जाइन्ट किलर

- साप्ताहिक संवाददाता

पुस ३, २०७४

खेलकुदमा एक शब्दावली छ– जाइन्ट किलर, जसको प्रयोग नसोचेको नतिजा हासिल गर्ने टिमका लागि प्रयोग गरिन्छ । नेपालमा नयाँ संविधान जारी भएपछिको पहिलो संघीय निर्वाचनमा पनि केही यस्तै राजनीतिक जाइन्ट किलरहरू देखिए जसले सबैलाई आश्चर्यमा पार्दै चमत्कारिक विजय त हात पारे नै, कहिल्यै हारको स्वाद नचाखेका नेताहरूलाई समेत पराजयको स्वाद चखाए । 

राजनीतिका हस्तीहरूले त्यस्ता केही व्यक्तिबाट पराजयको नमीठो स्वाद चाखे, जो न त उति चर्चामा थिए, न त उनीहरूबाट यस्ता हस्तीहरूले हार बेहोर्ने कल्पना नै गरिएको थियो । अझ रोचक त के भने केही सदावहार जितको छवि बनाएका नेताहरू नै नामै नसुनिएका र पार्टीमा पनि ठूलो कद नभएका उम्मेदवारहरूबाट पराजित भएका छन् । 

रामचन्द्रलाई हराउने कृष्णकुमार

नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका सदावहार दाबेदार मानिएका थिए— प्रभावशाली नेता रामचन्द्र पौडेल । तनहुँ–१ बाट चुनावी प्रतिस्पर्धामा होमिएका उनको हारको कल्पना कसैले गरेका थिएनन् । पौडेलको जितमा ढुक्क हुनुको कारण हो— उनले यसअघि लडेका पाँचवटै निर्वाचन भारी मतले विजयी हुनु, सशक्त र प्रभावशाली राष्ट्रिय राजनीतिक भूमिका बनाउनु । 

निर्वाचन सम्पन्न भएलगत्तै सुरु भएको मनगणनामा उनी सुरुवातदेखि नै पछि पर्दै गए । कमब्याक गर्ने र जित्ने आशा भने लगभग मध्यान्तरसम्म जीवितै थियो । यद्यपि उनका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ ‘किसान’ले अग्रता बढाउँदै लगे । २०४२ सालदेखि राजनीतिमा लागे पनि उति हाइट नबनाएका नेता श्रेष्ठले अग्रता बढाउँदै गएपछि रामचन्द्रको जितको सम्भावना पनि कम हुँदै गयो । अन्तत: होलटाइमर राजनीतिज्ञ पौडेल राजनीतिसँगै हार्डवेयर, यातायात र घरजग्गा व्यवसायमा समेत संलग्न रहँदै आएका श्रेष्ठसँग ६ हजारभन्दा बढी मतले पराजित भए । श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याए भने पराजित पौडेलको पक्षमा २७ हजार ६ सय ७५ मत खस्यो । 

फस्ट लेडी हराउने नारदमुनि 

संघीय निर्वाचनमा कैलाली–५ बाट निर्वाचन लड्ने घोषणा गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको चर्चा पनि चुलियो । उनको चर्चा त्यतिबेला अझ गर्मायो, जब टुरिस्ट उम्मेदवारको आरोप लागेपछि धनगढीमै ३ करोड रुपैयाँ हालेर घर किनिन् । 

नेपाली कांग्रेसको गढ मानिएको धनगढी उपमहानगरपालिकासहितको क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री पत्नीको जितलाई सहज मानिएको थियो । २०७० सालको निर्वाचनमा स्वयं देउवा प्रचण्ड मतका साथ उक्त क्षेत्रबाट विजयी भएका थिए । देउवाले छाडेपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नेता पुष्कर ओझा नै विजयी भएका थिए । धनगढी उपमहानगरपालिकाको स्थानीय निर्वाचन नेपाली कांग्रेसले नैजितेको थियो, जसका कारण आरजुको पक्षमा सबै माहोल तयार थियो । प्रचार–प्रसार र त्यसपछिका सबै आँकलनहरूले पनि उनले जित्ने देखिएको थियो । 

