हेभीवेट हार

- साप्ताहिक संवाददाता

पुस ५, २०७४

 

निर्वाचन अवधिमा देशभरका केही निर्वाचन क्षेत्रहरू ठूलो चर्चामा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रतिस्पर्धामा उत्रिएको चितवन–३ होस् वा शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेल्धुरा नै किन नहोस् । त्यहाँको रोचक प्रतिस्पर्धालाई लिएर चौतर्फी बहसहरू भैरहेका थिए, तर यी दुवै ठाउँमा दाहाल र देउवाले भारी मतान्तरमा विजय हासिल गरे । 

 

निर्वाचन अवधिभर कम चर्चामा रहेका क्षेत्र हुन् बर्दिया–१ र तनहुँ–१ । जहाँबाट क्रमश: एमाले उपाध्यक्ष वामदेव गौतम र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा थिए । उनीहरूका पक्षमा देखिएको भनिएको जनमत र चुनावी विश्लेषणले गौतम र पौडेलले सहजै जित हासिल गर्ने अनुमान गरिएको थियो । अझ बर्दियामा वाम जनमत ठूलो भएका कारण वाम एकताका सूत्रधार गौतमले हार्ने कल्पना कसैले गरेका थिएन् । 

 

तर वामदेव नेपाली कांग्रेसका नेता तथा सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भए । त्यो पनि ७ सय ५८ को झिनो मतान्तरले । वामदेवले ४४ हजार ७६ मत पाए भने सञ्जयले ४४ हजार ८ सय ३४ मत प्राप्त गरेका थिए । वामदेवको हारलाई कतिपयले बर्दियाको विकासमा उनको निष्क्रिय भूमिकालाई कारण मानेका छन् भने केहीले केपी ओली निकट एक पूर्व सांसदको अन्तर्घातका कारण हारेको बताइरहेका छन् । वामदेव स्वयंले भने आफूलाई हराउन ठूलो षड्यन्त्र भएको दाबी गरेका छन् । 

 

सदाबहार विजेताको छवि बनाएका रामचन्द्र पौडेलको हारलाई कसैले पचाउन सकेका छैनन् । २०४८ यताका सबै पाँचवटा निर्वाचन जितेर डबल ह्याट्रिकको दाउमा रहेका पौडेल नेकपा एमालेका जिल्लास्तरीय नेता कृष्णकुमार श्रेष्ठसँग पराजित भए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याउँदा पौडेलले २७ हजार ६ सय ७५ मत मात्र पाए । जबकि उनले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा चुनावी प्रचारमा अगाडि सारेका थिए, तर पौडेलको उक्त प्रचारले आम मतदाताको मत जित्न सकेन् । 

 

कोइराला परिवारको विरासत भएको भूमि मानिन्छ— मोरङ । शेखर कोइराला कांग्रेसकी कुनै समयकी चर्चित नेतृ नोना कोइरालाका छोरा हुन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढ्दादेखि नै राजनीतिमा सक्रिय शेखर ०६४ सालको संविधानसभा उपनिर्वाचनमा मोरङ–७ बाट विजयी भएका थिए भने उनी ०७० मा पनि सोही क्षेत्रबाट निर्वाचित भए । 

 

कोइराला परिवारको लिगेसी, दुई पटक सोही क्षेत्रबाट निर्वाचन जितेको र राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि भएका कारण शेखर कोइराला यस पटक पनि मोरङ–६ बाट जितका प्रबल दाबेदार थिए, तर यी हेभीवेट उम्मेदवार पनि पराजित हुन पुगे । कोइरालालाई नेकपा एमालेका लालबाबु पण्डितले ६ सय ७५ मतान्तरले पराजित गरे । पण्डितले ३३ हजार ९ सय ४१ मत पाउँदा कोइरालाले ३३ हजार २ सय ६६ मत मात्र पाए ।

 

