गाली

  • लघुकथा

- खड्ग वेदना

मंसिर २८, २०७४

चुनावअघि

चुनावको बेला छ । नेताहरू भोट माग्न व्यस्त छन् । नेताहरू भाषण ठोक्छन्, भाषणमा नयाँ कुरा केही नपाएपछि विपक्षीहरूमाथि गाली बर्साउँछन् । उनीहरूको अधिकांश समय गाली गरेरै बित्छ । मानौं, विपक्षीलाई गाली गर्ने समय नै यही हो । अरू बेला गाली गर्न पाइँदैन, गालीकै मार्फत भ्रम छरेर भोट तान्ने मेसो नेताहरूको विशिष्ठकला भएको छ । त्यति मात्र होइन, गालीमा चरित्र हत्या गर्नसमेत पछि पर्दैनन् उनीहरू ।

नेता रामप्रसाद भाषणमा भन्छन्— फलानो पार्टी भ्रष्टाचारी हो, सत्तामा पुगी भ्रष्टाचार गरेर देश खाइसक्यो । नेपालको विकास किन नभएको थाहा छ ? तपाईं जनताहरू नबुझेर भ्रष्टाचारीलाई भोट दिनुहुन्छ अनि विकासको आस गर्नुहुन्छ ? हाम्रो पार्टीजस्तो राम्रो अरू कुनै हुनै सक्दैन । 

नेता श्यामप्रसाद भाषण गर्छन्— हेर्नुहोस् जनता, त्यो पार्टी भनेको देशको खोलानाला बेच्ने पार्टी हो । उनीहरूले कहिले के, कहिले के बेचेर देश सकिसके, उनीहरूले जनताको भविष्य बनाउन सक्दैनन् त्यसैले हाम्रो पार्टीलाई भोट दिनुहोस् नेपाली जनताको भाग्य खुल्छ । 

अन्य पार्टीका नेताहरू पनि विपक्षी पार्टीप्रति कटाक्ष गर्दै गाली बर्साउँछन् । यस्तो गाली गर्छन् कि जम्काभेट भैहाल्यो भने हानाहान नै होलाजस्तो । झडपकै स्थिति सिर्जना हुने उत्तेजक वाक्यको प्रयोग ।

चुनावपछि 

हिजो एक–अर्कालाई गालीगलौज गर्ने तिनै नेता आज एउटै टेबलमा बसेर भोज खाँदैछन्— बियर, मासु, हिस्की आदि । उनीहरू एक–अर्कासँग गला मिलाउँदै चियर्स गर्नमा व्यस्त छन् । एकजना नेता भन्छन्— के गर्ने, हामीले आपसमा गाली नगरे त भोट पनि आउँदैन ।

 

प्रकाशित :मंसिर २८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्