यद्यपि मतगणनामा एकपछि अर्को ‘सरप्राइज’ नतिजाहरू बाहिर आउन थाले । आरजुविरुद्ध नेकपा एमालेका पूर्व समानुपातिक सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि रानाले अग्रता हासिल गर्दै गए । आरजुले कमब्याक गर्ने आशा लगभग अन्तिमसम्म पनि सत्यमा परिणत हुन सकेन । सुरुदेखि नै पछाडि पर्दै गएकी आरजु ४ हजार ८ सय ८० मतान्तरले पराजित भइन् । रानाले २७ हजार २ सय २ ल्याए भने राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरिन् । राणालाई पराजित गर्ने नारदमुनि धनगढीका स्थायी बासिन्दा हुन् । 

२०४५ सालदेखि वामपन्थी राजनीति गर्दै आएका नारदमुनि २०५४ सालमा धनगढीको उपमेयर निर्वाचित भएका थिए । निर्वाचनमा पराजित भएपछि आरजुले आफू धनगढीबाटै राजनीति गर्ने बताउँदै जातीय तथा भेगीय नाराका कारण आफू पराजित भएको बताएकी छिन् । 

सिटौलामाथि लिङ्देन भारी 

कांग्रेस नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको छवि नेपाली राजनीतिमा प्रभावशाली राजनीतिज्ञको छ । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि सिटौलाले गरेको सहजीकरणको भूमिका पनि प्रशंसनीय थियो । गृहमन्त्री पनि भैसकेकाका सिटौला कुनै समय गिरिजाप्रसादका विश्वासपात्रका रूपमा समेत चिनिन्थे । उनी २०५६ सालको चुनावमा झापाबाटै निर्वाचित सांसद थिए । 

त्यसैले झापा–३ मा उनी पराजित हुने आँकलन कसैले गरेका थिएनन् । बरु, बामसँग गठबन्धन तालमेल गरेका लिङ्देनलाई सबै कम्युनिस्टले भोट नदिने अनुमान गरिँदै थियो । सिटौलालाई जिताउन ‘म्याच  फिक्सिङ’ भएको खबरले समेत तहल्का पिटेको थियो, जसका कारण सिटौलाले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सहजै पराजित गर्ने आँकलन गरिएको थियो । यद्यपि लिङ्देन निर्वाचनमा गणतन्त्रका सारथि सिटौलाका लागि भारी सावित भए । सिटौलाले ३१ हजार १ सय ५६ मत प्राप्त गर्दा लिङ्देन ४४ हजार ६ सय १४ मत प्राप्त गरेर विजयी घोषित भए । 

०३९ सालदेखि राजनीतिक सुरु गरेका लिङ्देन शाहीकालमा झापाको जिविस सभापति भएका थिए । २०७० सालको निर्वाचनमा उनी सिटौलासँगै पराजित भएका थिए । उनी झापामा लोकप्रिय नेताका रूपमा सुपरिचित छन्, त्यही लोकप्रियताको फाइदा उनले यो निर्वाचनमा उठाए । 

मोदी झट्का

अमनलाल मोदी उति चिनिएका नेता होइनन् । २०५६ सालदेखि राजनीति सुरु गरेका मोदीको चर्चा नेपाली राजनीतिमा कतै सुनिदैन् । अनेरास्ववियु क्रान्तिकारीको राजनीतिक पृष्ठभूमि भएका मोदी २०७० सालमा समानुपातिक सभासद बनेका थिए । 

पञ्चायतकालदेखिको लामो राजनीतिक विरासत भएका नेता हुन्— महेश आचार्य । अर्थ, वन तथा कृषि मन्त्रीसमेत भैसकेका आचार्यको राष्ट्रिय राजनीतिमा राम्रै छवि छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आचार्य २०७० सालमा मोरङबाटै १२ हजार 

बढी मत प्राप्त गरी विजयी भएका थिए । 

त्यसैले आचार्यका अगाडि मोदीको राजनीतिक उचाइ होचो लाग्थ्यो । मोरङ नेपाली कांग्रेसको गढ भएका कारण पनि आचार्यको जित निश्चितजस्तै मानिएको थियो, तर भैदियो उल्टो । आचार्य मोरङ क्षेत्र नम्बर ४ मा तिनै मोदीसँग ६ हजार ७ सय २९ मतान्तरले पराजित भए । मोदीले ३३ हजार ५ सय २९ मत ल्याए भने आचार्यले २६ हजार ८ सय मत प्राप्त गरे । 