गौतम, पौडेल र कोइरालाजस्तै थुप्रै हेभीवेटले यस पटक हारको स्वाद चाखेका छन्, जसमा सिन्धुपाल्चोक–२ का राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरादेखि गोरखा–२ का माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसम्म छन् । नाति जर्नेलका रूपमा चर्चित पशुपति सिन्धुपाल्चोकमा एमाले उम्मेदवार शेरबहादुर तामाङसँग ८ हजारभन्दा बढी मतान्तरले पराजित भए । गोरखामा माओवादी केन्द्रका प्रभावशाली नेता श्रेष्ठ नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईसँग ६ हजार ८७४ मतले पराजित भए । 

 

राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ मा पराजित भए । उनी एमाले नेता कृष्णप्रसाद दाहालसँग पराजित भएका हुन् । थापाले ३४ हजार ५ सय ५८ मत ल्याउँदा दाहालले ४० हजार ६ सय ३० मत पाए । नेपाली कांग्रेसभित्र तेस्रो धारको अगुवाइ गरिरहेका पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला झापा–३ मा हार बेहोर्न बाध्य भए । उनी वाम गठबन्धनको साथ पाएका राप्रपा नेपालका उम्मेदवार राजेन्द्र लिङ्देनसँग १३ हजारभन्दा बढी मतान्तरले पराजित भए । यस्तै, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्य माओवादी नेता अमनलाल मोदीसँग मोरङ–४ मा ६ हजार ७ सय २९ मतले पराजित हुन पुगे । 

 

नेपाली कांग्रेसमा शेरबहादुर देउवापछि सभापतिका दाबेदार मानिएका विमलेन्द्र निधिले पारिवारिक विरासत रहेकै क्षेत्रमा पराजय भोग्नुपर्‍यो । धनुषा–३ का उम्मेदवार निधिलाई सर्लाहीबाट चुनाव लड्न धनुषा पुगेका राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले पराजित गरे । महतोले ३० हजार ७ सय ४२ मत ल्याउँदा निधिले २७ हजार ८ सय २८ मत पाए । नुवाकोट–१ र २ मा क्रममा पटक–पटकका मन्त्री तथा प्रभावशाली कांग्रेस नेताहरू रामशरण महत र अर्जुनरसिंह केसीको हारलाई पनि हेभीवेट हार मानिएको छ । केसीलाई एमाले उम्मेदवार नारायण खतिवडाले १० हजारभन्दा बढी मतले पराजित गरे भने महतलाई माओवादी उम्मेदवार हितबहादुर तामाङले ८ हजारभन्दा बढी मतान्तरले पराजित गरे । लमजुङमा कांग्रेसका प्रभावशाली नेता दिलबहादुर घर्ती माओवादी केन्द्रका नेता देव गुरुङबाट पराजित हुन पुगे । घर्तिले ३१ हजार ६७ मत प्राप्त गर्दा गुरुङको पक्षमा ३९ हजार ४ सय ६८ मत खस्यो । 

 

सुर्खेत–१ मा कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्का र ह्दयराम थानी पराजित हुन पुगे । उनीहरू दुवै एमाले उम्मेदवारहरूबाट पराजित भएका थिए । कञ्चनपुर–३ मा कांग्रेसका अर्का प्रभावशाली नेता रमेश लेखक झिनो मतान्तरले पराजित भए । उनी एमाले उम्मेदवार दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भए । 

 

पटक–पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा धनकुटामा नराम्रोसँग हार्न पुगे । उनी एमालेका राजेन्द्र राईसँग १० हजारभन्दा बढी मतान्तरले पराजित भए । भक्तपुर–२ मा कांग्रेसका पुराना नेता दमननाथ ढुंगानामाथि एमाले युवा नेता महेश बस्नेत हावी भए । बस्नेतसँग पूर्व सभामुख ढुंगाना दोब्बर बढी मतान्तरले पराजित भएका थिए । ढुंगानाले १८ हजार ६ सय ७५ मत ल्याउँदा विजयी बस्नेतले भने ३६ हजार ४ सय १२ मत पाएका थिए । यस्तै, सोलुखुम्बुमा कांग्रेस उम्मेदवार तथा पूर्वमन्त्री बलबहादुर केसी, काठमाडौं–८ मा पूर्वमन्त्री नवीन्द्रराज जोशी तथा प्युठानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सिइओ गोविन्दराज पोखरेल पराजित भए । 

