के पढ्दैछन् सेलिब्रेटी ?

- कृष्ण भट्टराई

मंसिर २८, २०७४

नेपालमा पुस्तक प्रकाशनको संख्या बढेसँगै पुस्तकप्रेमीहरू पनि बढेका छन् । हरेक महिना राम्रा लेखकका राम्रा–राम्रा पुस्तक प्रकाशित भैरहेका हुन्छन् । उपन्यासदेखि जीवनीसम्म अनि निबन्धदेखि कथासम्मका पुस्तकका आफ्नै पाठक छन् । आमपाठक झैं सेलिब्रेटीहरू पनि पुस्तक पढ्न रुचि राख्छन् । 

गायिका रेखा शाहले अध्ययनलाई आफ्नो रुचिको विषय बनाएकी छिन् । गायिका शाह भन्छिन्– ‘मलाई फिक्सन तथा नन–फिक्सन दुवै शैलीका पुस्तक मनपर्छन् । रेखाका अनुसार अहिले उनी विप्लव प्रतीकको उपन्यास अविजित तथा हरिबहादुर थापाको रजगज पढिरहेकी छिन् । 

अभिनेत्री अश्लेषा ठकुरी अहिले स्नातक तहमा अध्ययनरत छिन्, त्यसैले उनी प्राय: पाठ्यपुस्तककै वरिपरि हुन्छिन् । 

फुर्सदमा उपन्यास पढ्न रुचाउने अश्लेषा यतिबेला द ममोरिज अफ गिषा पढिरहेकी छिन् । यो ऐतिहासिक उपन्यासका लेखक अमेरिकी नागरिक अर्थर गोल्डेन हुन् । 

मिस नेपाल २००२ माल्भिका सुब्बा पहिले निकै अध्ययनशील थिइन् । फुर्सद भयो कि उनी विशिष्ट व्यक्तित्वका बायोग्राफी अध्ययन गर्थिन् । यद्यपि व्यस्तताका कारण अहिले उनले कुनै पनि पुस्तक अध्ययन गर्ने समय पाएकी छैनन् । 

रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसीले भरखरै मात्र महको म पढेर सिध्याए । डिसी भन्छन्– ‘यतिबेला म बेनेजिर भुट्टोको डटर अफ इस्ट पढ्दैछु ।’ डिसीका अनुसार कलेज अध्ययनका लागि अस्कलको होस्टलमा बस्दा उनलाई भरत पाठकले दिएको उक्त पुस्तक अहिले उनले दोहोर्‍याएर पढिरहेका हुन् । ‘धैर्यता, त्याग, लगनशीलता, आँसु, हाँसो, असफलता तथा सफलताको आरोह–अवरोह नै जीवन हो, कहिल्यै हार मान्नु हुँदैन भन्ने शिक्षा बोकेको अदम्य साहस र ऊर्जा प्रदान गर्ने उक्त पुस्तक मैले मेरा छोरीहरूले पनि पढून् भन्ने अभिप्राय:ले नयाँ किनेर ल्याएको हुँ, डिसी भन्छन्—‘छोरीहरूलाई दिनुभन्दा अघि पहिले आफैंले एक पटक पुन: नपढी मन मान्दै मानेन ।’ 

अभिनेता तथा निर्माता दीपकराज गिरीको तर्क अलि पृथक छ । ‘म जीवन पढिरहेको छु, गिरी भन्छन्–‘सत्य कुरा यही हो । पुस्तक पढ्नु एउटा आदत हो, जुन आदत मलाई स्कुलदेखि नै लागेन । म चलचित्रलाई पुस्तक मान्छु र फुर्सदमा पुराना चलचित्रहरू हेर्छु, जसलाई म पुस्तक मान्छु ।’ अभिनेता गिरी पढेको कुरा गहिरो गरी नबुझ्ने भएकाले तथा हेरेको कुरा सधैं सम्झनामा रहने भएकाले पुस्तक पढ्नुभन्दा चलचित्र हेर्नलाई प्राथमिकता दिन्छन् । 

चलचित्र निर्देशक मोहन निरौला यतिबेला जनचेतनामूलक श्रृंखलाको लेखनमा व्यस्त भएकाले स्वास्थसम्बन्धी पुस्तकहरू पढिरहेका छन् । अहिले उनी डा.नारायण दत्त श्रीमाली तथा पण्डित श्रीरामजी शर्मा आचार्यका पुस्तकहरू अध्ययन गरिरहेका छन् । 

केही अघि अमेरिका पुगेका चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने कथा अध्ययन गर्न रुचाउँछन् । अहिले उनी यज्ञशद्वारा लिखित पुस्तक भुइयाँ अध्ययन गरिरहेका छन् । त्यता संंगीतकार तथा भिडियो निर्देशक सरोज प्याकुरेल भने राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शीर्षकको काव्य अध्ययन गरिरहेका छन् । उनले उक्त काव्यमार्फत शाश्वत माया र मानवता सिकिरहेको बताए । 

