Teej banner

नगरेको भए हुन्थ्यो

- सुविन भट्टराई

पुस ६, २०७४

वर्तमानको झ्यालबाट अतीतको गोरेटोतर्फ चियाउँदा धेरै थोक भेटिन्छन् । ती अतीतका गोरेटोतिर जोस्सिएर हिँडेको, हिँड्दा–हिँड्दै थकाइ लागेको, अनि कतै चौतारामा आराम गर्न बसेको । थकाइको लामो सुस्केरा छाडेको । फेरि हिँडेको अनि फेरि रोकिएको । कहीँ ठेस लागेको कहीँ सुन्दर दृश्य देखेर मन आनन्दित भएको । कहीँ हराएको अनि कहीँ भेटिएको ।

अनि यस्ता धेरै चीज देखिन्छन्, जो जुनबेला देखियो, जुनबेला भेटियो, नदेखेको भए हुन्थ्यो, नभेटेको भए हुन्थ्यो झैँ लाग्छ । छ्यास्स लागेका ठेसहरू सम्झँदा कतिपय बाटो नहिँडेकै बेस हुन्थ्यो जस्तो लाग्छ । अनि केही अवसरहरूबाट वञ्चित हुँदा कतिपय बाटो किन हिँडिएन भन्ने लाग्छ ?

खराब संगतले प्रताडित हुँदा, कतिपय मानिससँग नभेटेकै भए हुन्थ्यो जस्तो लाग्छ । असल संगत भएका कतिपय यस्ता व्यक्तिहरूसित संगत गर्ने अवसर किन गुमाइयो भन्ने पनि लाग्छ ।

कतिपय काम, जो गरिए, तर असफलतामा दरिए, अहिले आएर लाग्छ, नगरेकै भए हुन्थ्यो । कति कामहरू, जो आफ्नो सट्टा अरुले नै गरे, र सफलताको सिँढी चढे अहिले लाग्छ आफैँले गरेको 

भए हुन्थ्यो ।

कतिपय कुरा, जसलाई भनियो, उसलाई नभनेको भए हुन्थ्यो जस्तो लाग्छ अनि जसलाई भन्न जरुरी थियो, उसलाई किन भनिएन भन्ने लाग्छ ? कतिपय संवाद छन्, जसलाई जुन ठाउँमा बोलियो, लाग्छ त्यहाँ नबोलेको भए हुन्थ्यो । कतिपय संवाद, जो जहाँ बोलिन जरुरी थियो, त्यहाँ किन बोलिएन भन्ने लाग्छ ?

कति ठाउँहरू यस्ता छन्, जहाँ नगएकै भए हुन्थ्यो जस्तो हुन्छ । कति ठाउँ छन्, जहाँ किन गइएन भन्ने अपसोस भैरहन्छ ? जहाँ रोइयो, बगेर गएको आँसु सम्झँदा, त्यहाँ नरोएको भए हुन्थ्यो जस्तो लाग्छ । कतिपय घाउहरू छन्, जो नदुखेको भए हुन्थ्यो जस्तो लाग्छ ।

कति निर्णयहरू छन्, जो त्यतिबेला नगरेकै भए हुन्थ्यो जस्तो लाग्छ अनि कतिपय निर्णय गर्नुपर्ने ठाउँमा नगर्नाले आइलागेका समस्या सम्झँदा अपशोच लागेर आउँछ । लिटरौँ आँसुको कारण बन्ने यस्ता प्रेमपनि भेटिन्छन्, जो जीवनमा नभएकै भए हुन्थ्यो भन्ने लाग्छ । कतिपय प्रेम, जो खुसीको कारण बन्न सक्थ्यो, किन भएन भनेर अपशोच लागिरहन्छ ।

सुदुर अतीतमा चियाउँदा आज पनि यस्तो लाग्छ, कि यस्ता धेरै सम्झना छन्, जो बारम्बार नआइदिएकै भए हुन्थ्यो जस्तो लाग्छ । यस्तै हुँदो रहेछ मानिसको स्वभाव, कि जे भएन त्यो हुनुपथ्र्यो भन्ने लाग्छ र जे भयो, त्यो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।

जे भए ती नभएको भए जिन्दगीले अर्कै मोडलिन्थ्यो, यस्तो हरकोहीलाई सधैँ लागिरहन्छ अनि जे भएन, त्यो भएको भए पनि जिन्दगीले अर्कै मोड लिन्थ्यो । यस्तोमा मानिस कुनै पनि घटना, संगत वा निर्णयलाई होइन, आफूलाई, आफ्नो अवस्थालाई बदल्न चाहन्छ । 

जे भेटियो, जस्तो भेटियो, जहाँ भेटियो, जसरी भेटियो, यही जिन्दगी ठीक हो । यस्तो नभैदिएको भए वा उस्तो भैदिएको भए भन्ने लोभ त कल्पनामा मात्र मीठो होला । जे भए तीभन्दा केही फरक भैदिएको भए, के थाहा जिन्दगी योभन्दा खत्तम हुन्थ्यो कि ? जिन्दगीमा जेजति खुसी हाम्रो पोल्टोमा पर्‍यो, त्यो पनि पर्ने थिएन कि ? 

जिन्दगीमा गलत निर्णयहरू कुनै न कुनै बेला सबैले लिन्छन्, तर सही निर्णय लिएको पनि सम्झनुपर्‍यो । जिन्दगीमा कुनै न कुनै बेला खराब संगत सबैले गर्छन्, तर असल संगत भएको पनि याद गर्न सक्नुपर्‍यो । सधैँ नहिँडेका बाटाहरू मात्र सुन्दर हुँदैनन् । हिँडेर आनन्द मानिएका बाटाहरूको सुन्दरतालाई पनि चिन्न सक्नुपर्छ । जिन्दगीमा घाउले त एकछिन दुखाउँछ, तर त्यही घाउले जीवनपर्यन्त धेरथोर सिकाउँछ । अहिले हामी जुन दिन, जुन समय अनि जुन अवस्थामा छौँ सबैभन्दा सुन्दर र उत्कृष्ट जीवन नै यही हो । यहाँसम्म, यो अवस्थासम्म आइपुग्न राम्रा र नराम्रा दुवै किसिमका घटना घटित भए । राम्रा चीजहरू याद गर्नलाई भए, नराम्रा चीज पाठ पढ्नलाई भए । 

यतिबेला यो स्तम्भ लेख्ने क्रममा, म सोचिरहेको छु कि मैले जे लेखेँ, सम्भवत: ठीकै लेखेँ ।

 

प्रकाशित :पुस ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्