अन्नपूर्ण इको भिलेज
मंसिर २७, २०७४
केही वर्षअघिसम्म घुमघाममा खर्च गर्ने नेपाली निकै कम थिए । घुम्न विदेशी पर्यटक नै नेपाल आउँथे र गाउँ–गाउँसम्म पुग्थे । उनीहरूलाई घुमाउन केहीले रोजगारी पाउँथे । केही उनीहरू आफ्नो गाउँ घुम्न आएकोमा मख्ख पर्थे । त्यतिबेला लाग्थ्यो, घुम्ने त विदेशीले मात्र हो । त्यतिबेला घुम्ने नेपाली हुँदै नभएका भने होइनन्, ज्यादै कम नेपाली मात्र आफ्नो पैसा खर्च गरेर घुम्थे । अझ गाउँघर, डाँडा पाखा घुम्ने त एकदमै न्यून । अहिले समय बदलिएको छ । घुम्ने मामिलामा नेपालीहरू पनि अगाडि छन् ।
सरकारले पनि नेपालीहरूलाई घुम्न प्रोत्साहित गर्दै आएको छ । अहिले घुमघाममा विदेशी पर्यटकले भन्दा नेपालीले नै बढी खर्च गर्न थालेका छन् । फलस्वरूप ठूला तथा साना रिसोर्ट तथा होटलले स्वदेशी पर्यटकलाई समेत लक्षित गर्न थालेका छन् । यसरी नै झन्डै साढे आठ वर्षदेखि विदेशीलाई लक्षित गरी सञ्चालन गरिँदै आएको अन्नपूर्ण इको भिलेज रिसोर्टले विगत डेढ वर्षदेखि स्वदेशी पर्यटकलाई सेवा दिन थालेको छ । आन्तरिक पर्यटकलाई सेवा दिन थालेपछि त्यहाँ पुग्नेहरूको संख्यासमेत वृद्धि गरेको छ ।
अन्नपूर्ण इको भिलेज १० वर्षअघिदेखि सञ्चालनमा आएको हो । यो रिसोर्ट कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६, अस्ताममा १६ रोपनी जग्गामा फैलिएको छ । पोखरा लेकसाइडबाट झन्डै २० किलोमिटर उत्तरपश्चिमको यात्रा गरेर इको भिलेज पुग्न सकिन्छ । पोखरा लेखनाथ–२५ हेम्जा सुइखेत तथा मर्दीखोलाबाट १ घण्टाको पैदल यात्रापछि पनि इको भिलेज पुग्न सकिन्छ । हेम्जा मिलनचोकबाट ६ किलोमिटरको यात्रा गरेर पनि त्यहाँ
पुग्न सकिन्छ ।
यो रिसोर्टको सञ्चालक विश्वराज अधिकारी, वेदनिधि अधिकारी तथा पूर्णप्रसाद अधिकारी हुन् । यहाँ परिवारसहित बस्न मिल्ने रुमको प्रतिरात २ हजार २ सय ५० तथा दुईवटा बेडको १ हजार ६ सय ५० रुपैयाँ तिर्नुपर्छ । बिहान–बेलुकाको खाना, दिउँसोको खाजा, चियापानी र रुमसहित नेपालीलाई ३ हजार रुपैयाँको प्याकेज उपलब्ध छ । वातावरणप्रेमी आन्तरिक तथा बाह्य पर्यटक इको भिलेज पुग्छन् । त्यहाँ ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा नेपाली तथा कन्टिनेन्टल खानेकुरा खान पाइन्छ भने मासुको प्रयोग भने सकभर गरिँदैन ।
यो रिसोर्टले अर्गानिक खानेकुरालाई प्रोत्साहित गर्छ । यो रिसोर्ट विशेषत: अर्गानिक इथोज फल, वातावरण जोगाउने एजुकेसनल रिसोर्टका रूपमा अगाडि बढ्दै छ । यहाँ हरेक बिहान मेडिटेसन, योग आदि गराइन्छ । ग्राहकको माग भए दिउँसो र साँझसमेत मेडिटेसन र योग सेसन चल्छ ।
यहाँ कुनै पनि चिज बेकारमा फालिँदैन । वैकल्पिक कार्यमा प्रयोग गरिन्छ । प्लास्टिकको प्रयोग कम गरिन्छ । मिनरल वाटर प्रयोग हुँदैन । बालुवामा फिल्टर गरिएको पानी प्रयोग गरिन्छ । १ लाख ५० हजार लिटरको ट्याङकीमा आकाशे पानी संकलन गरी त्यसलाई प्रशोधन गरी प्रयोग गरिन्छ ।
चिया, कफी, तरकारी, दुग्धजन्य आदिको ६५ प्रतिशतभन्दा बढी अर्गानिक खानेकुरा प्रयोगमा ल्याइन्छ । लसुन, अदुवा, बेसार, टिम्मुर, गोलभेंडा, कागतीलगायत खरानीको साबुन, दात माझ्ने मञ्जन समेत यहीँ उत्पादन गरिन्छ । यो रिसोर्टमा परिवारका १३ जना तथा ६ जना कर्मचारी गरी १९ जनाले काम गर्छन् । अब केही समयमै केही रुम र ठूलो कन्फरेन्स हल थप्ने योजना रहेको सञ्चालक वेदनिधि अधिकारीले बताए । यहाँबाट मनास्लु, अन्नपुर्ण फुलरेञ्ज, काहुँ, रुपाकोट, पोखरा उपत्यका, सेती नदी, मर्दीखोला, हेम्जा, कास्कीकोट, सराङकोट, लुम्ले, धम्पुस, ल्वाङघलेल, रिभान, लाहाचोक, घाचोक, पञ्चासे तथा पर्वतका केही भूभाग अवलोकन गर्न सकिन्छ ।
अस्ताइरहेको घाम राम्रो देखिने भएकाले यो ठाउँको नाम अस्ताम रहेको स्थानीय बासिन्दा शिवलाल अधिकारीले बताए । नेपालको चर्चित अन्नपूर्ण बेस क्याम्प जाने ट्रेकिङ रुटसमेत यहीँबाट सुरु हुन्छ ।
प्रकाशित :मंसिर २७, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्