, डल्ले खुर्सानी र जिरे खुर्सानी चाहिन्छ । त्यसबाहेक मलाई निस्तो खानासँग अदुवा, लसुन, नुन तथा खुर्सानीको मिक्स अचार भएपछि अरू केही चाहिँदैन । 

कत्थक नृत्यांगना

म नृत्यमा अब्बल छु जस्तो लाग्छ । खासगरी म घुँगरु लगाएर कत्थक नाच्न रुचाउँछु । म नाचेर आफ्नै छोरीलाई देखाउँछु, उसले रमाइलो पनि मान्छे । 

तबलावादन

संगीतकर्मी भएपछि कुनै न कुनै बाजा बजाउन जान्नु अनिवार्य नै हुन्छ । हार्मोनियम बजाउनु त सामान्य नै हो, म तबला बजाउन पनि असाध्यै मनपराउँछु । फुर्सदका बेला म घरमा तबला बजाइरहेकी हुन्छु । 

सहयोगी 

म छोटो अथवा लामो दूरीको यात्रा गर्दा बाटोमा दिनदु:खी तथा असायहरूलाई देखें भने गाडी रोकेरै भए पनि केही समय उनीहरूसँग भलाकुसारी गर्छु । केही पैसा वा केही उपहार दिएर मात्र अघि बढ्छु । यो क्रममा उनीहरूले मलाई चिन्दैनन्, किनभने म प्राय: मास्क लगाइरहन्छु । मेरी फुपूको छोरा (मोहन केसी) जन्मँदै सुस्त मनस्थितिको हुनुहुन्थ्यो । उहाँलाई मैले नै स्याहार–सुसार गरेर हुर्काएकी हुँ । अहिले पनि मलाई सुस्त मनिस्थितिका बिरामी देख्दा सहयोग गरौं भन्ने लाग्छ । 

प्रार्थना

बिहान उठेर रियाज गर्नु त छँदैछ, त्यसका साथै म हरेक बिहान देश–विदेश र सबै जातिका लागि प्रार्थना गर्छु । यसो गर्दा मनलाई एक प्रकारको सन्तुष्टि मिल्छ । 

छोरी होइन साथी

छोरी परितोषिका मेरी सबैभन्दा नजिककी साथी हुन् । उनीसँग म प्राय: साथीकै व्यवहार गर्छु । छोरीसँग कुराकानी गर्दा घण्टौं बितेको पत्तो पाउँदिन । 

 

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्