अब पार्टीभन्दा देश माथि

- अधिकारी रवीन्द्र

पुस २, २०७४

अर्को चुनाव सकियो । मत परिणाम आइसक्यो । विजयी उमेदवारहरूलाई हार्दिक बधाई, तर यो पटकको जितलाई एक गर्‍हुँगो जिम्मेवारीका रूपमा लिइदिनुहोला भन्ने विनम्र आग्रह छ । 

मुलुकमा प्रजातन्त्र ओर्लेको करिब ३० वर्ष पुगेछ । यो संक्रमणकालीन अवधि नेपालको इतिहासमा निकै महत्वपूर्ण भएकाले हुन सक्छ यो कालखण्डका प्रत्यक्षदर्शीले अनेक सास्ती झेले— आन्दोलन, ढुङ्गामुढा, गुरिल्ला जनयुद्ध, लुटतन्त्र, भ्रष्टाचार, गुन्डागर्दी, दलाली सबै–सबै चरम रूपमा फास्टाएको अनुभूत गरे । दुई–चारवटा डाँडा जोतेर बर्षौटे पहिरो लाग्ने बाटो बनाएको बाहेक यस अवधिमा आँखाले देखिने बिकास शून्यप्राय छ । केही मुख्य आयोजना पनि अन्तर्राष्ट्रिय सहयोगमा भएको छ । 

तीन दशक भनेको एक जुग हो, तीन दशकमा एउटा पुस्ता नासिन्छ । आफु नासिनुअघि देशले मुहार फेर्न लागेको आभास होस् भनेर मजस्ता धेरैले आफ्नो अमूल्य मत दिएका छन् । टन्टलापुर घाममा तालु सेकाएर ठेलमठेल र तँछाडमछाडबीच लाइन बस्दै गर्दा मतदाताका अनुहारमा निराशाबाहेक केही थिएन । किनभने यो पुस्ताले धेरै खाले भोट धेरै पटक खसाले, तथापि सकारात्मक परिणाम कमै हात लाग्यो । राष्ट्रिय राजनीतिको प्रवाह विकास र समृद्धिभन्दा पनि सत्तालिप्सा र कुर्सी तानातानमा बढी केन्द्रित देखियो । महँगी र भ्रष्टाचार चुलिमा छन् । अव्यवस्थिति र बेरोजगारीले आक्रान्त युवा पुस्ताले देशमा भविष्य देखेकै छैनन् । विदेश हिंड्ने दौड दिनानुदिन चर्कंदो छ । 

चालकलाई जति पटक चुनेर पठाए पनि गाडीको ब्रेक फेल भै नै रह्यो । दैनिक रोजीरोटीमै संघर्ष गर्नुपर्नेको जमात बढ्दै गयो । कृषि तथा उद्योगजस्ता उत्पादनमुखी काम बढ्न सकेन । देशका सम्पूर्ण संवेदनशील क्षेत्रहरू सीमित व्यक्तिहरूको कब्जामा छ । स्वास्थ्य क्षेत्र धराशायी छ, सरकारी विद्यालयहरूको स्थिति दयनीय छ । व्यापार र सेवारूपी व्यवसायमा सिन्डिकेट हावी छ । राजनीतीकरणले निजामती, प्रहरी, सेना, पेसागत इथिक्सलगायत न्यायालयलाई समेत छिया–छिया बनाएको छ । नेपालमा पैसा र पहुँचले गर्न नसकिने र नहुने काम केही बाँकी रहेन । स्वाभिमानी र आत्मनिर्भर मानिस विविध गुट, दल र तीनका खेमामा आवद्ध नभए जागिर धराप पर्ने मात्र नभै जीवन जिउन नै असहज हुने स्थिति आयो र यो बेथिती बढि नै रह्यो । 

चुनावको मुख ताकेर भोट माग्न नेताहरू गाउँ पसिरहँदा भाषणमा जुन आश्वासन दिन्थे, बडो हाँसो लाग्थ्यो । कार्यकर्ताले त विश्वास मान्नैपर्‍यो, नत्र पछि लाग्नुको आधार के ? तर आमजनताले पटक्कै विश्वास गर्दैनथे । भोट हाल्नु अधिकांशलाई अधिकारको प्रयोगभन्दा पनि बढी बाध्यताजस्तो देखिन्थ्यो । यो चरम अविश्वासको अवस्था देशकै राजनीतिले ल्यायो र जनताले तिनै अविश्वासिला मध्यका राम्रालाई चुने । सदनमा किनबेच भैरहने अनेकन साना दल बढारिएका छन् ।

हुने बिरुवाको चिल्लो पात भनेझैं विजेताले दोस्रो दिनदेखि काममा कटिबद्ध हुन जरुरी छ । एक दिन विजय जुलुस मनाउनु ठीक हो, तर हप्तौंसम्म माला र बाजागाजाका साथ गाउँ–टोल किन डुल्ने ? पुरानै ढाँचाका नेताहरू फेरि पनि महिनौंसम्म सहकारी, स्कुल–कलेजले आयोजना गरेका बधाई ज्ञापन समारोहमा सरिक भै रहनेछन् । के रिबन काट्ने र झिनामसिना समारोहमा अल्झिएर देश विकासको महान मिसन पूरा हुन्छ ? मतदाता पुरानै हुन् भनेर पुरानै ढर्रामा उनीहरू फेरि पनि फर्केलान् । व्यक्तिभन्दा पार्टी माथि र पार्टीभन्दा देश माथि हुनुपर्नेमा आजसम्मको माहोल ठीक विपरीत देखिएको छ । यसलाई सच्याउनैपर्छ ।

के अब पनि कर्ममुखी नभै फूलमाला र वाहवाहीमा नेतागिरी गर्नु उचित हो ? एक चरण जनताले तपाईंको भाषण सुने र थोरै पत्याए, अब कृपया भाषण नछाट्नुहोस् । कुराले चिउरा भिज्दैन, काम गरेर देखाउनुहोस्, जनताले देख्ने ठोस काम । दशकौंदेखि विचलित कर्मचारीतन्त्रलाई राजनीतिबाट अलग गर्नुहोस् । सुशासन र भ्रष्टाचार निवारणलाई प्रमुख मुद्दा बनाउनुहोस् ।

कर्मचारी र शिक्षकका झोले राजनीतिमा अंकुश लगाउन नीति ल्याउनुहोस् । करछलीलाई रोक्नुहोस् र दलाली काम सबैलाई करको दायेरामा ल्याउनुहोस् । ठगी र अवैध धन्दालाई नियन्त्रण गर्नुहोस् । जनताकै सेयरबाट प्रमुख जलविद्युत् आयोजनाका खाका तयार गर्नुहोस् । प्रतिपक्षले पनि आलोचनात्मक सावधानी दिइराखोस् । पहिलो चरणमा त्यति भए देशले रफ्तार समाउछ । बाँकी कुरा बिस्तारै । 

चबखष्लझक२ष्यm।भमग।लउ

प्रकाशित :पुस २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्