बुद्ध कहाँ जन्मिएका थिए ?

- अधिकारी रवीन्द्र

मंसिर २९, २०७४-

 

बेलाबेलामा बुद्ध कहाँ जन्मिएका हुन् भन्ने विषयले हाम्रो देशलाई तताउँछ । भर्खरै दलाई लामाको बुद्ध भारतीय हुन् भन्ने अभिव्यक्तिले यो विवादलाई पुन: शिखरमा पुर्‍यायो । 

यो एउटा परापूर्व कालको कुरा हो । शाक्य राज्यमा करिब २ हजार ६ सय वर्षअघि मायादेवीको कोखबाट हालको लुम्बिनीको कुनै जङ्गलमा सिद्धार्थ गौतम जन्मिएका थिए । कल्पना गर्नुहोस्, त्यो त्यस्तो समय थियो जतिबेला यो भूभाग त थियो तर देश थिएन । न त भारत थियो न त नेपाल नै तसर्थ यदि बुद्ध नेपाली थिएनन् भने निश्चय पनि भारतीय पनि हुन सक्दैनन् । त्यो लडाइँ गरेर जितेजति भूभाग आफ्नो बनाउने समय थियो । 

समयसँगै धेरै राजनैतिक उथलपुथल भयो । त्यही क्रममा देशहरू सीमाबद्ध भए र संयोगवश सिद्धार्थ गौतम जन्मिएको भूमि नेपालमा पर्न गयो । यो एक विशुद्ध ‘लक’ को कुरा थियो, कसैले गौरव गर्नुपर्ने अवस्था होइन, किनभने जति सजिलै त्यो पवित्र भूमि नेपालमा पर्‍यो ठीक त्यसरी नै भारतमा पनि पर्न सक्थ्यो । 

यहाँ म दुई फरक अस्तित्वको व्याख्या गर्न खोज्दै छु । सिद्धार्थ गौतम र गौतम बुद्ध । सिद्धार्थ गौतम तपाईं–हामीजस्तै एक सामान्य व्यक्ति थिए । उनमा असख्ंय मानवीय दुर्गुणहरू थिए । दरबारिया सुख–सयल त्यागेर उनी ज्ञानको खोजीमा भौंतारिइरहे । अन्तत: तीनै सिद्धार्थ गौतमले भारतको बोधगया भन्ने ठाउँमा बुद्धत्व प्राप्त गरेर गौतम बुद्ध बने । 

भुल्न नहुने कुरा, सिद्धार्थ गौतम एक नश्वर भौतिक शरीर मात्र थियो जो हाल नेपालमा पर्ने भूमिमा एक महिलाको कोखबाट जन्मिएका थिए, तर गौतम बुद्ध एक आध्यात्मिक युगपुरुष हुन् जसको विकास भारतको माटोमा भयो, अर्थात सिद्धार्थ गौतम एक पूर्ण बुद्ध हुँदासम्मका अनेकन् दु:ख, संघर्ष, तपस्याका आरोह–अवरोहहरू छन् । त्यो कथा हालको नेपालबाट सुरु हुन्छ र हालको भारतमा पुगेर समाप्त हुन्छ ।

जब बुद्धका उपदेश नै केवल ग्रन्थमा सीमित हुने अवस्था आइसकेको छ, जब हामी बुद्धको शिक्षा एकरत्ति अनुसरण गर्दैनौँ भने बुद्ध हाम्रै देशमा जन्मिएका हुन् भनेर डाँको मात्र छोड्नुको कुनै तुक छैन । विश्वको सबैभन्दा शान्त भूमि नेपाल हो ? होइन । नेपालमा सबैभन्दा बढी बौद्ध धर्मावलम्बी छन् ? छैनन् । बुद्धको सत्मार्गलाई फैल्याउन हामीले के–के गरेका छौं ? यी प्रश्नहरूको जवाफ हामीसँग छ ?