केसीमाथि राई हाबी 

नियमितजसो जितिरहनु र पटक–पटक मन्त्री हुनु बलबहादुर केसीको परिचय हो । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । २०४८ यताका सबै निर्वाचनमा अपराजित भएकाले संघीय संसद्को निर्वाचनमा पनि उनको विजय लगभग निश्चित मानिएको थियो । त्यो किन पनि भने बलबहादुरविरुद्ध वाम गठबन्धनले कमजोर मानिएका उम्मेदवारलाई अघि सारेको थियो । 

०६४ सालमा माओवादीले देशव्यापी विजय हासिल गरिरहँदा पनि सोलखुम्बुमा बलबहादुरले कांग्रेसको झन्डा गाडेका थिए । त्यसपछि उनी २०७० सालको संविधानसभामा पनि 

निर्वाचित भए । 

बलबहादुरको प्रभावशाली पृष्ठभूमिका अगाडि २०५६ सालदेखि राजनीतिक सुरु गरेका र कमजोर पार्टी संगठन भएका सोलखुम्बु नेचाका हेमकुमार राईले जित्ने आँकलन कमैले गरेका थिए । यद्यपि एमालेको बलियो संगठनको साथ पाएपछि तिनै हेमकुमार बलबहादुरको जितको दोहोरो ह्याट्रिक पूरा गर्न नदिने जाइन्ट किलर बनिदिए । 

माओवादी सोलखुम्बु जिल्ला इन्चार्ज राई पहिलो पटक प्रतिनिधिसभाको उम्मेदवार भए र इतिहास बनाए । उनले केसीमाथि ३ हजार ४ सय ५३ मतको जित निकाले । केसीले एक निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा १७ हजार २ सय ९४ ल्याए भने विजेता हेमकुमारका पक्षमा २० हजार ७ सय ४७ आयो । 

पूर्व अर्थमन्त्री पनि हारे 

पटक–पटक अर्थमन्त्री भए— डा. रामशरण महत । आर्थिक उदारीकरणका व्याख्याता महत कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन् । पार्टीभित्र समेत प्रभावशाली भूमिका निर्वाह गर्दै आएका डा. महत आफ्नो गृहजिल्ला नुवाकोटमा पनि उत्तिकै प्रभाव राख्छन् ।

०६४ सालमा माओवादीको देशब्यापी जनलहर हुँदासमेत उनी नुवाकोटमा विजयी भएका थिए तर यसपटक एमालेको समेत समर्थन पाएका माओवादी केन्द्रीय सदस्य हितमान तामाङसँग ८ हजार ५ सय ५३ मतान्तरले पराजित भए । डा. महतले २७ हजार ९ सय २० मत ल्याए भने विजयी तामाङका पक्षमा ३६ हजार ४ सय ७३ खस्यो । 

महतलाई पराजित गरेसँगै तामाङ पहिलो पटक सांसद भएका छन् । १० कक्षासम्म मात्र पढेका तामाङले अर्थशास्त्रका पिएचडीलाई पराजित गरे । तामाङको तुलनामा डा. महतको राजनीतिक करिअर पनि निकै लामो छ । उनले २०३० सालदेखि राजनीतिक सुरु गरेका हुन् । डा. महत २०४७ सालयता पटक पटक अर्थमन्त्री तथा एक पटक परराष्ट्र मन्त्री भैसकेका छन् । 

चेलासँग गुरु पराजित 

अशोक राई र जयकुमार राई राजनीतिमा गुरु–चेला हुन् । लामो समय कम्युनिस्ट राजनीति गरेका अशोकले नै जयलाई कम्युनिस्ट राजनीतिमा ल्याएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ मा यिनै गुरुचेला एकअर्का विरुद्ध चुनावी मैदानमा ओर्लिए । 

अशोक संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए भने जयकुमार नेकपा एमालेबाट । चेलाले गुरुलाई दोब्बर मतान्तरले पराजित गरे । जयकुमार ४४ हजार ५ सय २८ मतका साथ विजय हुँदा उनका गुरु अशोकले भने २२ हजार १ सय २३ मत मात्र पाए । 

