सन् २०१७ मा सर्वाधिक आम्दानी गर्ने खेलाडीहरू

- साप्ताहिक संवाददाता

पुस ४, २०७४

क्रिस्टियानो रोनाल्डो

फुटबल

पोर्चुगलका फुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अहिले रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । रोनाल्डोले यो वर्ष ९ अर्ब ६७ करोड २० लाख रुपैयाँ आम्दानी गरे । उनलाई रियल म्याड्रिडले ५ अर्ब २० करोड रुपैयाँ दिने सर्तमा अनुबन्ध गरेको छ भने नाइकी कम्पनीले उनलाई जीवनभरका लागि ब्रान्ड एम्बेसडर बनाएको छ । त्यसबाहेक रोनाल्डोले क्लब फुटबलमा विजेता भएबापत बोनस तथा आफैले सञ्चालनमा ल्याएको ब्रान्ड ‘सी सेभेन’ बाट पनि राम्रै आम्दानी गरेका छन् । 

लिब्रोन जेम्स

बास्केटबल

अमेरिकाको नेसनल बास्केटबल एसोसिएसनको चार पटक मोस्ट भ्यालुएबल प्लेयर्स भएका जेम्स सन् २०१४ देखि क्लेभल्यान्ड टिममा छन् । सन् २०१६–१७ को सिजनमा ३ अर्ब १२ करोड रुपैयाँ पारिश्रमिकमा अनुबन्ध भएका जेम्स माइकल जोर्डन र कोबे ब्रायनपछि सर्वाधिक पारिश्रमिक लिने खेलाडी पनि हुन् । नाइकी, कोकाकोला, किया मोटर्स आदि कम्पनीसँग अनुबन्धमा रहेका जेम्सले यो वर्ष ८ अर्ब ९६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

लियोनल मेस्सी

फुटबल

अन्तिम समयमा निर्णायक गोल गरेर सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाको सिट सुरक्षित गराउन सफल लियोनल मेस्सी बार्सिलोना क्लबसँग आबद्ध छन् । जर्मनीको स्पोर्ट्स कम्पनी एडिडाससँग जीवनभर व्यापारिक सम्झौता गरेका मेस्सीले २ अर्ब ८० करोड रुपैयाँ आम्दानी गर्छन् । क्लब, बोनस र अन्य कम्पनीहरूसँगको अनुबन्धबाट यो वर्ष उनले ८ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

रोजर फेडेरर

टेनिस

पाँच पटक अस्ट्रेलियन ओपन, एकपटक फ्रेन्च ओपन, आठ पटक विम्बल्डन तथा पाँच पटक अमेरिकी ओपन जितेका स्विट्जरल्यान्डका फेडेररले यो वर्ष ६ अर्ब ६५ करोड ६० लाख रुपैयाँ आम्दानी गरे । फेडेरर नाइकी, विल्सन, रोलेक्स, मर्सिडिजजस्ता चर्चित कम्पनीको ब्रान्ड एम्बेसडर हुन् ।

केभिन डुरान्ट

बास्केटबल

ओक्लोहोमा सिटीबाट सन् २०१६–१७ मा गोल्डेन स्टेट वारियर टिममा गएका बास्केटबल खेलाडी केभिनले यो वर्ष ६ अर्ब ३० करोड २४ लाख रुपैयाँ आम्दानी गरेका छन् । नाइक, बिट्स, इन्स्युरेन्सजस्ता कम्पनीका ब्रान्ड एम्बेसडर केभिनलाई नाइकीले सन् २०१४ देखि १० वर्षका लागि अनुबन्ध गरेको छ । यो अनुबन्धबापत उनले ३१ अर्ब २० करोड रुपैयाँ प्राप्त गरे ।

एन्ड्रयु लुक

एनएफएल

अमेरिकाको नेसनल फुटबल लिगका खेलाडी एन्ड्रयु यो वर्ष आम्दानीका दृष्टिकोणले छैटौं स्थानमा छन् । कोल्ट क्लबले एन्ड्रयुलाई ५ वर्षका लागि १२ अर्ब ७२ करोड ९२ लाख रुपैयाँ दिने सम्झौता गरेको छ । नाइकीलगायत विभिन्न कम्पनीसँग अनुबन्धमा रहेका एन्ड्रयुले यो वर्ष ५ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेका छन् ।

रोरी म्याकलोरी

गल्फ

गल्फर रोरीले यो वर्ष दुई महत्वपूर्ण प्रतियोगिताहरूमा सफलता हात पारे । नाइकीले उनीसँग १० वर्षे व्यापारिक अनुबन्ध गरेको छ । रोरी ओमेगा घडी र अपर डेकजस्ता ब्रान्डको पनि ब्रान्ड एम्बेसडर हुन् । रोरीले यो वर्ष ५ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेका छन् ।

स्टेफन कुरी

बाँस्केटबल

सन् २०१२ मा क्लब स्थानान्तर हुने बेलामा कुरीको मूल्य सर्वाधिक महँगो मानिएको थियो । त्यो बेला वारिअर्सले उनलाई भित्र्याउन पाँच वर्षका लागि २० अर्ब ८० करोड रुपैयाँ दिएको थियो । विभिन्न कम्पनीका ब्रान्ड एम्बेसडर कुरीले यो वर्ष ४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेका थिए ।

जेम्स हार्डेन

बास्केटबल

अमेरिकी बास्केटबल खेलाडी जेम्सलाई रकेट क्लबले भित्र्याउँदा १२ अर्ब २७ करोड २० लाख रुपैयाँ दिने सम्झौता गरेको थियो । एनबीएमा २ हजार प्वाइन्ट बनाउने र २ हजार प्वाइन्ट बनाउन सहयोग गर्ने खेलाडी जेम्ससँग आधा दर्जन कम्पनीले उनीहरूको ब्रान्डलाई प्रमोसन गर्ने सम्झौता गरेका छन् । जेम्सले यो वर्ष ४ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेका छन् । 

लुइस ह्यामिल्टन

मोटर रेस

ब्रिटिस मोटर रेस च्याम्पियन लुइसले सन् २०१७ सम्म आइपुग्दा १० पटक फर्मुला वान रेस जिते । मोटर रेसमा अहिलेको सर्वाधिक सफल खेलाडी लुइसलाई धेरै कम्पनीले आफ्नो उत्पादनको ब्रान्ड एम्बेसडर बनाएका छन् । लुइसले यो वर्ष विज्ञापन तथा खेलबाट ४ अर्ब ७८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका छन् । 

प्रकाशित :पुस ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्