 

धनाढ्य मन्त्रीको छवि भएका राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले रुपन्देही–३ मा विजयको झन्डा फहराउन सकेनन् । बहालवाला स्वास्थ्य मन्त्री बोहोरा एमालेका घनश्याम भुसालसँग ५ हजारभन्दा बढी मतले पराजित भए ।

 

निर्वाचनमा बहालवाला मन्त्रीहरू पनि बढारिए । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक–१ मा माओवादी नेता अग्निप्रसाद सापकोटासँग १० हजारभन्दा बढी मतान्तरले पराजित भए । कास्की–१ मा कानुनमन्त्री यज्ञबहादुर थापा, डोटीमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर, चितवन–३ मा वनमन्त्री विक्रम पाण्डे पराजित भए । यस्तै, बर्दिया–२ मा भूमिसुधार मन्त्री गोपाल दहित पनि 

 

हार्नेहरूको सूचीमा सामेल भए । सहरी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत काठमाडौं–३ मा पराजित भइन् । उनी एमाले उम्मेदवार कृष्ण राईसँग ४ हजार २ सय ७५ मतले  पराजित भएकी थिइन् । महिला तथा बालबालिका मन्त्री तथा राप्रपाका विक्रमबहादुर थापा काठमाडौं–७ मा एमाले उम्मेदवार रामवीर मानन्धरसँग पराजित हुन पुगे । 

 

बारा–३ मा श्रममन्त्री फरमुल्लाह मन्सुर पराजित भए । धनुषा–२ मा कृषिमन्त्री रामकृष्ण यादव पनि पराजित भए । धनुषा–४ मा खानेपानीमन्त्री कांग्रेस उम्मेदवार महेन्द्र यादव एमाले नेता रघुवीर महासेठसँग २ हजार ५ सय ४१ मतान्तरले पराजित भए । 

 

बहालवाला उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई ५ हजार ५ सयभन्दा बढी मतले पराजित गर्दै स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी नेतृ पद्मा अर्याल विजयी भएकी छिन् ।  

प्रतिनिधिसभा /१६५ सिट

(प्रत्यक्ष निर्वाचित) 

एमाले

८०
माओवादी केन्द्र ३६ 
नेपाली कांग्रेस  २३ 
राजपा ११

संघीय समाजवादी फोरम  

१०
राप्रपा १ 
राष्ट्रिय जनमोर्चा १ 
नेमकिपा १ 
नयाँ शक्ति १ 
स्वतन्त्र १ 
   

प्रदेशसभा/३३० सिट (प्रत्यक्ष निर्वाचित) 

प्रदेश नं. १ (५६ स्थान) 

एमाले ३६
माओवादी १०
कांग्रेस

संघीय समाजवादी फोरम

स्वतन्त्र १ 
   

प्रदेश नं. २ (६४ स्थान)

संघीय समाजवादी फोरम

२०
राजपा १५
एमाले १४
कांग्रेस
माओवादी केन्द्र ६ 
स्वतन्त्र १ 

प्रदेश नं. ३ (६६ स्थान)

एमाले ४२
माओवादी केन्द्र १५
कांग्रेस
नयाँ शक्ति १ 
नेमकिपा १ 

प्रदेश नंं. ४ (३६ स्थान) 

एमाले १७
मओवादी केन्द्र
कांग्रेस
राष्ट्रिय जनमोर्चा
नयाँ शक्ति पार्टी
स्वतन्त्र

प्रदेश नं. ५ (५२ स्थान)

एमाले २८
माओवादी केन्द्र १४
कांग्रेस
संघीय समाजवादी फोरम नेपाल

प्रदेश नं. ६ (२४ स्थान) 

एमाले १४
माओवादी केन्द्र
कांग्रेस १ 

प्रदेश नं. ७ (३२ स्थान)

एमाले १७
माओवादी केन्द्र १०
कांग्रेस
राजपा १ 

 

प्रकाशित :पुस ५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्