जबकि अरू देशहरू आफंैले सिर्जना गरेका कुरामा दम्भ गर्छन् । स्वीसहरू घडीको धाक लगाउँछन्, फ्रेन्चहरू आइफिल टावरको अनि चिनियाँहरू ग्रेटवालको, तर हामी जे कुरा संयोगले भएको छ वा प्रकृतिप्रदत्त छ त्यसमै गौरव गरेर जुनी कटाउँछौं– बुद्ध नेपालमा जन्मिएका थिए, सगरमाथा नेपालमा पर्छ । हाम्रो आफ्नो पौरखले जे कुरा भएको छ त्यसमा पो गौरव गर्ने हो । कति बुद्ध, सगरमाथाको धाक लगाएर कराइरहने ? 

एकताका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर बुद्ध वाज बर्न इन नेपाल भन्दिए एक महिनासम्म हामीले मोदीकै गुणगान गाएर समय बितायौँ । अहिले दलाई लामाले फेरि बुद्ध वाज इन्डियन भन्दिए, हामीलाई के चाहियो ? अब महिनौंसम्म हामी दलाई लामालाई सरापेर बस्न बेर लाउँदैनौं । 

थाहा छ हामी नेपालीले किन प्रगति गर्न नसकेको ? हामी बारम्बार अतीतमा फर्कन्छांै, अतीतमै रमाउँछौँ । कमसेकम वर्तमानलाई उपयोग गरेको भए पनि केही न केही प्रगति हुन्थ्यो । अरु देशहरू अतित र वर्तमानलाई छोडेर भविष्यका योजना बुन्छन्, तर हाम्रो चासो बुद्ध नेपालमै जन्मिएका हुन् भनेर अरुले भनिदिएको सुन्नेमा छ । हिजो पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेका हुन्, तर राजतन्त्रको अन्त्यसँगै हामी उनकै सालिक तोड्न–फोड्न व्यस्त रह्यौँ । राष्ट्रनिर्माताप्रति यस्तो अपमानको उदाहरण संसारमा अन्यत्र कहीं फेला पार्न सकिँदैन ।

त्यही बुद्धको जन्मभूमिमा अरू एक सय जना बुद्ध जन्माउन हामी किन गृहकार्य गर्दैनौँ ? अथवा तपाईं–हामीमध्येकै कोही बुद्धभन्दा ठूला वा यस्तै अन्य विधामा स्रष्टा हुन सक्थ्याँै, तर भएनौं किन ? किनभने हामीलाई आफूले अनुभवै नगरेको, देख्दै नदेखेको त्यही पुरानो बुद्धमा रमाउन पाए पुगेको छ । 

बेलाबेलामा वा यदाकदा सुनिने बुद्धसम्बन्धी वाक्यले हामी यति बिघ्न रुमलिन्छाँै भने सोच्नुहोस्, हामी नेपाली कति कमजोर छौँ ? जे कुरा शाश्वत छ त्यो कुरालाई दुई–चार जनाको आवाजले कदापि हल्लाउन सक्दैन । यदी बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौ भने किन यस्तो रडाको ? 

अब दिल चौडा गरौँ । बुद्ध विश्वका साझा सम्पत्ति हुन् जसलाई तेरो र मेरो भनेर अंशबन्डा गर्न मिल्दैन । भनौ सबैले– बुद्ध वाज बर्न इन दिस अर्थ । अनि प्रण गराँै– अब आइन्दा यस्ता झिना–मसिना कुरामा हामी अल्झिने छैनौं । बुद्ध कहाँ जन्मिए भन्ने संकुचित कुरामा बिलौँना गर्नुभन्दा बुद्धले प्रतिपादन गरेका सन्देशहरूलाई अङ्गिकार गरौं अनि बुद्ध जन्मिएको पवित्र स्थल हाल नेपालमा छ भनेर त्यसको प्रवद्र्धनमा लागौं ।

             ravinems@iom.edu.np

 

प्रकाशित :मंसिर २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्