समूह ए मा रुसलाई आयोजक हुनुको दबाब

- साप्ताहिक संवाददाता

पुस ३, २०७४-

विश्वकप आयोजक हुनु र त्यही टिम लिग चरणबाटै बाहिरिनुको स्थिति निकै खराब हुन्छ । यसै सन्दर्भमा आगामी विश्वकपमा रूसलाई डर हुनेछ, आयोजकका रूपमा उसको यात्रा कतै पहिलो चरणमै टुंगिने त होइन ? यस्तो स्थिति रूसका लागि ठूलो दबाबका रूपमा देखा पर्नेछ । विश्व फुटबल इतिहासमा संयोगले यस्तो एकै पटक मात्र भएको छ, जति बेला दक्षिण अफ्रिकाले प्रतियोगिताको आयोजना गरेको थियो र उक्त विश्वकपमा दक्षिण अफ्रिका दोस्रो चरण पनि पुग्न सकेन । रूसले चाहना राख्नेछ, त्यस्तो नहोस् । 

जुन १४ मा रूस र साउदी अरेबियाबीचको खेलसँगै सन् २०१८ को विश्वकप सुरु हुँदैछ र रूसले चाहेको यस्तै पहिलो खेल हो अनि लगभग यस्तै समूह पनि । विश्वकपको समूह ‘ए’ मा आयोजक रूस र साउदी अरेबियासँगै छन्— इजिप्ट र उरुग्वे । सरसर्ती हेर्दा पनि रूस यो समूहबाट दोस्रो चरण पुग्ने अनुमान गर्न सकिन्छ । घरेलु दर्शकको समर्थनले पनि केही अर्थ त बोक्ने छ नै, तर उत्तिकै महत्त्वपूर्ण तथ्य के पनि हो भने यसपटकको विश्वकपमा जति पनि टिम खेलिरहेका छन्, तीमध्ये रूस फिफाको सबैभन्दा तल्लो वरियतामा छ । 

उत्तिकै खराब अर्को तथ्य के पनि हो भने रूस एउटा स्वतन्त्र देशका रूपमा अहिलेसम्म विश्वकप फुटबलको नकआउट चरणसम्म कहिल्यै पुगेको छैन । भलै, विघटित सोभियत संघ अस्तित्वमा रहँदा विश्व फुटबलको एक शक्ति मानिन्थ्यो र उसले सन् १९६६ को विश्वकपमा चौथो स्थान हात पारेको थियो । सोभियत संघको हैसियतमा रूसले विश्वकपमा जस्तो प्रदर्शन गरेको थियो, त्यस्तै प्रदर्शन अहिलेसम्म देखिएको छैन । त्यसमाथि रूसले विश्वकपका पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको छ । 

यस्तोमा यो समूहको सबैभन्दा बलियो टिम हो, उरुग्वे । प्रतियोगिताको ड्र निस्कँदा यो टिम फिफा वरियतामा २१ औं स्थानमा थियो र यो नै यो समूहको सबैभन्दा अगाडि रहेको टिम हो । यो अर्थमा रूस र उरुग्वे नै यो समूहबाट अर्को चरणमा पुग्न बलियो सम्भावना बोकेका टिम हुन् । उरुग्वेको विश्वकप इतिहास गर्विलो छ, किनभने उसले सन् १९३० मा पहिलो विश्वकप र दोस्रो विश्वयुद्धका कारण रोकिएर पुन: प्रारम्भ भएको सन् १९५० को चौथो विश्वकपको उपाधि जितेको थियो । उरुग्वे पहिलेजस्तो शक्तिशाली त छैन, तर उसको अहिलेको खेललाई पनि कमजोर मान्न सकिँदैन । विश्वकपको समूह चरणका पछिल्ला आठ खेलमध्ये उरुग्वे एकैपटक मात्र पराजित भएको छ र त्यो चार वर्षअघि कोस्टारिकाविरुद्धको खेल थियो । उरुग्वेली टिमका प्रशिक्षक हुन्— ओस्कार ताबरेज । उनी चौथो पटक यही भूमिकामा विश्वकपमा प्रवेश गर्दैछन् । उरुग्वेसँग दुई ठूला स्टार छन्— एडसन कभानी र लुइस स्वरेजको रूपमा । कभानीले पीएसजी र स्वरेजले बार्सिलोनाका लागि अहिले युरोपेली क्लब फुटबलमा धमाका मच्चाइरहेका छन् । 

कभानीले छनौटमा १० गोल गरे । यस्तै विश्वकपमा उरुग्वेका लागि पछिल्ला १३ गोलमध्ये ७ स्वरेजकै नाममा छ । धेरै अर्थमा यो समूहमा साउदी अरेबिया र इजिप्टलाई कमजोर मान्न सकिन्छ । हुन सक्छ, यी दुई टिमको भिडन्त तेस्रो स्थानका लागि हुनेछ, अर्थात् सम्मानजनक प्रदर्शनका लागि । साउदी अरेबिया सन् २००६ यता पहिलो पटक विश्वकप खेल्दैछ र सन् १९९४ यता उसले एक खेल पनि जितेको छैन । इजिप्ट सन् १९९० यता पहिलो पटक विश्वकप खेल्दैछ र उसले त झन अहिलेसम्म कुनै पनि खेल जितेको छैन । 

कुन खेल कहिले ?

जुन १४ रूस–साउदी अरेबिया

जुन १५ इजिप्ट–उरुग्वे

जुन १९ रूस–इजिप्ट

जुन २० उरुग्वे–साउदी अरेबिया

जुन २५ उरुग्वे–रूस

जुन २५ साउदी अरेबिया–इजिप्ट

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्