जयकुमार राजनीतिमा उति प्रभावशाली नेता पनि होइनन् । २०३९ सालदेखि राजनीतिमा लागेका राई अहिले नेकपा एमालेको धरान उपमहानगरपालिकाका सह–इन्चार्ज हुन् । २०३५ सालदेखि राजनीतिमा लागेका अशोक भने संघीय समाजवादी फोरमका वरिष्ठ नेता हुन् । तीन पटक मन्त्री भैसकेका अशोक कुनै समय नेकपा एमालेका केन्द्रीय उपाध्यक्षसमेत थिए । 

पूर्णबहादुरमाथि ध्रुव हाबी 

चार पटक सांसद् जितेका र एक–पटक समानुपातिक सभासद भएका नेता हुन्— पूर्णबहादुर खड्का । उनी पटक–पटक गरी वाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सूचना तथा सञ्चार, उधोग तथा गृहमन्त्रीसमेत भैसकेका छन् । २०३१ सालदेखि राजनीति सुरु गरेका खडका नेपाली कांग्रेसका सहमहामन्त्री समेत भैसकेका छन् । उनका अगाडि ध्रुबकुमार शाहीको राजनीतिक छवि सानो छ ।

यद्यपि तिनै हेभीवेट खड्का विरुद्ध नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवले ऐतिहासिक जित हासिल गरे । सुर्खेत १ मा खड्काले जित्ने आँकलनका बीच जाइन्ट किलर शैलीमा ध्रुव ३ हजार ३ सय ८२ मतान्तरले विजयी घोषित भए । शाही ०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए । दोस्रो प्रयासमा भने उनी ३६ हजार ७६९ मत ल्याएर विजयी भए । ०४५ सालमा अखिल छैटौंबाट राजनीति सुरु गरेका शाही २०५४ सालमा सुर्खेतको मालारानी गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनले २०७२ सालदेखि एमाले सुर्खेतको नेतृत्व गरिरहेका छन् । 

सर्वेन्द्रलाई हराउने प्रमोद

सर्वेन्द्रनाथ शुक्लाले २०४७ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । उनी यसबीच शिक्षामन्त्री मात्र भएनन्, दुई पटक सांसद पनि भए । अहिले राजपाका वरिष्ठ उपाध्यक्ष शुक्ला प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवार थिए । 

यी हेभीवेट नेताले पनि निर्वाचनमा जित हासिल गर्ने अपेक्षा गरिएको थियो, किनभने उनको राष्ट्रिय छवि, लामो राजनीतिक विरासतका अगाडि उनका प्रतिद्वन्द्वीहरू खासै बलिया थिएनन् । यद्यपि शुक्ला राजनीतिमा खासै नाम नसुनिएका नेपाली कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवसँग ११ हजारभन्दा बढी मतान्तरले पराजित भए । २०३६ सालमा जन्मिएका कांग्रेसका युवा नेता यादवले ३१ हजार ७ सय १८ मत पाउँदा शुक्लाले २० हजार ४ सय १६ मत मात्र प्राप्त गरे । 

पूर्वराजदूत पूर्व लडाकु कमान्डरबाट पराजित

भारतका लागि नेपाली राजदूत पदबाट राजीनामा दिएर चुनाव लड्न फर्किएका थिए— पुराना कांग्रेस नेता दीपकुमार उपाध्याय । कांग्रेसका पूर्व केन्द्रीय समिति सदस्य तथा मन्त्रीसमेत भैसकेका नेता हुन्, उनी । कांग्रेसभित्रको कोइराला क्याम्पका नेता  उपाध्याय राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली ब्यक्ति मानिन्छन् । 

संसदीय अनुभव हासिल गरिसकेका र कपिलवस्तुबाट यसअघि पनि विजयी भएका कारण उनको जित सहज हुने आँकलन गरिएको थियो । अर्कातर्फ संसदीय राजनीतिको अनुभव नभएका, राष्ट्रिय राजनीतिमा प्रभाव कम भएका पूर्व लडाकु कमान्डर प्रतिस्पर्धी भएका कारण पनि कांग्रेसभित्र उपाध्यायको जित निश्चितजस्तै मानिएको थियो । 

तर, चुनावी परिणाम त्यस्तो निस्किएन । उनलाई नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले उपाध्यायलाई पराजित गरे । कपिलवस्तु–१ मा ९४६ मतान्तरले पराजित गरे । दीपकुमारले उपाध्याय २८ हजार ८ सय ५३ मत प्राप्त गर्दा खनालले २९ हजार ७ सय ९९ मत प्राप्त गरे ।

प्रकाशित :पुस ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्