अभिनेत्री ऋचा शर्मा भने मदनकृष्ण श्रेष्ठद्वारा लिखित पुस्तक ‘महको म’ पढिरहेकी छिन् । ‘म बायोग्राफी पढ्न रुचाउँछु, ऋचा भन्छिन्–‘हाम्रै क्षेत्रका श्रद्धेय दाजु मदनकृष्ण श्रेष्ठको यो पुस्तक अति नै रोमाञ्चक छ ।’ 

रेडियोकर्मी श्रीराम पुडासैनी भने चेतन कार्कीको ‘आत्मा बेचेको छैन’ पुस्तक अध्ययन गरिरहेका छन् । अभिनेता घनश्याम गौतम कलाकारितासँगै लेखनमा समेत रुचि राख्ने स्वभावका छन् । उनले नाटक तथा छोटा चलचित्र लेखेका छन् । केही समयअघि मैले हरिवंश आचार्यको हरिबहादुर पढेको थिएँ भने अहिले चाहिँ मदनकृष्ण श्रेष्ठको महको म पढ्दै छु । गौतम नाटकीय शैलीका उपन्यास पनि रुचाउँछन् । 

हास्य अभिनेता जितु नेपालले पनि भरखरै मात्र मदनकृष्ण श्रेष्ठको महको म पढिसके । ‘अब म हरिबहादुर थापाको रजगज तथा अश्विनी कोइरालाको प्रेमालय पढ्छु, जितु भन्छन्– ‘म सधैं चर्चामा रहेका पुस्तक किनेर पढिरहेको हुन्छु । खासगरी विदेश यात्रामा जाँदा एउटा किताब नबोकी जान्न, सकभर एउटा यात्रामा एउटा पुस्तक पढिसक्छु । प्राय: विदेश जाँदा उपहार पनि किताब नै लान्छु, अस्ति मात्र मदन कृष्ण श्रेष्ठको महको मको तीनप्रति बेलायतमा उपहार दिएर आएँ ।’

गायक कृष्ण काफ्लेको तर्क भने बेग्लै छ । काफ्लेका अनुसार अहिलेको परिवर्तनशील समाजमा मानिसले चाँडै प्रगति गर्न तथा धनी बन्न खोज्नु स्वभाविक हो । सबैले आफ्नो चाहना एवं सपना पूरा गर्ने क्रममा त्यसको थालनी कसरी गर्ने भन्ने विषयमा अन्यौल हुन्छ । गायक काफ्ले यतिबेला नेपालमा धेरै बिक्री हुन सफल, धेरैले मन पराएको पुस्तक सेयरबाट करोडपति अध्ययन गरिरहेका छन्, जसलाई रवीन्द्र भट्टराईले लेखेका हुन् । 

धार्मिक स्वभावकी गायिका सविना कार्की प्राय: राति पुस्तक पढ्छिन् । उनलाई प्राय: आध्यात्मिक पुस्तक नै मनपर्छन् । यतिबेला उनी भारतीय लेखकद्वारा लिखित एउटा आध्यात्मिक पुस्तक पढिरहेकी छिन् । 

टेलिभिजनकर्मी कृष्णदेव रुपाखेतीलाई उपन्यास मनपर्छ । उनी यतिबेला निमेष पौडेलको उपन्यास फाइव मन्थ्स पढिरहेका छन् । अभिनेता गजित विष्ट भने अनलाइन फिल्म मेकिङका बारेमा अध्ययन गरिरहेका छन् । ‘यो विषयमा अध्ययन गर्दा मैले के पाएँ भने विश्वको उत्कृष्ट १० गाह्रो काममध्ये फिल्म मेकिङ पनि एक रहेछ, विष्ट भन्छन्—‘यो विषयको अध्ययनपछि चलचित्र निर्माणका लागि चौतर्फी ज्ञान आवश्यक भएको अनुभव गर्दैछु ।’ 

रंगकर्मी नानी थापा भने अहिले तीन भिन्न पुस्तक अध्ययन गरिरहेकी छिन् । नानीले रमेशनाथ पाण्डेको कुटनीति र राजनीतिलाई सबैभन्दा पहिले पढिसक्ने लक्ष्य बनाएकी छिन् । त्यसपछि उनी क्रमश: नयनराज पाण्डेको उलार तथा गनेस पौडेलको पैताला अनि नाटक ययाती पढ्ने छिन् ।

गायक भीम लिम्बू भने पत्रकार अनन्तराज लुइँटेलद्वारा लिखित पुस्तक पर्दा पछाडिको न्याय पढिरहेका छन् ।

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्